काठमाडौं । वाल्मीकि क्याम्पसको किर्ते कागजातका आधारमा शिक्षा मन्त्रालयले २० भन्दा बढी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिस गरेको पाइएको छ।
छानबिनमा नक्कली कागजात प्रयोग गरी भिसा सिफारिसमा कर्मचारीको संलग्नता र प्रक्रियागत कमजोरी देखिएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहीबार १० जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिस गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिनाअघि पनि किर्ते कागजातकै आधारमा थप १० जनालाई भिसा सिफारिस भएको भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसासमेत जारी गरिसकेको छ।
भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात किर्ते गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टाछुट्टै रूपमा छानबिन अघि बढाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिससम्बन्धी २०७८ सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले बताए ।
अध्यागमनले नक्कली किर्ते कागजात लिएर भिसा सिफारिसका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत प्रक्राउ गरेको जनाएको छ। उनैसँगै एक जना चिनियाँ नागरिक पनि प्रक्राउ परेका छन्। वीरगन्ज घर बताउने विश्वभाषा क्याम्पसका पूर्वअध्यापक शुक्लाले क्याम्पसको कागजात किर्ते गरी भिसा सिफारिस लिने गरेको शिक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
अघिल्लो पटक पनि शुक्लाले वाल्मीकि क्याम्पसमा हुँदै नभएको विषय संस्कृत साहित्यमा आचार्य गर्न भनेर १० जना विदेशी नागरिकका लागि शिक्षा मन्त्रालयबाट भिसा सिफारिस लिएका थिए। किर्ते कागजात प्रयोग गरी भिसा सिफारिस माग गरिएका अधिकांश चिनियाँ नागरिक छन्। अन्यमा कोरियन र रसियन छन्।
विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्नका लागि सम्बन्धित शिक्षण संस्थाले शिक्षा मन्त्रालयसँग भिसा माग गर्ने र मन्त्रालयको सिफारिसमा अध्यागमनले भिसा उपलब्ध गराउने व्यवस्था छ।
प्रारम्भिक छानबिनमा शुक्लाले नै किर्ते कागजात तयार गरी विदेशी नागरिकका लागि भिसा सिफारिस लिने गरेको खुलेको छ । शुक्लाले क्याम्पसमा भर्ना भएको रसिददेखि अन्य कागजात पनि किर्ते गरेर पेस गर्ने गरेको विवरण भेटिएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । विद्यालय शिक्षा महाशाखाअन्तर्गत भिसा शाखाले विदेशी विद्यार्थीलाई अध्ययन भिसा सिफारिस गर्ने व्यवस्था छ ।
विश्वभाषा क्याम्पसका पूर्वप्रमुख भीम रेग्मीका अनुसार शुक्ला २०७३ ताका आंशिक शिक्षकका रूपमा विदेशी विद्यार्थीलाई संस्कृत भाषा पढाउने काम गर्थे। त्यतिबेला क्यानडामा हुने भनिएको ‘संस्कृत सम्मेलनमा’ जान विभागीय प्रमुख रहेको नक्कली पत्र बनाएको भेटिएपछि उनले पढाउन छाडेका थिए। केही वर्षयता विश्वभाषा क्याम्पस जाँदा वाल्मीकिको शिक्षक हुँ र वाल्मीकि जाँदा विश्वभाषामा पढाउँछु भनेर शुक्लाले ढाँट्ने गरेका ती क्याम्पसका प्राध्यापकहरू बताउँछन्।
शिक्षा मन्त्रालयले किर्ते कागजातका आधारमा भिसा सिफारिसमा कर्मचारीको संलग्नताका विषयमा छानबिन थालेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयकै कानुन उपसचिव गोपीकृष्ण रेग्मी र प्रशासन शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।
एक साताभित्र छानबिन प्रतिवेदन बुझाउन समितिलाई समयसीमा तोकिएको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। ‘अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ,’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।





























प्रतिक्रिया