लाखौंका प्रिय ‘खान सर’ किन एकाएक बने विवादित ? फरार रहेपछि खोज्दै प्रहरी

लाखौंका प्रिय ‘खान सर’ किन एकाएक बने विवादित ? फरार रहेपछि खोज्दै प्रहरी

केन्द्रबिन्दु
225
Shares

काठमाडौं । भारतका चर्चित शिक्षक तथा युट्युबर ‘खान सर’ यतिबेला पटनास्थित आफ्नो कोचिङ इन्स्टिच्युटमा भएको एउटा हिंसात्मक विवादका कारण ठुलो कानुनी संकटमा फसेका छन् । सस्तो शुल्कमा धेरै विद्यार्थी पढाएर चर्चामा आएका खान सरमाथि आफ्ना सुरक्षाकर्मीहरूलाई गोली चलाउन उक्साएको आरोपमा पटना पुलिसले ‘ज्यान मार्ने उद्योग’अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

घटनाको सुरुवात गत जुन २ मा भएको थियो, जब पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको खान सरको कोचिङ सेन्टर ‘खान ग्लोबल स्टडिज’मा १५ देखि २० जनाको समूहले अचानक तोडफोड र ढुङ्गामुढा गर्‍यो । उक्त आक्रमणमा खान सरको इन्स्टिच्युटका एक सुरक्षाकर्मी गम्भीर घाइते भएका थिए । खान सरले सोही क्षेत्रमा रहेका प्रतिस्पर्धी कोचिङ सेन्टरका सञ्चालकहरूले व्यापारिक रिसिबीका कारण आफूमाथि आक्रमण गराएको आरोप लगाएका थिए । उनको आरोप अनुसार आफूले निकै कम शुल्कमा गुणस्तरीय शिक्षा दिएर धेरै नतिजा निकालेकाले अन्य इन्स्टिच्युटहरू उनीसँग रुष्ट थिए ।

तर, घटनाका बीच एक भाइरल भिडियोमा खान सरका दुईजना निजी सुरक्षाकर्मीले भीडतर्फ लक्षित गर्दै हावामा राइफलबाट गोली चलाइरहेको देखिन्थ्यो । पुलिसले ती दुवै सुरक्षा गार्डलाई पक्राउ गरी हतियारसमेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका सुरक्षा गार्डहरूले खान सरकै निर्देशनमा आफूहरूले गोली चलाएको बयान दिएपछि पुलिसले खान सरविरुद्ध भारतीय न्याय संहिताको धारा १०९ र आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको हो । गार्डहरूको बयान अनुसार खान सरले “तिमीहरू गोली चलाऊ, बाँकी कुरा म मिलाउँछु” भन्दै उक्साएका थिए ।

मुद्दा दर्ता भएलगत्तै खान सर फरार भएको र पुलिसले उनको खोजी गरिरहेको बताइएको छ । यद्यपि, एक भिडियो सन्देशमार्फत खान सरले आफूमाथि ठुलो षड्यन्त्र भएको दाबी गरेका छन् । उनले भीडले आफ्ना कर्मचारीमाथि ज्यानले साङ्घातिक हमला गरिरहेका बेला सुरक्षा गार्डहरूले आत्मरक्षाका लागि मात्र हावामा गोली चलाएको जिकिर गरेका छन् । उनका वकिल अरविन्द कुमार मौर्यले यस मामिलामा अदालतबाट अग्रिम जमानतका लागि कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

यता पुलिसले तोडफोडको आरोपमा प्रतिस्पर्धी इन्स्टिच्युट ‘ज्ञान बिन्दु जीएस एकेडेमी’ का सञ्चालक रौशन आनन्दसहित तीन जनालाई पक्राउ गरिसकेको छ । तर, ज्ञान बिन्दुका शिक्षक तथा विद्यार्थीहरूले खान सरलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै आपत्ति जनाएका छन् र निष्पक्ष कारबाही नभए भोक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

को हुन् खान सर ?

सन् १९९३ मा उत्तर प्रदेशको देवरियामा जन्मिएका फैसल खान, जो ‘खान सर’ नामले देश-विदेशमा परिचित छन्, उनले इलाहाबाद विश्वविद्यालयबाट बीएस्सी र एमएस्सी गरेका छन् । उनले भूगोल विषयमा पनि स्नातकोत्तर गरेका छन् । पटनामा मात्र ६ जना विद्यार्थीबाट कोचिङ पढाउन सुरु गरेका खान सर आफ्नो ठट्टा र रमाइलो शैलीमा जटिल विषयहरूलाई पनि सजिलै बुझाउन सक्ने क्षमताका कारण चाँडै नै विद्यार्थीमाझ लोकप्रिय बनेका हुन् । सन् २०१९ मा उनले युट्युबमा ‘खान ग्लोबल स्टडिज रिसर्च सेन्टर’ नामको च्यानल खोलेका थिए, जसमा हाल २ करोड ५९ लाख (२५.९ मिलियन) भन्दा बढी सब्सक्राइबर छन् । उनी इतिहास, भूगोल, राजनीति र समसामयिक विषयहरूमा जानकारीमूलक भिडियोहरू बनाउने गर्छन् । सन् २०२१ मा उनले आफ्नै मोबाइल एप ल्याएर भारतका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निकै सस्तो शुल्कमा अनलाइन शिक्षामार्फत लोकसेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गराउँदै आएका छन् ।

Logo