सगरमाथाको डेथ जोनमा भेटिए दावा शेर्पा, हिमाल अरोहणमा लापरवाही भएको गुनासो

सगरमाथाको डेथ जोनमा भेटिए दावा शेर्पा, हिमाल अरोहणमा लापरवाही भएको गुनासो

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । ओखलढुंगाका ५६ वर्षीय दावा शेर्पा १५ जेठमा सगरमाथाको अत्यन्त खतरनाक ‘डेथ जोन’ क्षेत्रमा हराएका थिए। उनी सातौं दिन बिहान खुम्बु आइसफल नजिक ‘क्र्याम्पोन पोइन्ट’ भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिएका थिए । सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा (हिलारी) ६ दिनपछि जीवित फेला परेका छन्।

आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई ‘चमत्कार’ भनेका छन्। पर्वतारोही छिरिङ जाङ्मु शेर्पाका अनुसार हिमाली क्षेत्रमा त्यति लामो समयसम्म अत्यधिक चिसो, अक्सिजनको कमी, खाना–पानी र आश्रयबिना जीवित रहनु अत्यन्तै दुर्लभ मानिन्छ। ‘यो घटना त हिमाली क्षेत्रकै लागि अत्यधिक दुर्लभ भयो,’ एभरेस्ट शेर्पा एक्सपिडिसन कम्पनीका सञ्चालक तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त गाइड शेर्पाले भने, ‘यो त पर्वतारोही र हिमाली भेगका चिकित्सकहरूका लागि पनि अनौठो घटना हो।’

दावाको खोजीका लागि काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको थियो। हिमाली क्षेत्रमा खोजी तथा उद्धारमा कहलिएका क्याप्टेन विवेक खड्का दुई जना सहयोगीसहित दावा खोजीमा परिचालन भएका थिए। ‘सगरमाथा आधार शिविरदेखि ७ हजार ३ सय मिटर उचाइको तेस्रो शिविरको पाखासम्म झन्डै २५ मिनेट आकाशबाट खोजे पनि फेला पारेनौं,’ अल्टिच्युड एयरका क्याप्टेन खड्काले भने ।

बिहीबार बिहान दावा आधार शिविर नजिकै भेटिएको खबर सफाइ गरिरहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले दावाका साथी पासाङ दावा शेर्पालाई खबर गरेका थिए। ओखलढुंगा निवासी पासाङले पनि दावाको खोजी अभियान चलाएका थिए। पासाङले दावा भेटिएको खबर पाएपछि सबैतिर सूचना प्रवाह गरेको बताए।

दावा भेटिएको खबर पाएलगत्तै लुक्लामै रहेका क्याप्टेन खड्का एटकेका लाक्पा शेर्पासहितले आग्रह गरेपछि लुक्लाबाट गोरेक्सेपसम्म चार्टर्ड उडान गरेका थिए। हेलिकोप्टर पुग्दासम्म दावालाई बोकेर गोरक्सेपसम्म ल्याइपुर्‍याइएको थियो। त्यहाँबाट क्याप्टेन खड्काले हेलिकोप्टरमा राखेर लुक्लामुनिको सुर्के ल्याए। र, त्यहाँ केहीबेर आराम र खाना खुवाएर हेलिकोप्टरमा काठमाडौंको चक्रपथस्थित ह्याम्स अस्पताल पुर्‍याइएको थियो

दावा जीवितै उद्धार भएको खुसीको खबरसँगै यो घटनाले आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरबाही, व्यवस्थापकीय कमजोरी र सम्भावित गैरव्यावसायिक अभ्यासबारे प्रश्न उठेको पर्वतारोहण सञ्चालक संघ नेपालका एक पदाधिकारीले बताए। आरोहण बूढानीलकण्ठस्थित हिमालय ट्राभर्स एडभेन्चर प्रालिले ठमेलमा रहेको एटके एक्सपिडिसनमार्फत गराएको थियो। हिमालय ट्राभर्सबाट गएको सगरमाथा आरोहण टोलीमा बेलायती नागरिक क्रिस थ्रल र पोलिस नागरिक मारुस सिमलेस्कीसहित ५ जना थिए। चुचुरो नजिकै पुगेर फर्केका मारुसले हिमालय ट्राभर्सले व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्।

हिउँले दुवै हातका औंला खाएपछि ह्याम्स अस्पतालमा उपचाररत मारुसले अभियानलाई अव्यवस्थित, खतरनाक र अव्यावसायिक रूपमा सञ्चालन गरिएको आरोप लगाए। आधार शिविरबाट क्याम्प–२ सम्म १५ घण्टाको कठिन यात्रापछि पनि उनीहरूलाई भोलिपल्टसम्म खाना र पानी नदिइएको मारुसको गुनासो छ। सहयोगी टोलीले खाना पकाउने स्टोभ पनि चलाउन नसकेको उनले बताए।

बेलायती आरोही क्रिस थ्रल र दावा क्याम्प–४ बाट छुट्टिएका थिए। थ्रलले आफू दावासँग छुट्टिएर अघि बढेको र उनको अवस्था ठीक छ भन्दै तल झर्न आग्रह गरेको बताए । यी दुवै आरोही आधा रातमा बाक्लो हिउँ छिचोल्दै खुम्बु आइसफल पार गर्दै तल झरेका थिए। आफूहरूले एउटै हेडलाइट प्रयोग गर्दै र छोटो समयका लागि अक्सिजन पनि बाँडेर यात्रा गर्नुपरेको उनीहरूले बताए।

पोलिस आरोहीका अनुसार, वाकीटकी र स्याटेलाइट फोन दावासँगै भए पनि चौथो क्याम्पपछि सम्पर्क टुटेको थियो। लामो समयसम्म सम्पर्क नभएपछि थ्रलले इन्स्टाग्राममा भावुक सन्देश जारी गर्दै दावालाई ‘पहाडका सच्चा योद्धा’ भनेर श्रद्धाञ्जली लेखेका थिए।

दावा सुरुमा क्याम्प–२ मा खाना पकाउने र व्यवस्थापन गर्ने भूमिकामा मात्र थिए। तर योग्य जनशक्ति अभावका कारण उनलाई शिखर आरोहणमा पठाइएको थियो। दावाको आईसीयूमा उपचार गराइरहेका छन्। उनका साला निमा नगटी शेर्पाले दावा राम्रोसँग बोलिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए। ‘मैले ३–४ मिनेट कुरा गरें। उहाँको अवस्था ठीकै छ। हातका केही औंला हिउँले खाएको छ।’

दावाले तेस्रो शिविरमा आरोहीहरूले छाडेका खाना खाँदै, हिउँ खाडलमा झरेर अड्किएको, आरोहण गराउने बाटोमा टाँगिएका भर्‍याङ–डोरी झिकिएकाले बाटो पहिल्याउन मुस्किल परेको लगायतका कुरा परिवारलाई भनेका छन्।

यो घटना बाहिरिएपछि पर्वतारोहण कम्पनीहरूको नियमन, लाइसेन्स जाँच र सुरक्षा मापदण्डबारे गम्भीर बहस सुरु भएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यो घटनाको विस्तृत छानबिन सुरु भइसकेको बताउँदै बिहीबार आरोहण दलका सम्पर्क अधिकृत मधुसुदन पुडासैनीसँग सोधपुछ गरिएको बताए। ‘यो घटनाको विस्तृत छानबिन गर्छौं। दोषी देखिए संलग्न कम्पनीलाई कानुनअनुसार कडा कारबाही हुनेछ,’ महानिर्देशक लामिछानेले भने।

Logo