फिफा विश्वकपका ती अविश्वसनीय र अप्रत्यासित हारहरू !

फिफा विश्वकपका ती अविश्वसनीय र अप्रत्यासित हारहरू !

केन्द्रबिन्दु
390
Shares

काठमाडौं । फिफा विश्वकपको २३औं संस्करण सुरु भइसकेकाे छ । लियोनल मेस्सी, क्रिष्टियानो क्रिष्टियानो, नेयमार जुनियर र मोहम्मद सालाह जस्ता दिग्गज खेलाडीहरुले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् भने लामिन यमल, एर्लिङ हाल्याण्ड, एन्ड्रिक, कोल पाल्मर र फ्लोरियन विर्ट्ज जस्ता युवा खेलाडीहरुले पहिलो पटक विश्वकपमा पाइला टेक्दै छन् । यस्तोमा यस संस्करणमा कसले सर्वाधिक गोल गर्ला ? कुन स्टारले सबैभन्दा राम्रो खेल्ला ? तर फिफा विश्वकपले आफ्नो इतिहासमा जति रोमाञ्चक सफलताका कथाहरू दिएको छ, त्यति नै चकित पार्ने ‘अपसेट’ का क्षणहरू पनि सिर्जना गरेको छ । जहाँ विशाल शक्ति राष्ट्रहरू पनि घुँडा टेक्न बाध्य भएका छन् भने साना टोलीहरूले पनि आफ्नो नाम सुनौलो अक्षरमा लेखाउन सफल भएका छन् ।

अप्रत्यासित हारहरू-

अमेरिका १–० इङ्ग्ल्यान्डः सन् १९५० को उपाधिको प्रमुख दाबेदार इङ्ग्ल्यान्ड पहिलो पटक विश्वकपमा सहभागी हुँदै थियो । टोलीमा आल्फ राम्से, टम फिन्नी र बिली राइटजस्ता चर्चित खेलाडीको उपस्थितिले इङ्लिस टोलीलाई अपराजेय मानिएको थियो । अर्कोतर्फ, अमेरिकी टोलीमा भाँडा माझ्ने, हुलाकी, शिक्षक तथा आंशिक समय काम गर्ने खेलाडीहरूको मिश्रण थियो— जसले प्रतियोगिताअघि केवल एक दिन मात्र सँगै अभ्यास गरेको थियो । ब्राजिलको बेलो होरिजोन्टेमा भएको खेलको ३८औँ मिनेटमा हाइटियन मूलका अमेरिकी खेलाडी जो गेटजेन्सले हेडरमार्फत गोल गर्दै अमेरिकालाई अग्रता दिलाएर सबैलाई आश्चर्यमा पारेका थिए । दोस्रो हाफभर इङ्ग्ल्यान्डले निरन्तर आक्रमण गरेता पनि अमेरिकी गोलकिपर फ्र्याङ्क बोर्गीको अविश्वसनीय प्रदर्शनले इङ्ल्याण्डविरुद्ध बराबरी हुन दिएन । ‘मिर्याकल अन ग्रास’का नामले परिचित यो नतिजा आज पनि विश्वकपकै सर्वाधिक ठूलो अपसेटमध्ये एक मानिन्छ ।

पश्चिम जर्मनी ३-२ हंगेरीः सन् १९५४ को विश्वकपमा फेरेन्स पुस्कासको कप्तानीमा रहेको हंगेरीको ‘माइटी मग्यार्स’ टोली लगातार ३२ खेल अपराजित रहँदै प्रमुख दाबेदारका रूपमा स्विट्जरल्यान्ड पुगेको थियो । समूह चरणमै हंगेरीले पश्चिम जर्मनीलाई ८–३ ले पराजित गरेर सबैलाई चकित तुल्याएको थियो । तर फाइनलमा दुई टोली पुनः भिड्दा खेलको स्वरूप नै बदलिएको थियो । पुस्कास र सिजिबोरले पहिलो ८ मिनेटभित्रै हंगेरीलाई २–० को अग्रता दिलाए । तर पश्चिम जर्मनीले म्याक्स मोरलक र हेल्मुट राह्नको गोलमार्फत १८औँ मिनेटसम्ममा खेल बराबरीमा ल्यायो । ८४औँ मिनेटमा जर्मनीका लागि राह्नले दोस्रो व्यक्तिगत गोल गर्दै हंगेरीको स्वर्णिम पुस्तालाई स्तब्ध बनाए । ‘बर्नको चमत्कार’का रूपमा विख्यात यो खेल विश्व फुटबल इतिहासकै सबैभन्दा नाटकीय पुनरागमन मानिँदै आएको छ ।

उत्तर कोरिया १–० इटालीः सन् १९६६ को विश्वकपमा उत्तर कोरियाको सहभागिता नै आश्चर्यको विषय थियो । शीतयुद्धका कारण इङ्ग्लिस फुटबल सङ्घले उत्तर कोरियाली टोलीलाई भिसा दिन अस्वीकार गर्ने विचार गरेको थियो । मिडल्सब्रोको आइरेसम पार्कमा भएको समूह चरणको खेलमा दुई पटकको विश्वविजेता इटाली स्पष्ट रूपमा बलियो थियो । तर ३४औँ मिनेटमा इटालीका जियाकोमो बुल्गारेली घाइते भएपछि टोली १० खेलाडीमा सीमित भयो । खेलको ४२औँ मिनेटमा उत्तर कोरियाका पाक डु इकले एक जबरजस्त प्रहारमार्फत गोल गर्दै इटालीलाई प्रतियोगिताबाट नै बाहिरको बाटो देखाए । यस अप्रत्यासिलो हारलाई फिफा सङ्ग्रहालयमा स्थान दिइएको छ र गोलकर्ता पाक डु इकलाई उत्तर कोरियामा राष्ट्रिय नायकको रुपमा हेरिँदै आएको छ ।

अल्जेरिया २–१ पश्चिम जर्मनीः सन् १९८२ मा पश्चिम जर्मनी साविक युरोपेली च्याम्पियन र दुई पटकको विश्वविजेताको हैसियतले स्पेन पुगेको थियो । हान्सी मुलर, कार्ल–हाइन्ज रुमेनिगे र युवा लोथार माथ्युसजस्ता स्टार खेलाडीहरूले भरिएको जर्मन टोलीलाई उपाधिको बलियो दाबेदार मानिएको थियो । तर अल्जेरियाले ५४औँ मिनेटमा रबाह माजेरको गोलमार्फत अग्रता लियो । रुमेनिगेले ६७औँ मिनेटमा बराबरी गोल गरे पनि, केवल एक मिनेटपछि नै लख्दार बेल्लौमीले उत्कृष्ट प्रहार गर्दै अल्जेरियाको ऐतिहासिक जित पक्का गरे । यस खेलपछि जर्मनी र अस्ट्रियाबीचको विवादास्पद ‘गिजोनको अपमान’ भनिने समूह खेलले अल्जेरियालाई अन्यायपूर्ण रूपमा बाहिर पार्यो, तर यो जित आफैमा विश्वकपकै महान् आश्चर्यको रूपमा रह्यो ।

क्यामरुन १–० अर्जेन्टिनाः डिएगो म्याराडोनाको नेतृत्वमा साविक विजेता अर्जेन्टिनाले सन् १९९० को विश्वकपको उद्घाटन खेलमा क्यामरुनविरुद्ध सहज जितको अपेक्षामा गरिएको थियो । किनकी क्यामरुन पहिलो पटक विश्वकप खेलिरहेको थियो । मिलानको प्रतिष्ठित सान सिरो रंगशालामा भएको खेलको ६७औँ मिनेटमा फ्रान्कोइस ओमाम–बियिकले फ्रिकिकबाट आएको बलमा हेडर गोल गरे । त्यसपछि क्यामरुनका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिए पनि बाँकी नौ खेलाडीले अर्जेन्टिनाको निरन्तर आक्रमणलाई अन्तिम सीटीसम्म रोकिराखे । यो नतिजा अफ्रिकी फुटबलको लागि एउटा अविश्वसनियमध्ये मानिन्छ ।

फ्रान्स ०–१ सेनेगलः सन् २००२ को विश्वकपको उद्घाटन खेलमा साविक विश्वविजेता फ्रान्सको सामना पहिलो पटक सहभागी सेनेगलसँग भएको थियो । यो पूर्व उपनिवेशक र उपनिवेशबीचको प्रतीकात्मक भिडन्त पनि थियो । जिनेदिन जिदान चोटका कारण अनुपस्थित भए पनि फ्रान्ससँग थिएरी हेनरी, डेविड ट्रेजेगेटजस्ता विश्वस्तरीय खेलाडी थिए । तर सेनेगलले एल हादजी डिउफको गति र रणनीतिक अनुशासनको सहाराले फ्रान्सलाई हारको स्वाद चखायो । ३०औँ मिनेटमा सेनेगलका लागि पापा बोबा डिओपले गोल गर्दै ऐतिहासिक जित दिलाए । फ्रान्स समूह चरणबाटै एक गोल पनि नगरी बाहिरियो, भने सेनेगल अन्तिम आठमा पुग्ने दोस्रो अफ्रिकी राष्ट्र बनेको थियो ।

नेदरल्यान्ड्स ५–१ स्पेनः सन् २०१० को विश्वकप फाइनलको पुनरावृत्ति सन् २०१४ को समूह चरणमा हुँदा स्पेन साविक विश्व तथा युरोपेली विजेताको रूपमा प्रवेश गरेको थियो । २७औँ मिनेटमा जाभी अलोन्सोले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएपछि सबै अनुमानअनुसार नै खेल अगाडि बढिरहेको थियो । तर पहिलो हाफको इन्जुरी समयमा रोबिन भान पर्सीले करिब १५ यार्ड टाढाबाट डाइभिङ हेडरमार्फत अविश्वसनीय गोल गर्दै इकर कासियासलाई स्तब्ध बनाए । दोस्रो हाफमा आर्जेन रोबेन, स्टेफान डे भ्रिज र पुनः भान पर्सीको गोलसहित नेदरल्यान्ड्सले स्पनेविरुद्ध ५–१ को ऐतिहासिक विजय हासिल गर्यो । यो साविक विजेताले विश्वकपमा भोगेको सबैभन्दा ठूलो अन्तरको हार थियो । हारपछि स्पेन समूह चरणबाटै बाहिरियो ।

जर्मनी ७–१ ब्राजिलः सन् २०१४ को सेमिफाइनलमा ब्राजिलको सपना एक भयानक दुःस्वप्नमा परिणत भएको थियो । घरेलु मैदानमा छैटौं उपाधि जित्ने लक्ष्य बोकेको ब्राजिलले क्वाटरफाइनलमा नेयमारलाई चोट र कप्तान थियागो सिल्भालाई निलम्बनका कारण गुमाइसकेको थियो । बेलो होरिजोन्टेको मिनेइराओ रंगशालामा ११औँ मिनेटमा थोमस मुलरले गोल गरेपछि सुरु भएको जर्मन आक्रमणले २३औँ देखि २९औँ मिनेटबीच लगातार चार गोल गर्दै स्कोर ५–० पुर्‍यायाे । दोस्रो हाफमा आन्द्रे शुर्लेले जर्मनीका लागि थप दुई गोल गरे । अन्तिम मिनेटमा ओस्कारले सान्त्वना गोल फर्काए पनि ७–१ को नतिजा सन् १९२० यताको ब्राजिलको सबैभन्दा ठूलो हार बन्यो ।

दक्षिण कोरिया २–० जर्मनीः सन् २०१८ को विश्वकपमा जर्मनी साविक विजेताको हैसियतले अन्तिम समूह खेलमा दक्षिण कोरियाविरुद्ध जित्नै पर्ने दबाबमा थियो । दक्षिण कोरिया प्रतियोगिताबाट लगभग बाहिरिसकेको अवस्थामा प्रतिष्ठाका लागि खेलिरहेको थियो । ९० मिनेटसम्म गोलरहित बराबरीले जर्मनी बाहिरिने अवस्था थियो र जितको लागि सम्पूर्ण शक्ति आक्रमणमा लगाइयो । इन्जुरी समयको दोस्रो मिनेटमा किम योङ–ग्वोनले कर्नर प्रहारबाट गोल गर्दै जर्मनीलाई स्तब्ध बनाए । त्यसपछि जर्मन गोलरक्षक मानुएल नोयर आक्रमणमा सहयोग गर्न विपक्षी पोस्टसम्म पुगे तर दक्षिण कोरियाले उनकै गलत पासलाई सदुपयोग गर्दै सन ह्युङ–मिनले खाली पोस्टमा दोस्रो गोल गरे । सन् १९३८ यता पहिलो पटक जर्मनी पहिलो चरणबाटै बाहिरियो र यो विश्वकपमा कुनै एसियाली राष्ट्रविरुद्ध जर्मनीको पहिलो हार बन्यो ।

साउदी अरेबिया २–१ अर्जेन्टिनाः सन् २०२२ काे कतार विश्वकपमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना ३६ खेलको अपराजित यात्रासहित प्रतियोगिताको प्रमुख दाबेदार थियो । मेसीले १०औँ मिनेटमै पेनाल्टीलाई गोलमा परिणत गर्दा सबै योजनाअनुसार अगाडि बढिरहेको थियो । तर दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सालेह अल–शेहरीले बल नियन्त्रणमा लिँदै एमिलियानो मार्टिनेजको खुट्टाबीचबाट गोल गरे । पाँच मिनेटपछि सालेम अल–दावसरीले बायाँतर्फबाट भित्र छिर्दै टप कर्नरमा अविश्वसनीय घुमाउरो प्रहार गोल गर्दा विश्व स्तब्ध भयो । बाँकी समय साउदी टोलीले वीरतापूर्वक रक्षा गर्दै अर्जेन्टिनाविरुद्धको ऐतिहासिक जित सुरक्षित गर्‍याे । यद्यपि अर्जेन्टिनाले पछि उपाधि जित्यो, यो अपसेट विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेरमध्ये एकका रूपमा दर्ज भयो ।

समग्रमा फिफा विश्वकपको इतिहासले फुटबलमा कुनै पनि राष्ट्रको खेल कागजको तथ्याङ्कका आधारमा बलियो वा कमजोर हुने नभई अन्डरडगहरूको अदम्य साहस, रणनीतिक अनुशासन, वर्तमान समयको फर्म, जितप्रतिको भोक र खेलमा देखाइने ट्याटिक्सका आधारमा विशाल शक्तिहरूको घमण्ड चकनाचुर भएको प्रमाणित गरिसकेको छ ।

Logo