काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत आइतबार बिहान नेपाली समय ३ः४५ बजे न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा एउटा यस्तो भिडन्त सुरु हुँदैछ, जहाँ तथ्याङ्क र भावना दुवै उत्तिकै बलियो छन् ।

एकातिर पाँचपटकको विश्वविजेता ब्राजिल २४ वर्ष लामो उपाधि खडेरी तोड्न ‘हेक्सा’ अर्थात छैटौं उपाधि जित्ने अभियानमा निस्कँदै छ भने अर्कोतिर गत संस्करणको सेमिफाइनलिस्ट तथा हाल विश्व वरीयताको सातौँ स्थानमा रहेको मोरक्को अफ्रिकी फुटबलको सबैभन्दा ठूलो सफलतालाई थप उचाइ दिन चाहन्छ ।

तर सन् २००२ पछि विश्वकप ट्रफी चुम्न नसकेको ब्राजिलका लागि अमेरिकी भूमिले एउटा चक्रीय इतिहासको संकेत गरेको छ । सन् १९७० मा तेस्रो उपाधि जितेको ठीक २४ वर्षपछि, सन् १९९४ मा अमेरिकाकै माटोमा ब्राजिलले चौथोपटक उपाधि उचालेको थियो । अहिले ठीक २४ वर्षपछि विश्वकप फेरि अमेरिका फर्किएको छ र ब्राजिललाई यो चक्र आफ्नो पक्षमा पार्ने सुनौलो मौका पनि रहेको छ ।

तर मैदान बाहिरको अस्थिरताले टोलीलाई कमजोर बनाएको छ । पछिल्ला तीन वर्षमा चार प्रशिक्षक फेरिसकेको ब्राजिलियन फुटबल महासंघले पहिलोपटक कुनै स्थायी विदेशी प्रशिक्षक कार्लो एन्सेलोटी माथि विश्वास गरेको छ । पाँचपटक च्याम्पियन्स लिग जितेका यी इटालियन मास्टरमाइन्डका लागि मुख्य प्रशिक्षकको रूपमा यो पहिलो विश्वकप हो । तर रोचक संयोग के छ भने सन् १९९४ मा अमेरिकामै भएको विश्वकपको फाइनलमा एन्सेलोटी इटालीको सहायक प्रशिक्षक थिए । जहाँ ब्राजिलसँगै ट्रफी गुमाएको पीडा अहिले ब्राजिलकै झन्डा बोकेर मेटाउने अवसर उनको अगाडि आएको छ ।

दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा खुम्चिएर विश्वकपमा आएको ब्राजिलको प्रदर्शनले निराश बनाएको थियो र चोटको सूचीले अझ चिन्ता थपेको छ । सर्वकालीन उच्च गोलकर्ता नेयमार ‘काल्फ इन्जुरी’ का कारण पहिलो खेलमा लगभग बाहिर जस्तै छन् । रोड्रिगो घुँडाको चोटले बाहिरिसके, राइटब्याक वेस्ली मांसपेशी समस्याले टोलीमै अनुपस्थित छन् भने एडर मिलिटाओ र युवा प्रतिभा एस्टेभाओ पनि टोलीमा छैनन् । यद्यपि, भिनिसियस जुनियर र राफिन्हाको जोडी, ब्रुनो गुमाइरास र कासेमिरोको मिडफिल्ड अनुभव र गोलपोस्टमा एलिसन बेकरको उपस्थितिले आक्रमण र रक्षाको सन्तुलन कायम राख्नेछ ।

विपक्षी डगआउटमा रहेको मोरक्को ब्राजिलियन टोलीका लागि कुनै सामान्य चुनौती भने पक्कै होइन । सन् २०२२ को विश्वकपमा स्पेन र पोर्चुगललाई हराउँदै इतिहास रचेर सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको एट्लास लायन्स अहिले फिफा वरीयतामा नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा माथि अर्थात सातौँ स्थानमा छ । अझ सन् २०२३ यता ४५ खेलमा २ खेलमा मात्र हार बेहोरेको यो टोली विश्वफुटबलमा स्थिरता र अनुशासनको उत्कृष्ट उदाहरण नै बनेको छ ।

यस्तोमा प्रशिक्षक वालिद रेग्रागुईको राजीनामापछि मोरक्कोको कमान्ड सम्हालेका मोहम्मद उआहबीले यू–२० विश्वकप जिताएर आएको ताजा सफलतालाई सिनियर टोलीमा पनि उतार्ने प्रयास गर्नेछन् । कप्तान अशरफ हाकिमीको नेतृत्वमा रक्षापंक्ति फलामको पर्खाल बन्न सक्छ भने सोफियान अम्राबात र अजेद्दिन ओउनाहीको मिडफिल्ड जोडीले ब्राजिलियन लय भत्काउन माहिर छ ।

अझ ब्राजिलका लागि सबैभन्दा ठूलो खतरा स्पेनिस क्लब रियल मड्रिडका लागि खेलिरहेका ब्राहिम डियाज र सोफियान रहिमीको काउन्टर अट्याक हुनेछ । किनकी यी दुई खेलाडीले कुनै पनि बेला खेल पल्टाउन सक्ने ल्याकत राख्छन् । त्यति भनिरहँदा मोरक्को पनि चोटबाट बच्न सकेको छैन् । नोउसेर मजराउई र आब्दे एजालजोली नर्वेविरुद्धको अभ्यास खेलमा घाइते हुँदा केही सीमित विकल्पमा अडिनुपर्ने बाध्यात्मक अवस्थामा आएको छ ।

इतिहास हेर्ने हो भने विश्वकपमा ब्राजिलले अफ्रिकी राष्ट्रहरूविरुद्ध खेलेका ८ मध्ये ७ खेल जितेको छ । अफ्रिकी राष्ट्रविरुद्ध एक मात्र हार गत संस्करणमा क्यामरुनविरुद्ध १–० गोलले आएको थियो । जसले ब्राजिलको अजेय छविलाई धक्का दिएको थियो । यस्तोमा मोरक्को अब ब्राजिललाई विश्वकपमा हराउने दोस्रो अफ्रिकी टोली आतुर छ, र पछिल्लो भेटको नतिजा पनि उसैको पक्षमा छ । सन् २०२३ को मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई २–१ गोलले स्तब्ध बनाएको थियो, जसले मनोवैज्ञानिक रूपमा मोरक्कोलाई स्पष्ट अग्रता दिएको छ । त्यसअघि सन् १९९८ को विश्वकपमा भने ब्राजिलले मोरक्कोविरुद्ध ३–० ले विजयी भएको थियो।

यस्तोमा आजको खेलको सबैभन्दा रोचक पक्ष ब्राजिलियन प्रशिक्षक कार्लो एन्सेलोटीको युरोपियन व्यवस्थापन शैलीविरुद्ध मोरक्कन प्रशिक्षक उआहबीको लचिलो अनुशासनको परीक्षा हुनेछ । त्यस्तै आज ब्राजिलको आक्रमणको धार भिनिसियस जुनियर र राफिन्हामाथि केन्द्रित हुनेछ भने मोरक्कोको कम्प्याक्ट रक्षापंक्तिलाई चिर्न एन्सेलोटीले मिडफिल्डमा ब्रुनो गुमाराइस र पाक्वेटाको सिर्जनशीलता प्रयोग गर्ने अनुमान छ ।

अझ मैदानको सबैभन्दा द्वन्द्व त झन भिनिसियस जुनियर र अशरफ हाकिमीबीच हुनेछ । दुवै खेलाडी आफ्नो गतिका लागि परिचित छन् र एकले अर्कालाई निस्तेज पार्न सकेको खण्डमा खेलको बाजी नै उल्टान माहिर छन् । त्यस्तै, मोरक्कोको उच्च प्रेसिङ अघि ब्राजिलको क्रियटिभीटीको परीक्षण हुनेछ ।

समग्रमा ब्राजिलसँग विश्वकपका सबै संस्करण खेल्ने एकमात्र टोलीको गौरव र इतिहास छ, तर पछिल्लो समयको अस्थिरता र चोटले ब्राजिललाई कमजोर बनाएको छ । मोरक्कोसँग भने अघिल्लो संस्करणको परीकथालाई अझैँ नयाँ उचाइमा पुर्याउने अवसर र त्यसका लागि चाहिने आत्मविश्वास पनि छ ।

यस्तोमा २४ वर्षअघि अमेरिकी माटोमै ब्राजिलले उपाधि जितेको संयोग दोहोर्याउने संकेत दिएता पनि मोरक्कोको ‘डार्क हर्स’ हैसियत र पछिल्लो जित निकाल्ने लयले ब्राजिलको त्यो चक्र तोड्न शक्ति पनि पर्याप्त राख्छ । नेपाली फुटबलप्रेमीहरूका लागि आइतबार बिहान पौने ४ बजे सुरु हुने यो ९० मिनेटको सङ्घर्ष निद्रा त्यागेर हेर्न लायक हुनेमा कुनै सन्देह छैन ।





























प्रतिक्रिया