बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशका अध्यक्षमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् । उनी निवर्तमान उपसभापति हुन् । दाङको घोराहीमा शनिबारदेखि जारी अधिवेशनमा सभापति पदका ६ जना प्रतिस्पर्धी थिए । पहिलो चरणको निर्वाचनमा शालिकराम घिमिरेले १ सय ९९ मत प्राप्त गरेका थिए ।
प्रतिस्पर्धामा दोस्रो हुने गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए । रास्वपाको विधानमा सभापति पदको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ । पहिलो चरणमा प्रतिस्पर्धी मध्ये सबै भन्दा धेरै मत ल्याएका शालिकरामलाई दोस्रो मत प्राप्त गर्ने गोपालले समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन नगरी शालिकरामलाई सभापति घोषणा गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार निर्वाचनमा ५ सय ५२ मत खसेको थियो । त्यस अनुसार निर्वाचित हुन कुनै एक उमेदवारले २ सय ७७ मत प्राप्त गर्नुपर्ने विधानमा व्यवस्था भए पनि पहिलो र दोस्रो हुनेको सहमतिमा दोस्रो प्रतिस्पर्धीले पहिलो प्रतिस्पर्धीलाई समर्थन गरेकाले दोस्रो चरणको निर्वाचनमा जान आवश्यक नरहेको बताए ।
‘पहिलो चरणको मतदानबाट दोस्रो धेरै मत प्राप्त उमेदवारले सबै भन्दा धेरै मत प्राप्त गर्ने उमेदवारलाई समर्थन गर्नु भएको छ,’ उनले भने, ‘त्यो भए पनि दोस्रो चरणको निर्वाचनमा जान जरुरी देखिएन, सबैभन्दा बढी मत प्राप्त गर्ने उमेदवारलाई नै सभापति निर्वाचित गरिएको हो ।’
पहिलो चरणको निर्वाचनमा सभापति पदका अन्य प्रतिस्पर्धीहरु रूपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रूपन्देहीका मञ्जु भुसालले ७१ र रूपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए । सबै भन्दा धेरै मत प्राप्त गर्ने घिमिरे प्रदेशका निवर्तमान उपसभापति हुन् । उनी रास्वपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए ।
त्यस्तै गोपाल घिमिरे केन्द्रीय विभागका सदस्य हुन् । प्रतिस्पर्धी मध्ये शालिकराम सभापति रवि पक्षबाट र गोपालले वरिष्ठ नेता वालेन्द्र पक्षबाट उमेदवारी दिएको रास्वपाका कार्यकर्ताहरुले जनाएका छन् । त्यस्तै तेस्रो स्थानको मत प्राप्त गरेका गणेश पौडेल र राजकुमार सुवेदी रवि पक्षका हुन् ।





























प्रतिक्रिया