काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवादका कारण देउवा, कोइराला लगायतका शीर्ष नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन्। अद्यावधिक नगरेका सदस्यहरू महाधिवेशनमा सहभागी हुन पाउने कि नपाउने भन्ने विषयमा संस्थापन र इतरपक्षबीच मतभेद देखिएको छ। सदस्यता अद्यावधिक गर्ने म्याद भने बिहीबार नै सकिएको छ।
सदस्यता अद्यावधिक प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वतः निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अद्यावधिक अभियानका संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकालाई अद्यावधिकमा समावेश गरिने बताउँछन्।
नयाँ सदस्यता वितरणको समयसीमा २० असारसम्म तोकिएको छ। ‘त्यस अवधिसम्म छुटेका कसैले अद्यावधिक गर्न चाहे केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ, त्यसपछि मिलाउँछौं,’ उनले भने, ‘नेताहरूका हकमा अझै सहज वातावरण बनाउँछौं।’
पूर्वसभापति देउवा पत्नी आरजु राणासहित विदेशमै छन्। २१ फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर गएका थिए। आरजु पनि दिल्ली हुँदै सिंगापुर गएकी थिइन्। यसबीचमा उनीहरू हङकङ पुगेका थिए। अहिले उनीहरू कहाँ छन् भन्ने सार्वजनिक गरिएको छैन।
प्रत्यक्ष सम्पर्क हुन नसके पनि देउवालाई सदस्यता अद्यावधिकका लागि आग्रह गर्दै आएको महामन्त्री पौडेलले बताए। ‘सबै प्रक्रिया अनलाइनमार्फत भएकाले विदेशबाट पनि सदस्यता अद्यावधिक गर्न सकिन्छ,’ उनले भने।
नेताहरू देउवा, खड्का, कोइरालासँगै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजयकुमार गच्छदार, प्रकाशशरण महत, धनराज गुरुङ, बद्री पाण्डे, ज्ञानेन्द्रबहादुर कार्कीले पनि अद्यावधिक गरेका छैनन्। यस्तै, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, शंकर भण्डारी, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी र जितजंग बस्नेतलगायत पनि यस प्रक्रियाबाट बाहिरै छन्।
कांग्रेसका अनुसार अद्यावधिक गर्न योग्य क्रियाशील सदस्यको संख्या ७ लाख ८२ हजार २०९ छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले अद्यावधिक गरिसकेका कांग्रेस केन्द्रीय कार्यालयको भनाइ छ। केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिअनुसार १ लाख ४८ हजार ३ सय ९ जना अद्यावधिक प्रक्रियामा छन्।
१५ औं महाधिवेशनको संघारमा उठेको सदस्यता अद्यावधिकसम्बन्धी विषय नेताहरूको व्यवस्थापनबारे मात्रै नभएर भाबी नेतृत्वको प्रतिस्पर्धासमेतलाई जोडेर हेर्ने गरिएको छ। महाधिवेशन प्रतिनिधि छनोट र मताधिकारको आधार क्रियाशील सदस्यता रहेकाले अद्यावधिक संस्थापन इतरपक्षले प्राविधिकभन्दा पनि राजनीतिक मुद्दा बनाउँदै आएको छ।
गत २४ जेठमा पूर्वकार्यवाहक सभापति खड्का र ११ जेठमा नेता शेखर कोइरालाले १० पुस २०८२ सम्म नवीकरण गरेका सबैलाई १५ औं महाधिवेशनमा भाग लिने वातावरण बनाइने बताएका थिए।
महामन्त्री पौडेलले अद्यावधिकको समयसीमा अगाडि सबै नेताहरूलाई टेलिफोनमार्फत विशेष आग्रह गरिएको बताए। उनका अनुसार खड्का र कोइराला सम्पर्कमा आएनन्। सम्पर्कमा आएका अरू दर्जनभन्दा बढी नेताले भने आग्रहका बाबजुद पनि अद्यावधिक नगरेको पौडेलको भनाइ छ।
कांग्रेस नेता विमलेन्द्र निधि अद्यावधिक गर्ने विषय नै ‘बेइमानी’ रहेको बताउँछन्। उनले गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएकै बेला १० पुस २०८२ सम्म नवीकरण भएका करिब ६ लाख सदस्य नै कायम राखिनुपर्ने बताए। उनका अनुसार पार्टी एकताका लागि यो नै मुख्य र पहिलो सर्त हो। ‘त्यतिबेला करिब ६ लाखले नवीकरण गरेको तथ्यांक छ ।
कोइरालानिकट नेता बद्री पाण्डे एकताको साँचो सभापति थापाकै हातमा रहेको बताउँछन्। उनी यसअघि १५ औं महाधिवेशनकै लागि भएको नवीकरणलाई कायम राखेर महाधिवेशनमा जानुपर्ने बताउँछन्। नवीकरण गरेका सबैलाई महाधिवेशनमा भाग लिन पाउने वातावरण निर्माण गराउन पनि आफूहरूले अद्यावधिक नगरेको उनको भनाइ छ।





























प्रतिक्रिया