ग्वाडालाजारा । स्पेनले विश्वकपमा सोमबार केप भार्डेको सामना गर्दा पूर्ण टिम उपपब्ध रहनेछ । चोटबाट गुज्रिरहेका फरवार्ड भिक्टर मुनोज टिम प्रशिक्षणमा फर्किसकेका छन् । त्यसअगाडि लामिन यामल र निको विलियम पनि टिमसँग जोडिएका थिए । पछिल्लो समय स्पेनलाई चोटग्रस्त खेलाडीले नराम्रोसँग पिरोलेको थियो ।
गत सिजन अन्त्यतिर स्पेनको विश्वकप तयारी चरण घाइते खेलाडीकै कारण बिथोलिएको थियो । मिखेल मेरिनो र फाबिन रुइज पनि चोटमुक्त भइसकेका छन् । समयमै निको नहुनेमा बार्सिलोनाका मिडफिल्डर फेर्मिनो लोपेज मात्र छन् । उनको खुट्टामा अझै समस्या रहेको छ । स्पेनको सबैभन्दा ठूलो चिन्ता यामललाई लिएर थियो । अप्रिलमा स्पेनी ला लिगामा खेल्ने क्रममा उनी घाइते भएका थिए ।
विश्वकप जित्ने प्रयासमा रहेको स्पेनका लागि १८ वर्षीय विङ्गर प्रमुख खेलाडी हुन् । सन् २०१० मा स्पेनले विश्वकप जित्दा यामल दुई वर्षकै मात्र थिए । विलियम भने एथलेटिको बिलबाओका लागि खेल्ने क्रममा मे महिनातिर घाइते भएका थिए । उनीहरू दुवैले सिजनको अन्त्यतिर आ–आफ्नो क्लबका लागि खेलेनन् र विश्वकप अगाडि निको हुनेमै केन्द्रित रहे ।
मे महिनामै ओसासुनाका लागि खेल्ने क्रममा मुनोजलाई चोट लागेको थियो । स्पेनी प्रशिक्षक लुइस डे लाले सम्भवतः मुनोज, यामल, विलियमलाई केप भार्डेविरुद्धको खेलमा प्रयोग गर्ने छैनन् । साउदी अरेबियाविरुद्ध हुने खेलसम्म उनीहरू पूर्णतः तयार भइसक्ने छन् । स्पेनको लिग चरणमा अन्तिम खेल भने उरुग्वेविरुद्ध हुनेछ । यसैको नतिजाले समूह कसले जित्ने भन्ने निर्णय हुनसक्छ ।
सन् २०२२ को विश्वकपमा स्पेन क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएर विश्वकपबाट बाहिरिएको थियो । सन् २०२४ मा भने स्पेन जर्मनीमा भएको युरो जित्न सफल थियो । सन् २०२३ मा स्पेनले नेसन्स लिग पनि जितेको थियो । सन् २०२५ को नेसन्स लिगमा भने उपविजेता रहेको थियो । सन् २०१० यता स्पेन विश्वकपको अन्तिम १६ चरणभन्दा अगाडि बढ्न सकेको छैन ।





























प्रतिक्रिया