रविको भारत भ्रमणमा के भयो ? १० बुँदामा व्याख्या

रविको भारत भ्रमणमा के भयो ? १० बुँदामा व्याख्या


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नयाँ दिल्ली भ्रमण नेपाल–भारत सम्बन्धको परम्परागत शिष्टाचारभन्दा उच्च,अर्थपूर्ण र महत्वको देखियो । यसले दुवै देशमा निकै चर्चा समेत पायो ।

यस भ्रमणका क्रममा उनलाई भारतले प्रधानमन्त्री सरहको आतिथ्यता र सम्मान प्रदान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायतका उच्च अधिकारीहरूसँगको भेटले नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मार्फत नयाँ शिराबाट परिभाषित गर्ने संकेत दिएको छ । ति भेटहरु शिष्टाचार भेटको रुपमा मात्र सिमित रहेन, नेपाल भारत सम्बन्धका बहुआयामिक विषयहरुमा कुराकानी भए ।

दुवै देशका नेताहरूले साझा समृद्धि, कनेक्टिभिटी र आपसी विश्वासमा आधारित नयाँ युगको सुरुवात गर्ने उद्घोष गरेका छन् । भेटघाटको कुराकानी हेर्दा यो भ्रमण सरकारी तहकै जस्तो देखिन्छ । तर, भेटघाटपछि सम्बन्ध कसरी अगाडि बढ्छ यकिन छैन किनभने लामिछाने प्रधानमन्त्री होइनन् ।

लामिछानेको भारत भ्रमणकाे १० बुँदे बिफ्रिङ

उच्च सम्मान र आतिथ्यता

भारतले रास्वपा सभापति लामिछानेलाई सामान्य राजनीतिक भेटघाटभन्दा माथि उठेर प्रधानमन्त्रीको औपचारिक भ्रमण सरहको उच्चस्तरको आतिथ्यता प्रदान गरेको छ । मुल रुपमा भारतीय जनता पार्टीले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको हैसियतमा निमन्त्रण गरे पनि सरकारी तहबाट पनि उच्च खालको सम्मान दिइयो । नेपालको सत्तारुढ दल त्यसमाथि पनि जसको संसदमा दुई तिहाई बहुमत छ, त्यसको सभापतिको भ्रमण भएका कारण पनि भारतले उच्च महत्व दिएको हो ।

डेलिगेसन तहको उच्चस्तरीय भेटघाट

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाट डेलिगेसन तहमा भएको थियो। जसमा भारतका विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिव सहभागी थिए भने नेपालका तर्फबाट रास्वपाका नेताहरू र नयाँ दिल्लीस्थित कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी थिए । खाली प्रधानमन्त्री जाँदा हुने हैदरावाद हाउसमा बैठक भएन, अन्य विषय प्रधानमन्त्रीको भ्रमण सरह देखियो । प्रधानमन्त्री कार्यालयमा एक प्रकारले डेलिगेसन सरहको वैठक भयो जसमा लामिछाने र प्रधानमन्त्री मात्र होइनन्, दुवै पक्षका उच्च अधिकारीहरु समेत संलग्न थिए । यस अगाडि प्रधानमन्त्री बाहेक अन्य नेपाली नेता जाँदा मोदीसँग एक खालको शिष्टाचार भेट हुने गर्दथ्यो ।

सम्बन्ध पुनः परिभाषित गर्न एक घण्टा लामो मन्थन

लामिछाने र मोदीबीच बुधबार भएको एक घण्टा लामो कुराकानी केवल शिष्टाचारमा मात्र सीमित नरही दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र पुनः परिभाषित गर्न केन्द्रित थियो । यस अगाडि नै हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशन गदै लामिछानेले आफूहरु दुईपक्षिय सम्बन्धलाई नयाँ ढंगले अगाडी लैजाने र आफूहरुले पुराना बोझहरु नबोक्ने बताइसकेका छन् । भारतीय पक्षले चाहि नेपालले के सोचेको छ, त्यो मागेका छन् ।

‘विकास कूटनीति’मा जोड

भेटमा नेपाल–भारत सम्बन्धका परम्परागत राजनीतिक मुद्दा र विवादभन्दा माथि उठेर डिजिटल कोरिडोर, निर्बाध कनेक्टिभिटी र पूर्वाधार विकासमा केन्द्रित ‘विकास कूटनीति’को नयाँ युग सुरु गर्ने विषयमा विशेष जोड दिइएको छ । फागुन २१ के निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा उदाएपछि भारतीय प्रधानमन्त्री मोदीसँगको टेलिफोन वार्तामा लामिछानेले आफ्नो प्रमुख प्राथमिकता विकास कूटनीति भएको उल्लेख गरेका थिए, जसको अर्थ नयाँ सरकारले विकासको यात्रामा भारतलाई सहयात्री बनाउन खोजेको छ । विकास कूटनीतिलाई परिभाषित गर्ने र विस्तृतमा खाका तयार पार्ने दायित्व नेपाल सरकारको हुन्छ ।

भारतको ‘छिमेक पहिलो’ नीति र सहकार्यको उत्सुकता

प्रधानमन्त्री मोदीले नेपाललाई भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गतको प्राथमिक साझेदार भएको उल्लेख गर्दै, दुई देशको बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् । वास्तवमा उनले नेपालसँगको सम्बन्धलाई प्रधानमन्त्री भए यता नै उच्च जोड दिइरहेका छन् । तर, विभिन्न कारणले गर्दा सम्बन्ध त्यति सौहाद्धैपूर्ण रुपमा अगाडी बढ्न सकेको छैन ।

मुद्दाहरूको सूची र टाइमलाइनसहित काम गर्ने प्रतिबद्धता

भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचका विषयहरूको सूची बनाएर, प्राथमिकता तोकेर र ‘टाइमलाइन’ दिएरै काम गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका छन् । आगामी साता हुने परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमणको दौरानमा अब कुन कुन एजेण्डामा नेपालले भारतको सहयोग खोजेको छ भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ । अर्काे त्यतिकै महत्वपूर्ण विषय बालेन रवीको रोडम्यापमा हिड्न तयार हुन्छन् कि हुँदैनन् भन्ने पनि छ ।

भाजपाबाट विशेष सम्मान

लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पनि विगतका सम्मानहरूभन्दा फरक र उच्चस्तरको सम्मान दिइएको थियो । लामिछानेलाई एयरपोर्टमा रिसिभ गर्नका लागि भारतिय जनता पार्टीका उच्च नेताहरु नै आएका थिए, जुन पहिला भन्दा पृथक हो । त्यसैगरी रवीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा भाजपाका उच्च नेताहरु नै सहभागी थिए । विगतका नेताहरुलाई दिइएको भन्दा उच्च सम्मान भाजपाले दिएको स्पष्ट देखिन्छ ।

नेपालको स्पष्ट ‘भिजन’को माग

भारतले आगामी दिनमा दुईपक्षीय सम्बन्धको मार्गचित्र कसरी अगाडि बढाउने भन्ने विषयमा नेपालको स्पष्ट दृष्टिकोण (भिजन) मागेको छ । जसका लागि प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाबीच बलियो सहकार्य हुनुपर्ने चुनौती छ । अब नेपाल सरकारको दायित्व भारतसँगको सम्बन्धलाई कसरी अगाडी बढाउने भन्ने मार्गचित्र बनाउनु हुनेछ । किनभने नेपालले ल्याएको मार्गचित्र अनुसार अगाडी बढ्न भारत तयार रहेको संकेत भारतिय संस्थापनले दिएको छ ।

भूराजनीतिक चासोको प्रस्तुति

भेटघाटका क्रममा भारतीय पक्षले नेपालमा बढ्दै गएको चिनियाँ र पश्चिमा मुलुकहरूको प्रभावका विषयमा आफ्नो विशेष चासो र जोड प्रस्तुत गरेको छ । यस पटक यि विषयमा कुराकानी भयो भएन, स्पष्ट त छैन तर नेपालमा अमेरिका चिनियाँ चासोको विषय भारतको पुरानो एजेण्डा हो ।

सीमा विवाद र सुरक्षा मामिला अनुत्तरित

‘विकास कूटनीति’ले प्राथमिकता पाए पनि नेपालको राष्ट्रिय हित र भारतको रणनीतिक हितबीचको सन्तुलन कसरी मिल्छ भन्ने स्पष्ट छैन । पूर्वराजदूतहरूका अनुसार लिम्पियाधुरा, लिपुलेक जस्ता सीमा समस्या तत्काल सुल्झिने सम्भावना कम छ र भारतले मूलभूत रूपमा खुला सीमा र सुरक्षालाई नै बढी चासो दिनेछ । लामिछानेको भ्रमणको दौरानमा पनि नेपाल र भारतको बिचमा रहेका सिमा विवादका सम्बन्धमा खासै छलफल भएको देखिँदैन ।

निष्कर्ष

लामिछानेको भारत भ्रमण कूटनीतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण र सफल देखिएको छ। भारतले उनलाई दिएको उच्च महत्त्व र ‘विकास कूटनीति’मार्फत सूची र टाइमलाइन बनाएर परिणाममुखी काम गर्ने मोदीको प्रतिबद्धताले नेपाल–भारत सम्बन्धमा सकारात्मक अध्याय थप्ने संकेत गर्दछ । यद्यपि, भारतको भूराजनीतिक चासोलाई सम्बोधन गर्दै सीमा विवादलगायतका मुद्दामा नेपालको राष्ट्रिय हित सुरक्षित गर्नु चुनौतीपूर्ण छ ।

भारतले मागेको नयाँ मार्गचित्र प्रस्तुत गर्न र यो भ्रमणको उपलब्धिलाई संस्थागत गर्न प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाबीच गहिरो र परिपक्व सहकार्य हुन नितान्त आवश्यक छ । यो ‘विकास कूटनीति’को चर्चा व्यवहारमा कत्तिको रूपान्तरण हुन्छ भन्ने कुरा आगामी केही महिना वा वर्षका गतिविधिले प्रमाणित गर्नेछन् । योसँगै अर्काे महत्वपूर्ण विषय के हो भने लामिछानेकाे भ्रमणलाई प्रधानमन्त्री शाहले कसरी लिन्छन् भन्ने महत्वपूर्ण हुन जान्छ । यदि बालेनले सकारात्मक रुपमा लिएनन् भने यो भ्रमणले हासिल गरेका उपलब्धीहरु अगाडि बढ्न सक्दैनन् ।

Logo