वागिश्वरी कलेजद्वारा आयोजित ‘एक्सेल एण्ड ट्याली बुट क्याम्प’ सम्पन्न, सिकेको सिप प्रयोग गर्न विद्यार्थी उत्साहित

वागिश्वरी कलेजद्वारा आयोजित ‘एक्सेल एण्ड ट्याली बुट क्याम्प’ सम्पन्न, सिकेको सिप प्रयोग गर्न विद्यार्थी उत्साहित

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । भक्तपुरको एक मात्रै क्यूएए (क्वालिटी एस्युरेन्स एन्ड एक्रेडिएस) मान्यता प्राप्त सामुदायिक कलेज वागिश्वरी कलेजले नन्-क्रेडिट कोर्स अन्तर्गत स्नातक तह बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको ‘एक्सेल एण्ड ट्याली बुट क्याम्प’ सम्पन्न भएको छ ।

कलेजको स्नातक तहको ४ वर्षमा ४ वटा सिप दिने नीति अनुसार वि.सं. २०८२ चैत १२ गते सुरु भएको बुट क्याम्प २०८३ जेठ २५ गते सोमबार भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् वागिश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

५० घण्टे नन्-क्रेडिट कोर्स अन्तर्गत सञ्चालित तालिमबाट ४० भन्दा बढी विद्यार्थीहरुले एक्सेल र ट्यालिसम्बन्धि विद्यार्थीहरुले सिप तथा तालिम हासिल गर्ने मौका प्राप्त गरेका छन् । जसबाट प्रमाणपत्रसँगै विद्यार्थीहरुले प्रयोगात्मक सिकाई पनि हासिल गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेज गुणस्तरीय शिक्षासँगै अनुशासित, देशभक्त, आत्मनिर्भर तथा स्वाभिमानी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको स्मरण गर्दै सोही लक्ष्यअनुरुप नै विद्यार्थीहरुका लागि तालिम दिइएको बताए ।

कार्यक्रममा प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै शिक्षा र सीपलाई सँगसँगै जोडेर लैजानुपर्नेमा जोड दिए । यस्ता सिपहरु प्राप्त गर्दा बेरोजगार हुन नपर्ने तर्क राख्दै विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन यो तालिमले महत्वपूर्ण भुमिका खेलेको विश्वास व्यक्त गरे । साथै अन्य देशसँग तुलना नगरी नेपालमा प्राप्त स्रोत साधन अनुरुपको विकास योजना लागु गर्नुपर्ने र त्यसमा युवा विद्यार्थीहरुले प्रमुख भुमिका खेल्नुपर्ने बताए ।

त्यसैगरी वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बजारको मागअनुसार सिपमुलक र दक्षता मुलक शिक्षा दिन विद्यार्थीहरुको लागि यो तालिम आयोजना गरिएको जानकारी दिए । बदलिदो परिस्थितिका बिच एकाउन्टिङ्गको सबै काम सफ्टवेयरबाट हुने भएकाले आफुले सिकेको सिप अब वास्तविक क्षेत्रमा लागु गर्न विद्यार्थीहरुलाई प्रेरित गरे ।

वागिश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुलाई कक्षाकोठाभन्दा बाहिर लगेर आफ्नो काम र करियरसँग जोड्न सुझाव दिए । वागिश्वरी कलेजमै अध्ययनरत विद्यार्थीहरुले कलेजकै सहयोग र शिक्षकहरुको परामर्शमा आफ्नै व्यवसाय सुरु गरिसकेको उदाहरण दिदै अरु विद्यार्थीहरुलाई पनि आफूले काम खोज्ने नभई रोजगार दिने सोच राख्न प्रेरित गरे ।

कार्यक्रममा वागिश्वरी कलेजका मानविकी संकायका विभागीय प्रमुख राजन फेलुले कलेजले विद्यार्थीहरुलाई दिएको तालिममार्फत् वर्तमान प्रतिस्पर्धात्मक परिवेशमा विद्यार्थीहरुले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । वागिश्वरी कलेजले स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई ४ वर्षमा ४ वटा प्रयोगात्मक सिप दिने लक्ष्य राखेर व्यवसायिक सीप अभिवृद्धिका लागि कलेजले लगातार यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा वागिश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्मचार्यले यस्तो तालिमको महत्वमाथि प्रकाश पार्दै यस्ता तालिमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । सिपसहित दक्षतामुलक जनशक्ति निमार्ण गर्न वागिश्वरी कलेजले यस्ता कार्यक्रम र तालिमहरु आयोजना आयोजना गर्दै आएको जानकारी दिँदै तालिम प्राप्त विद्यार्थीहरुलाई सुनौलो भविष्यका लागि शुभकामना प्रदान गरे ।

उक्त कार्यक्रममा शिक्षिका अविना श्रेष्ठले पनि तालिममा सिकेका सिप र ज्ञान व्यवहार र प्रयोगमा ल्याउन सुझाव दिइन् । अब विद्यार्थीहरु रोजगारी खोज्दै विदेशिने नभई यस्तै उपयोगी तालिम सिकेर विदेशमा रहेका अरु युवाहरुलाई पनि देशमै रोजगार दिने अवसर सिर्जना गर्न उनले प्रोत्साहित गरिन् ।

तालिममा स्रोतव्यक्तिको रुपमा नविन प्रजापतिले वागिश्वरी कलेजको बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा तालिम प्राप्त गरेका विद्यार्थी राज कुश्माले आफ्नो अनुभव बाँडे । आफूले तालिममा सिकेका सिप र कौशल प्रयोगात्मक रुपमै प्रयोगमा ल्याउने बताउँदै कुश्माले समयसापेक्ष र उपयोगी सिप र तालिम प्राप्त गर्ने मौका दिएकोमा वागिश्वरी कलेजप्रति कृतज्ञता व्यक्त गरे ।

Logo