फिफा विश्कप २०२६ का रोचक नियम र प्रविधि, बलमा सेन्सरदेखि रोवर्ट कुकुरको प्रयोग

फिफा विश्कप २०२६ का रोचक नियम र प्रविधि, बलमा सेन्सरदेखि रोवर्ट कुकुरको प्रयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। फिफा विश्कप २०२६ सुरु हुन ४ दिन मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानडामा आयोजित ४८ टोली सहभागी प्रतियोगिता एकदमै फरक र विशेष संस्करण हुने छ।

प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै टोलीको सहभागितादेखि तीनवटा आयोजक राष्ट्रसम्म, ३९ दिन लामो यो प्रतियोगिता फुटबलको सबैभन्दा भव्य संस्करण बन्ने अपेक्षा गरिएको छ।

साथै, समर्थकहरूको खेल हेर्ने अनुभवलाई अझ राम्रो बनाउन र खेलाडीहरूका लागि खेललाई अझ आधुनिक बनाउन विश्वकप २०२६ मा प्रविधिलाई खेलसँग जोडिनेछ।

यसपटकको विश्वकपमा बलभित्र एउटा सानो इनर्सियल मेजरमेन्ट युनिट (आईएमयू) सेन्सर चिप जडान गरिएको छ, जसले बलको प्रत्येक चालबारे विस्तृत जानकारी प्रदान गर्छ। यो सेन्सरले प्रति सेकेन्ड ५०० पटक तथ्याङ्क सङ्कलन गर्दै बलको प्रवेग तथा तीन आयामको सूक्ष्म गतिलाई ट्र्याक गर्छ।

“यो प्रविधिले भिडियो सहायक रेफ्री (भिएआर) प्रणालीमा वास्तविक समयमा सटीक तथ्याङ्क पठाउँछ, जसले अफसाइड घटनासहित विभिन्न निर्णयहरूमा खेल अधिकारीहरूको निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ,” फिफाको विज्ञप्तिमा भनिएको छ।

यसपटक प्रविधिको प्रयोग केवल म्याच बलमै सीमित हुनेछैन। खेलाडीहरू पनि यसको एक हिस्सा हुनेछन्। फिफा र विश्वकै सबैभन्दा ठूलो कम्प्युटर निर्माता लेनोभो बीचको साझेदारीअन्तर्गत यस वर्षको सुरुआतमै एआई आधारित विभिन्न टेक्नोलोजिकल इनोभेसनहरु सार्वजनिक गरिएको थियो। तीमध्ये एआईको प्रयोगबाट खेलाडीको थ्री डी अवतार पनि एक हो।

विश्वकपमा सहभागी खेलाडीहरूको डिजिटल स्क्यान गरिनेछ, जसबाट उनीहरूको अत्यन्तै सटीक थ्री डि मोडेल तयार गरिनेछ । प्रत्येक स्क्यानमा करिब एक सेकेन्ड लाग्नेछ र फिफाका अनुसार यसले “शरीरका विभिन्न अङ्गहरूको अत्यन्त सटीक मापन सङ्कलन गर्नेछ, जसले तीव्र गतिमा वा दृश्य अवरुद्ध भएका अवस्थामा पनि खेलाडीहरूलाई भरपर्दो रूपमा ट्र्याक गर्न प्रणालीलाई सक्षम बनाउनेछ” फिफाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वकप २०२६ का क्रममा अपराध नियन्त्रणमा सहयोग गर्न मेक्सिकन प्रहरीले कुकुरहरूको सहारा लिनेछ। तर ती जीवित कुकुर होइनन्, रोबोटिक कुकुर हुनेछन्। चार खुट्टे यी रोबोटहरूलाई जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरी प्रत्यक्ष भिडियो प्रसारण गर्न डिजाइन गरिएको हो, जसलाई सुरक्षा निकायहरूले हेरेर आवश्यक कारबाही गर्न सक्नेछन्।

ग्वाडालुपे नगर परिषद्ले २५ लाख पेसो (१ लाख ४५ हजार अमेरिकी डलर) खर्चेर खरिद गरेका यी जनावरजस्ता रोबोटहरू – जुन मोन्टेरे महानगरीय क्षेत्रको हिस्सा हो – “कुनै झडप वा अप्रिय घटना भएमा” परिचालन गरिनेछन्, ग्वाडालुपेका मेयर हेक्टर गार्सियाले बताएका छन्।

अफसाइडको झण्डा ढिलो उठाएको भन्दै लाइनसम्यानसँग दिक्क हुनुहुन्छ ? अब त्यो समस्या अन्त्य हुन सक्छ। फिफाले उन्नत एडभान्स सेमी–अटोमेटेड अफसाइड प्रविधि लागू गरेको छ, जसले खेलको कुनै चाल पूरा हुन प्रतीक्षा गर्नुको सट्टा अधिकारीहरूलाई छिटो निर्णय लिन सक्षम बनाउनेछ।

अर्ध–स्वचालित अफसाइड प्रविधि लगभग वास्तविक समयमा अफसाइड पहिचान गर्न डिजाइन गरिएको हो। यसअघि यो प्रणालीले खेलाडी ५० सेन्टिमिटरभन्दा बढी अफसाइडमा भए मात्र अधिकारीलाई सूचना दिन्थ्यो। तर नयाँ संस्करणमा खेलाडी १० सेन्टिमिटरभन्दा बढी अफसाइडमा भए पनि सूचना दिने क्षमता थपिएको छ।

खेलाडीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै फिफाले विश्वकपमा प्रत्येक हाफमा तीन मिनेटको हाइड्रेसन ब्रेक अनिवार्य गरेको छ। यसका लागि कुनै मौसम वा तापक्रम सम्बन्धी सर्त लागू गरिएको छैन। विश्राम प्रत्येक हाफको मध्य भागतिर लिइनेछ।

“हरेक खेलमा, खेल जहाँसुकै खेलिए पनि, रंगशालामा छाना भए पनि नभए पनि, तापक्रम जस्तोसुकै भए पनि, दुवै हाफमा तीन मिनेटको हाइड्रेसन ब्रेक हुनेछ। सिटी बजेदेखि अर्को सिटी बजेसम्म तीन मिनेटको विश्राम हुनेछ,” फिफा विश्वकप २०२६ (संयुक्त राज्य अमेरिका)का प्रमुख प्रतियोगिता अधिकारी मानोलो जुबिरिया ले बताएका छन्।

Logo