केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ पुस ।
वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन भएको छ । झण्डै ९ सय गीतमा संगीत दिएका शर्माको आज बिहान त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा निधन भएको हो ।
संगीत शिरोमणी यज्ञराज शर्माका माहिला छोरा चन्द्रराज शर्मा पहिलो नेपाली चलचित्र ‘कुमारी’का संगीतकार हुन् । म मरे पनि मेरो देशको माया छ,, चपला अबलाहरु एक सुरमा (भानुभक्त), ए मेरी मुना (मुनामदन) लगायतका कालजयी गीतमा संगीत भरेका शर्मासंग शिवशंकर मानन्धर, माणिकरत्न, भक्तराज आचार्य, तारादेवी, तोरणमुनि बज्राचार्य, मीरा राणा, संगीता राना प्रधान, सुदेशराज शर्मा लगायतका पुराना संगीतकर्मीले काम गरेका छन् ।
वरिष्ठ संगीत प्रशिक्षक समेत रहेका शर्माले श्री स्वस्थानी , महाकवि देवकोटा, गीति नाटक कुञ्जिनीलगायतमा दिएको संगीतको चर्चा स्मरणीय छ । नेपाल कला भूषण पदवीबाट चन्द्रराज शर्मा सम्मानित भएका थिए । उनलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए । उनले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गरेका थिए ।
विंस २००० असार २४ गते काठमाडौंको डिल्लिबजारमा शर्माको जन्म भएको हो । यज्ञराज शर्मा र हेमकुमारीको कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका चन्द्रराज शर्माले २०२० सालमा भारतको इलाहवादको प्रयाग संगीत कलेजबाट संगीतमा प्रभाकर गरेका हुन् ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि पशुपति आर्यघाटमा राखिएको छ । उनको आजै आर्यघाटमा अन्तिम शंस्कार गरिने परिवारका सदस्यले बताएका छन् । उच्च रक्तचाप र मधुमेहका बिरामी शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।































प्रतिक्रिया