काठमाडौं । कीर्तिपुरको राधास्वामी सत्संग भवनको होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुम्बासी भेषराज दर्जीको निधनमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ ।
दर्जीले अधिकारकर्मीहरूसँग उपचार र औषधि नपाएको, श्रीमतीको काम छुटेको र छोरा–छोरीको भविष्यबाट आफू चिन्तामा परेका भनेका थिए । पछि उनको निधन भएकाले ‘राज्यको नियन्त्रणमा भएको मृत्युबारे छानबिन’ माग गर्दै अधिकारकर्मीहरूले आयोगलाई ज्ञापनपत्र बुझाएका थिए ।
होल्डिङ सेन्टर भनेको नियन्त्रणको स्थल भएको भन्दै त्यहाँ रहेका नागरिकको निधनमा राज्यपक्ष जवाफदेही हुनुपर्ने भन्दै अधिकारकर्मीहरूले यही जेठ २२ गते आयोगको ध्यानाकर्षण गराएका थिए । आयोगले त्यसै दिनदेखि छानबिनको प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारीका अनुसार, आयोगले छानबिन प्रक्रिया शुक्रबारबाटै अघि बढाइसकेको छ । “त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक रिपोर्ट मागेका छौँ । सम्बन्धित मन्त्रालयलाई पनि वास्तविकताको जानकारी गराउन पत्राचार गरिसकेका छौँ,”उनले बाह्रखरीसँग भने, “आयोगले मगाएका कागजात आइसकेपछि हामी अध्ययन गरेर थप प्रक्रिया अघि बढाउनेछौँ ।”
उनले अरू एक हप्ताभित्र छानबिनको प्रक्रियाले पूर्णता पाउन सक्ने बताए । यही जेठ १९ गते अधिकारकर्मीहरूको टोलीसँग कीर्तिपुरको राधास्वामी सत्संग भवनमा रहेको होल्डिङ सेन्टरमा दर्जीले उपचार नपाएको गुनासो गरेका थिए । अधिकारकर्मीहरूसँग उनले गरेको भिडियो समेत अधिकारकर्मीहरूले सार्वजनिक गरेका छन् ।
उनीहरूले राज्यले नियन्त्रण/संरक्षणमा राखिसकेपछि उपचारसहित आधारभूत आवश्यकता पूरा गर्नुपर्नेमा त्यस्तो हुन नसकेको अधिकारकर्मीमध्येका चरण प्रसाईंले जानकारी दिए ।
काठमाडौंको गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका भेषराज दर्जी टहरामा सरकारले डोजर लगाएपछि कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका थिए । उनले अधिकारकर्मीहरूसँग खानाको राम्रै प्रबन्ध भए पनि बहुसमस्याबाट पीडित भएको गुनासो गरेका थिए । संविधानको धारा १६ ले प्रत्याभूत गरेको ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ को नजरअन्दाज गरिएको देखिन्छ ।”





























प्रतिक्रिया