नेपालले जित्यो ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि

नेपालले जित्यो ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि

केन्द्रबिन्दु
471
Shares

काठमाडौं । नेपालले सिंगापुरमा जारी एघारौं संस्करणको ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि जितेको छ । नेसनल क्रिकेट ग्राउन्डमा आज हङकङविरुद्ध भएको फाइनल खेल वर्षाले विथोलेपछि नेपालले डीएलएस मेथडमा १९ रनले जित दर्ता गरेको हो ।

हङकङले दिएको १८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ११.३ ओभरको खेल सकिँदा पानी परेपछि खेल रोकिएको थियाे । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। भुर्तेलले मात्र ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले उत्कृष्ट ६५ रनको इनिङ्स खेलेर आउट भए।

अर्का ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएपनि क्रिजमा कप्तान रोहित पौडेल २४ बलमा ३५ रन र दीपेन्द्र सिंह ऐरी ४ बलमा ९ रन बनाएर जमेका थिए ।

हङकङका लागि बलिङतर्फ आयुष शुक्लाले ३ ओभरमा २० रन खर्चेर १ विकेट र एहसान खानले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल तयार पारेको थियो। हङकङका लागि मध्यक्रमका ब्याटरहरूले उत्कृष्ट प्रर्दशन गरे। सुरुआती विकेट सस्तैमा गुमाए पनि अंशुमन रथले विस्फोटक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। उनले मात्र ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान दिए।

त्यस्तै, विकेटकिपर ब्याटर शाहिद वासिफले तीव्र गतिमा ब्याटिङ गर्दै २८ बलमा ५५ रन बनाए भने शिव माथुरले २६ रन जोडे।

नेपालका लागि बलिङतर्फ शेर मल्ल सबैभन्दा सफल ब्याट्सम्यान साबित भए। उनले आफ्नो ४ ओभरको स्पेलमा ३२ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यस्तै, करण केसीले ४ ओभरमा ४५ रन दिएर २ विकेट चट्काए भने सन्दीप लामिछानेले १ विकेट लिए।

Logo