मेक्सिको सिटी । विश्वकप फुटबलको आयोजकमध्ये एक रहेको मेक्सिकोले बिहीबार आफ्नो उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ । मेक्सिकोलाई यसपल्ट विजयी सुरुआत लिन दबाब हुनेछ । खेल स्टाडियो एजटेकामा हुनेछ र यहाँ तेस्रोपल्ट विश्वकप फर्कंदै छ । सन् १९७० र १९८६ को विश्वकप पनि यो ऐतिहासिक रंगशालाले आतिथ्यता गरेको थियो । यस खेलका लागि ८० हजार दर्शक अपेक्षा गरिएको छ ।
सन् २०१० को विश्वकपमा पनि यिनै दुई टिमबीच पहिलो खेल भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यो खेल जोहानसबर्गमा भएको थियो । यसपल्ट भने मेक्सिको नै पहिलो खेलमा जितका लागि बलियो प्रत्याशी रहनेछ । यो समूह ‘ए’ मा दक्षिण कोरिया र चेक गणतन्त्र (चेकिया) पनि छन् । त्यसैले मेक्सिकोका लागि पहिलो ३ अंक सबैभन्दा महत्त्वको हुनेछ । घरेलु मैदानको फाइदा लिने अवसर पनि रहनेछ ।
मेक्सिको पछिल्ला ८ खेलमा अपराजित छ । यो टिमको सबैभन्दा राम्रो प्रदर्शनको यात्रा पनि हो । प्रशिक्षक जाभियर अगुइरेको लागि यो लय आत्मविश्वास दिलाउने प्रदर्शन रहनेछ । मेक्सिकोका लागि धेरै हदसम्म एक अंकको प्रदर्शन अस्वीकार्य रहनेछ । दक्षिण अफ्रिका भने सन् २०१० यता पहिलो पटक विश्वकप खेल्दै छ । प्रशिक्षक ह्युगो ब्रोस मान्छन्, घरेलु खेलाडीले भरिएको टिम प्रतियोगितामै आश्चर्यजनक नतिजा निकाल्न सक्षम छ ।
सन् १९८६ को विश्वकपमा खेलाडी छँदा उनले बेल्जियमका प्रतिनिधित्व गर्दै मेक्सिकोविरुद्ध नै खेलेका थिए । उनी अहिले आफ्ना खेलाडीलाई उद्घाटन खेलमा मात्र केन्द्रित हुन निर्देशन दिएका छन् । उनले अगाडि भनेका छन्, ‘हाम्रो लागि यो विश्वकप ठूलो अनुभव लिएर आउँदै छ । बाहिर के चर्चा भइरहेको छ, त्यसमा ध्यान दिन हुन्न ।’ उनी जितकै लागि खेल्ने पनि बताउँछन् ।
दक्षिण कोरिया–चेक गणतन्त्र
दक्षिण कोरियाले विश्वकप २०२६ को समूह चरणको आफ्नो पहिलो खेलमा शुक्रबार बिहान (नेपाली समय) चेक गणतन्त्रको सामना गर्नेछ । यसपल्ट दक्षिण कोरिया युवा र अनुभवी खेलाडीको मिश्रणले भरिएको छ । यसपल्ट लगातार ११ औं पल्ट विश्वकप खेल्दै छ । सन् २०२२ मा दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो र यसक्रममा पोर्चुगलविरुद्धको खेलमा ह्वाङ ही–चानले इन्ज्युरी समयमा गोल गरेका थिए ।
उनी यसपल्ट पनि यस्तै प्रदर्शन दोहोर्याउन चाहन्छन् । उनी भन्छन्, ‘पोर्चुगलविरुद्ध मैले जसरी खेलें, त्यस्तै प्रदर्शन दोहोर्याउने हो भने त्यो मेरो लागि मात्र होइन, टिमकै लागि राम्रो हुनेछ । अहिलेका लागि म कडा मिहिनेत गरिरहेको छु ।’ उनी लगातार तेस्रो विश्वकप खेलिरहेका छन् । उनी के मान्छन् भने कुनै पनि प्रतियोगितामा पहिलो खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।
चेक गणतन्त्र भने आफ्नो पहिलो खेलका लागि उत्साही र आत्मविश्वासी दुवै रहनेछ । युरोपेली छनोटका ६ खेल जितेको चेक गणतन्त्र गत वर्ष भने एक प्रकारले संकटमा परेको थियो । त्यति बेला फारो आइल्यान्डविरुद्ध पराजित रहेको थियो । त्यो चेक फुटबल इतिहासकै सबैभन्दा खराब क्षण थियो । त्यसपछि टिम प्रशिक्षणको जिम्मेवारी प्रशिक्षक ७४ वर्षीय मिरोस्लाभ कोबेकलाई दिइएको थियो ।
त्यसयता चेक टिमको प्रदर्शनमा सुधार आएको थियो । टिमले प्लेअफको माध्यमबाट विश्वकपको यात्रा तय गरेको थियो । चेक टिम सन् २००६ यता पहिलो पटक विश्वकप खेलिरहेको छ । उनी भन्छन्, ‘अहिले हाम्रो टिममा रक्षापंक्तिका केही समस्या छन्, त्यसलाई स्वीकार गर्नुपर्छ । उनी त्यसमा सुधार हुने पनि विश्वास राख्छन् र टिमले राम्रो सुरुआत लिने आत्मविश्वास पोख्छन् ।





























प्रतिक्रिया