काठमाडौं । नेकपा (एमाले) ले मिसन जागरण अभियान चलाउने भएको छ । केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित अभियानको विस्तृत व्याख्या सहितको कार्ययोजना पठाएको छ ।
पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पराजयको कारण, पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको छ ।
०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साही भएकाहरू एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको दस्तावेजमा उल्लेख छ ।
“२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो,” अभियानको अवधारणामा भनिएको छ, “आकस्मिक र अस्वाभाविक रूपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।”
पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम प्रचार गर्न नसक्दा त्यसको असर परेको एमालेको ठक्याइ छ । जसका कारण भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरू वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्धेश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको छ ।
उनका अनुसार पार्टीका नेताहरू विगतदेखिको राजनीतिक उतार चढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशा बारे स्पष्ट भएर मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए ।
“पार्टी केन्द्रले पठाएको दस्तावेज सबै कमरेडहरूले विस्तृत अध्ययन गर्नुहुनेछ । पार्टी कमजोर हुनाका कारण, देशी-विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोगजस्ता विषयहरू विस्तृत रूपमा व्याख्या गरिएको छ,” आचार्यले भने, “एमालेले अब गर्नुपर्ने डिजिटल वार, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधिसमेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौँ ।”
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको छ । जसमा ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ रहेका छन् ।
एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ । उसले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ ।
३१ पेजको सो अवधारणापत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ । आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ ।
जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहनेछ ।





























प्रतिक्रिया