काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप-२०२६ चलिरहँदा नेपालमा सुरक्षा चुनौती थपिएको छ ।संसारकै लोकप्रिय मानिएको विश्वकप फुटबलको अवसरमा नेपालमा पनि प्रोजेक्टरमार्फत सामूहिक रूपमा खेल हेर्ने चलन चल्दै आएको छ ।
खेल हेर्ने क्रममा भौतिक सुरक्षा चुनौतीदेखि डिजिटल स्क्यामसम्मका घटना हुनसक्ने जोखिम पनि उत्तिकै छ । प्रशासनको अनुमति नलिई आफूखुसी सामूहिक प्रदर्शन गरी फुटबल हेर्दा झैझगडा हुने, चोरी तथा लुटपाटका घटना हुनसक्ने जोखिम रहन्छ ।
प्रशासनको अनुमति बिना मध्यरातिमा प्रोजेक्टरमार्फत सामूहिक रूपमा खेल हेर्दा केही भइहालेमा प्रशासनलाई जानकारी नहुने र बेलैमा प्रहरीसमेत पुग्न नसक्ने हुँदा सुरक्षाको जोखिम हुने प्रशासनले बताएको छ । यस विषयमा बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना सार्वजनिक गर्दै अनुमति लिएर मात्रै प्रोजेक्टरमा खेल देखाउन भनेको छ ।
‘विश्वकप फुटबलका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले यस कार्यालयबाट पूर्वस्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सबैमा जानकारीका लागि अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
स्वीकृति लिएर मात्रै सामूहिक रूपमा ठूलो पर्दामा भिड जम्मा भएर हेर्न सकिने प्रशासनले बताएको छ । अमर्यादित, उच्छृंखल, अवाञ्छित तथा गैरकानुनी गतिविधिसमेत यस्तो अवस्थामा हुने जोखिम रहेकाले अनुमति लिएर मात्रै प्रोजेक्टरमा खेल देखाउन भनिएको छ ।
यसको पछाडि पनि सुरक्षाका धरै कारणहरू रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार म्याच हेर्ने क्रममा उच्छृंखल गतिविधि हुन सक्ने, मदिरा सेवन गरेर खेल हेर्दा झगडा हुन सक्ने, हारजितमा बाजी राख्नेदेखि खेलकै विषयलाई लिएर विवाद हुँदा कुटाकुटसम्म हुन सक्न भएकाले भौतिक रूपमै पनि सुरक्षा चुनौती रहेको उनी बताउँछन् ।
फुटबलको प्रत्यक्ष प्रसारण देखाउन त्यस्ता ठाउँहरूको दैनिक सुरक्षा खतराको विश्लेषण, मूल्यांकन गर्ने र सोहीअनुसार सुरक्षा व्यवस्थापन मिलाइने प्रहरीले बताएको छ । सुरक्षा खतरा विश्लेषण गरेर त्यस्तो कुनै अवाञ्छित गतिविधि भए वा तोकिएको मापदण्ड पूरा नगरी त्यस्ता ठाउँहरूलाई प्रत्यक्ष प्रसारणमा रोकसमेत लगाइने प्रहरीले बताएको छ ।
प्रोजेक्टरमार्फत सामूहिक रूपमा खेल हेर्ने ठाउँका बारेमा मुख्य तीन पाटो हेरिने प्रहरीले बताएको छ । पहिलो आयोजक तथा प्रत्यक्ष प्रसारण देखाउने ठाउँको सुरक्षा अवस्था, पार्किङदेखि, उज्यालो, शौचालय जस्ता मापदण्ड हेरिने प्रहरीले बताएको छ।
दोस्रो पक्ष भनेको त्यस ठाउँमा जम्मा भएर खेल हेर्दा हुने हो-हल्लाले वरपर पर्न सक्ने असरको बारेमा पनि हेरिने प्रहरीले बताएको छ । तेस्रो पक्ष भनेको बेटिङ, ठगी, उच्छृंखल तथा अवाञ्छित गतिविधि निगरानी गरिने प्रहरीको भनाइ छ ।
परिसरका एसपी पवनुकमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंका विभिन्न ११ ठाउँमा प्रोजेक्टरमार्फत फुटबलको लाइभ देखाउन अनुमति दिइएको छ । उनका अनुसार अहिलेसम्म गौरीघाट, स्युचाटार, गोकर्णेश्वरको बेसीगाउँ, लाजिम्पाट, नयाँ बानेश्वर, बुढानीलकण्ठ, गैरीधारा, आलोकनगर, पुराना बानेश्वर शान्ति चोक, सिनामंगल शम्भुमार्ग र बाँसबारीमा फुटबलको प्रत्यक्ष प्रसारण देखाउन प्रशासनले अनुमति दिइसकेको छ ।
यो संख्या बढ्दै जाने पनि बताइएको छ । ती ठाउँमा राति खेल देखाउने हुँदा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको एसपी भट्टराईले बताए । पहिलो दिनको उद्घाटन खेल भने विभिन्न ७ ठाउँमा देखाइएको थियो । प्रहरीले ती ठाउँहरूमा गएर अनुगमन गर्नुका साथै सुरक्षा प्रदान गरेको पनि बताएको छ । पहिलो दिन कुनै उच्छृंखल गतिविधि नभएको एसपी भट्टराईले बताए ।
भौतिक सुरक्षा चुनौतीसँगसँगै अर्को मुख्य चुनौतीको रूपमा डिजिटल सुरक्षा देखा परेको छ । अनलाइन बेटिङ तथा बाजीदेखि स्क्यामिङ, फिसिङ, ठगी जस्ता विषयहरू जोडिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका एसपी तथा प्रवक्ता दिलिपकुमार गिरीका अनुसार विश्वकपका नाममा डिजिटल माध्यममार्फत ठगी हुने क्रम बढ्दै गएको छ । उनका अनुसार अहिलेसम्म १०० जनाले आफू ठगिएको भन्दै ब्युरोको कार्यालय भोटाहिटीमा उजुरी दिएका छन् । जसमा २ करोड ९ लाख रुपैयाँ ठगिएको बताइएको छ ।
बुधबारसम्म ७७ वटा उजुरी ब्युरोमा आएकोमा बिहीबार र शुक्रबार मध्याह्नसम्म उजुरीको संख्या १०० पुगेको हो । विश्वकप नि:शुल्क हेर्न भन्दै विभिन्नहरू लिंकहरु पठाउने र त्यहाँबाट ठगी धन्दा हुने गरेको गिरीले बताए ।
नि:शुल्क विश्वकप हेर्न भन्दै लिंक पठाउने र उक्त लिंकमा उल्लेख भएअनुसार क्लिक गर्दा मोबाइलमा रहेको बैंकिङ वालेटसम्म पहुँच पुर्याउने र रकम ठगी गर्ने प्रवृत्ति देखिएको प्रहरीले बताएको छ ।
यसरी ठगी गर्ने क्रम सुरु भएपछि जथाभावी लिंक क्लिक नगर्न साइबर ब्युरोले अनुरोध गरेको छ । ‘विश्वकप नि:शुल्क हेर्ने नाममा २ करोड बढी ठगी भएको पाइएको छ । जथाभावी लिंक क्लिक नगर्न हामीले अनुरोध गरेका छौं,’ एसपी गिरीले भने ।





























प्रतिक्रिया