महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् ।
जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन् । शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए । नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको उनले जानकारी दिए ।
“छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ”, नगरप्रमुख महराले भने, “वडा नं ६, ७ र ८ को बर्खा सकिएलगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ ।”
करिब १२ हजार सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ ।
“हाल भूमि आयोगको प्रविधिक प्रतिनिधिसहितको टोली फिल्डमा खटिएको छ”, नगरप्रमुख महराले भने, “नापनक्सा सकिएपछि सबै प्रक्रिया पूरा गरेर पुर्जाका लागि आयोगसमक्ष कागजात हस्तान्तरण गरिनेछ ।”
करिब ६० हजार भूमिहीन दलित–सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको कञ्चनपुरमा सबै पालिकामा समस्या रहेको जनाइएको छ ।
यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नापनक्सा सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नापनक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।
अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गर्न नापनक्सा थालिएको उनले बताए । यस पालिकामा १७ हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन् ।
यस्तै, नौ हजार ५०० भन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको बेदकोट नगरपालिकामा प्रायः नापनक्साको काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । “शुक्लाफाँटा निकुञ्ज विस्थापितको जग्गा किचलो रहेका केही वडामा नापनक्साको काम भएको छैन । बाँकी सबैतिर नापनक्सा सकिसकेका छौँ”, उनले भने ।
यहाँको लालझाडी गाउँपालिकमा पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नापनक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिए । यस पालिकामा चार हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन् ।





























प्रतिक्रिया