गोलरक्षक एलिसन भन्छन्- ब्राजिलको आलोचना स्वीकार्य छ

गोलरक्षक एलिसन भन्छन्- ब्राजिलको आलोचना स्वीकार्य छ

केन्द्रबिन्दु
30
Shares

मोरिसटाउन । कीर्तिमान पाँचपल्टको च्याम्पियन ब्राजिलले शनिबार विश्वकप २०२६ को यात्रा सुरु गर्दै छ । त्यसअघि गोलरक्षक एलिसन बेकरलाई के लाग्छ भने टिममाथि भइरहेको आलोचना स्वीकार्य छ । यसले नै टिमलाई राम्रो खेल्न प्रेरित गर्नेछ । लिभरपुल गोलरक्षक बेकरले भनेका छन्, ‘अहिले टिमबारे धेरै शंका छ, यो ठीकै छ । यसअघि ब्राजिलले राम्रो खेल्दा पनि यस्तै अनेक दुविधा थिए ।’

ब्राजिललाई उपाधि दाबेदार नमानिएकै बेला च्याम्पियन भएको इतिहास छ । ब्राजिलले अन्तिम पटक २४ वर्षअगाडि विश्वकप उपाधि जितेको थियो । अहिले फेरि छैटौं पटक च्याम्पियन हुन प्रेरित छ । ब्राजिलले अन्तिम पटक सन् २०२२ मा दक्षिण कोरिया र जापानमा भएको विश्वकप जितेको थियो । त्यतिबेला पनि टिमलाई उपाधिको प्रत्यासी मानिएको थिएन । यसपल्ट सन् २०२६ मा पनि ब्राजिलको स्थिति यस्तै छ ।

ब्राजिलले समूह ‘सी’ को आफ्नो पहिलो खेलमा शनिबार बलियो टोली मोरक्कोको सामना गर्दै छ । उत्तरी अमेरिकामा सुरु भएको विश्वकपमा सम्भावित विजेताका रूपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, उपविजेता फ्रान्स र युरोपेली च्याम्पियन फ्रान्सलाई चित्रण गरिएको छ । इंग्ल्यान्ड र पोर्चुगललाई पनि बलियो मानिएको छ । बेकर भन्छन्, ‘पुराना टिमभन्दा अहिलेको ब्राजिल फरक छ । धेरै कारणले गर्दा पछिल्लो केही समय खेलाडीका लागि राम्रो रहेको छैन ।’

‘तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भने हामी सबै खेलाडीले अहिले राम्रो महसुस गरिरहेका छौं । यो मनस्थितिलाई हामी जितमा परिणत गर्न चाहन्छौं । मोरक्कोविरुद्धको खेलमा अनुकूल नतिजा आउने छ,’ उनले थपे । कार्लो एन्सेलोट्टीको टिम दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौं भएको थियो । छनोटमा ब्राजिलको सुरुआत राम्रो रहेन र यसैक्रममा दुई प्रशिक्षक बर्खास्तगीमा परे । इटालीका एन्सेलोट्टीले भने गत वर्षदेखि टिम सम्हालेका हुन् ।

ब्राजिल आफ्नो पछिल्ला तीन खेलमा विजयी रहेको छ । त्यसमा पछिल्लो साता पानामालाई ६–२ र इजिप्टलाई २–१ ले हराएको खेल पनि समावेश छ । अबको खेल भने मेटलाइफ स्टेडियममा हुनेछ, जहाँ टोलीसामु पछिल्लो विश्वकपमा सेमिफाइनल पुगेर तहल्का मच्चाएको अफ्रिकी टिम छ । फिफा वरीयतामाा ब्राजिल छैटौंमा छ भने मोरक्को सातौंमा । त्यसैले यो खेल यस विश्वकपको लिग चरणकै सबैभन्दा बराबरीको टक्कर रहनेछ ।

यो खेल समूहकै सबैभन्दा महत्त्वको हुनेछ । दुवै विजयी सुरुआत लिने उद्देश्यमा रहने छन् । ब्राजिलले यो खेलपछि कमजोर आँक्न मिल्ने हाइटीको सामना गर्नेछ भने अन्तिम खेल स्कटल्यान्डविरुद्ध छ । ब्राजिलले सन् १९९४ मा अमेरिकामै भएको विश्वकप पनि जितेको थियो । तर विश्वकपका पछिल्ला संस्करणमा भने ब्राजिलको प्रदर्शन उच्च रहेको छैन । पछिल्ला पाँच विश्वकपमा ब्राजिल चारपल्ट क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।

सन् २०१४ मा भने आफ्नै भूमिमा ब्राजिल जर्मनीको हातबाट अविश्वसनीय ढंगले ७–१ ले पराजित भयो । बेकरका लागि यो तेस्रो विश्वकप हुनेछ । यी ३३ वर्षीय खेलाडीले सन् २०१८ मा रुसी भूमिमा ब्राजिलका सबै खेल खेलेका थिए तर सन् २०२२ मा कतारमा एउटै खेले खेलेनन् । सन् २०१८ मा अन्तिम आठमा बेल्जियमविरुद्धको हारसँगै ब्राजिलको चुनौती सकिएको थियो । कतारमा भने क्रोएसियासँग पेनाल्टी शुटआउटमा हारेको थियो ।

बेकरले एन्सेलोट्टीको प्रशंसा गर्दै भनेका छन्, ‘जे जस्तो भयो, त्यो इतिहास भइसकेको छ । पुराना कुरामा अल्झेर बस्नुमा कुनै अर्थ छैन । एन्सेलोट्टी आएपछि टिमको माहोल नै फेरिएको छ । टिममा उनको उपस्थिति असाध्यै बलियो छ । उनलाई विवादमा कुनै रुचि पनि छैन । प्रशिक्षकका रूपमा उनी आएयता टिमको प्रदर्शनमा सुधार छ र यो क्रमलाई हामी विश्वकपमा कायम राख्न चाहन्छौं ।’

Logo