प्रमोद एण्ड परम्पराको ‘सलल कर्णाली’ सार्वजनिक: सृष्टि बुढाको डेब्यु, गाउँबेशी लोजिस्टिकको ब्रान्ड एम्बेसडरमा खरेल नियुक्त

प्रमोद एण्ड परम्पराको ‘सलल कर्णाली’ सार्वजनिक: सृष्टि बुढाको डेब्यु, गाउँबेशी लोजिस्टिकको ब्रान्ड एम्बेसडरमा खरेल नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाली आधुनिक तथा लोक फ्युजन सङ्गीतमा छुट्टै पहिचान बनाएको ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’ले बहुप्रतिक्षित नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंको एप्रिकस क्याफेमा आयोजित एक विशेष कार्यक्रममा गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कर्णालीकै मौलिक रङमा रङ्गिएको यो गीतले एकातिर दुर्गमको सुन्दरता र संस्कृतिलाई पोखेको छ भने अर्कोतिर कर्णालीकै एक किशोरी प्रतिभालाई पनि राष्ट्रिय चिनारी दिएको छ । सोही अवसरमा चर्चित कुरिअर सर्भिस गाउँबेशी लोजिस्टिकले गायक प्रमोद खरेललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेर कर्पोरेट र कला क्षेत्रको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।

गीतमा ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलले मुख्य स्वर दिएका छन् भने सह–स्वरमा जुम्ला सिन्जाकी १४ वर्षीया सृष्टि बुढाको अत्यन्त मिठो आवाज मिसिएको छ । लय, शब्द र सङ्गीत सबैको मिश्रणले श्रोतालाई पश्चिम नेपालको मनोरम भूगोलमा डुबुल्की लगाएजस्तो अनुभूति गराउँछ । गीतको शब्द तथा सङ्गीत चर्चित सङ्गीतकार सुरज थापाले तयार पारेका हुन् । सुरज स्वयंले र ‘परम्परा ब्याण्ड’को टिमले मिलेर सङ्गीत संयोजनको काम गरेको छ । पारम्परिक लोकभाका, सारङ्गी र आधुनिक ब्याण्ड इन्स्ट्रुमेन्टहरूको तालमेलले गीतलाई भिन्नै उचाइमा पुर्याएको छ ।

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा गायक प्रमोद खरेल र मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । सम्पूर्ण छायाङ्कन कर्णाली प्रदेशकै विभिन्न मनोरम स्थानमा पुगेर गरिएको हो । निर्देशक लक्ष्मण पौड्यालले कर्णालीको प्राकृतिक छटा, स्थानीय जीवनशैली र गीतको कथालाई दृश्य भाषामा पोखेका छन् । छायाङ्कनको जिम्मेवारी अर्जुन तिवारीको टिमले सम्हालेको थियो भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । क्यामेरामा कैद गरिएको रारा, सिन्जा उपत्यका, कर्णाली नदीका भञ्ज्याङ र हिमालको पृष्ठभूमिले भिडियोलाई एक श्रव्यदृश्य डकुमेन्ट्रीजस्तो बनाइदिएको छ ।

कार्यक्रममा गायक खरेलले यो गीत ब्याण्डको ‘प्रतिक्षित गीत’ भएको बताउँदै अडियो तथा भिडियोको हरेक पाटोमा टोलीले अथक मेहनत गरेको जानकारी दिए । “हामीले कर्णालीको मौलिकपनलाई संगीतमा उतार्न हरसम्भव प्रयास गरेका छौँ । अब यसलाई हाम्रा दर्शक र स्रोताको खुला प्रतिक्रियाका लागि छोडेका छौँ,” उनले भने । गीतलाई गायक प्रमोद खरेलको अफिसियल युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

‘सलल कर्णाली’ को एउटा सशक्त पक्ष हो, जुम्ला सिन्जाकी १४ वर्षीया सृष्टि बुढाको डेब्यु । आफूले खोजिरहेको मौलिक र अनकन्डिसन्ड आवाजको खोजीमा रहेका प्रमोद खरेलले बालिका सृष्टिको प्रतिभा चिनेर उनलाई पहिलो पटक राष्ट्रिय स्तरमा गाउने अवसर दिएका हुन् । सृष्टिको नेपालीपन झल्कने स्वर, लोक शैलीको स्वाभाविक पकड र स्थानीय भाषाको उच्चारणले गीतमा अर्कै जीवन्तता भरेको छ ।

सोही कार्यक्रममा गाउँबेशी लोजिस्टिक प्रा.लि.ले गायक प्रमोद खरेललाई औपचारिक रुपमा आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गर्यो । ग्रामीण भेगमा पनि भरपर्दो सेवा पुर्याउँदै आएको यस कुरिअर कम्पनीले एप्रिकस क्याफेमा पत्रकार भेटघाट र एमओयू हस्ताक्षर गर्दै यो नियुक्ति सार्वजनिक गरेको थियो ।

एमओयूमा हस्ताक्षरपछि प्रमोदले भने, “गाउँबेशीजस्तो घरआँगनसम्म पुग्ने सेवासँग जोडिन पाउँदा खुसी लागेको छ । यो सहकार्यले कर्णालीजस्ता दुर्गम स्थानमा पनि सहज सेवा र हाम्रो संगीत दुवैलाई पुर्याउन मद्दत मिल्ने विश्वास छ ।”

Logo