वित्तीय अपराधमा ३ अदालतमा ८६ जना विरुद्ध मुद्दा दायर, २७ अर्ब ८० करोड बिगो दाबी

वित्तीय अपराधमा ३ अदालतमा ८६ जना विरुद्ध मुद्दा दायर, २७ अर्ब ८० करोड बिगो दाबी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकसहित ८६ जनाविरुद्ध २७ अर्ब ८० करोड बिगो दाबी गर्दै तीन अदालतमा चारवटा वित्तीय अपराधका मुद्दा दायर गरिएको छ। मुख्य अभियुक्तका रूपमा दीपक भट्ट र शंकर समूहका तीन सञ्चालकलाई देखाइएको छ, जसमा धितोपत्र, बिमा, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी अभियोग लगाइएको छ।

वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकलगायत विरुद्ध बिहीबार एकै दिन तीन अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौंमा धितोपत्र कसुरमा ८१ र बिमा कसुरमा ४२ जनाविरुद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा ३९ जनाविरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध चार वटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बिमा ऐनअन्तर्गतको कसुरमा ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २७, धितोपत्र ऐनबमोजिम कसुरमा १ अर्ब १४ करोड ८६ लाख ९ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो।

विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा करिब साढे २२ अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा ४२ करोड १४ लाख ८८ हजार बिगो दाबी गरिएको छ। तीन वटै अदालतमा गरी २७ अर्ब ८० करोड ८६ लाख २२ हजार १ सय २७ रुपैयाँ बिगो दाबी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन्, जसका कारण कुल प्रतिवादीको संख्या ८६ छ।

बिमा ऐन र धितोपत्र ऐनअन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुमेरशमशेर जबरा, शालिनी संघाई, सन्दीप चाचन अग्रवाल, शुभी अग्रवाललगायत विरुद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्रसम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योतिप्रकाश पाण्डेलगायतलाई प्रतिवादी बनाइएको छ।

सम्बद्ध स्रोतका अनुसार व्यावसायिक उद्देश्यसहित गत साउनताका (चालु आर्थिक वर्षको सुरुवात) गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्छा, रमेश कर्पका उपाध्यक्ष गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर मिलेर सामूहिक सेयर कारोबार गर्ने सल्लाह भएको थियो । सहमतिअनुसार सबैले पैसा उठाएका थिए, बैंकिङ प्रणालीमार्फत एउटै खातामा पैसा संकलन पनि गरे।

सोही कोषबाट केही सेयर किनिएको थियो। भट्टले कानुनविपरीत हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सलगायत सूचीकृत कम्पनीमा सर्वसाधारणको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २६ रुपैयाँ अपचलन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको थियो। जेन–जी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै नियामक निकायहरूले अनुसन्धान अघि बढाएका थिए। भट्ट र सुलभ अग्रवाल दुवैका बैंक खाता जेन–जी आन्दोलनलगत्तै रोक्का गरिएका थिए, हालसम्म पनि रोक्कामै छन्।

सूचीकृत कम्पनीको पैसा हिनामिना गरेर भट्ट र उनको समूहले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनविपरीत गतिविधि गरेको विभागको भनाइ छ। भट्टको सेयर कारोबारको विवरण माग्दै विभागले बिमा प्राधिकरण, धितोपत्र बोर्ड, नेप्से, सीडीएससीलगायत निकायमा पठाएको पत्रबाट पनि उल्लिखित कुरा देखिएको थियो ।

गत १३ चैतमा वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएलगत्तै सम्पत्ति शुद्धीकरण, बिमा, धितोपत्र र बैंकिङ कसुरमा व्यापारिक समूहमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानलाई तीव्रता दिएका थिए। अनुसन्धानकै क्रममा भट्ट १९ चैत र सुलभ २१ चैतमा पक्राउ परेका थिए।

उच्च अदालत पाटनमा दायर अभियोगपत्रअनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा अरू बैंकसमेत सहभागी भएर प्रवाह गरिएको कर्जा जगदम्बा स्टिल्सले इन्भेस्टमेन्टमा रहेको खाताबाट निकालेर जग्गा खरिदका लागि बैना गरेको भेटिएको थियो। त्यसपछि राष्ट्र बैंकले अनुसन्धान गर्न विभागलाई पत्र लेखेको थियो।

जग्गा खरिद प्रयोजनका लागि ‘टर्म लोन’, ‘ब्रिज ग्याप लोन’ प्रवाह हुनुपर्नेमा ‘वर्किङ क्यापिटल लोन’ प्रवाह भएको भेटिएको थियो। जगदम्बाले अस्वाभाविक रूपमा दीपक भट्टको खातामा १७, १९ र २० असोज २०७९ मा ४५ करोड रुपैयाँ जम्मा गरेको भेटिएको थियो। ‘बैंकिङ कसुर तथा सजाय ऐनले निषेध गरेको कसुर गरेको हुँदा बिगोस्वरूप ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ कायम गरी दीपक भट्ट, सुलभ अग्रवाल र शाहिल अग्रवाललाई बिगोबमोजिम जरिवाना गरी कैद सजाय र शंकरलाल अग्रवालले भट्ट, सुलभ र शाहिललाई दुरुपयोगमा अप्रत्यक्ष सहयोग तथा मद्दत पुर्‍याउने कार्य गरेको कसुरमा मतियारका रूपमा सजाय गर्न’ अभियोगपत्रमा मागदाबी गरिएको

Logo