परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, भारत र चीनबीच सन्तुलित सम्बन्ध राख्ने प्रयास

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, भारत र चीनबीच सन्तुलित सम्बन्ध राख्ने प्रयास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खनाल चार दिने भ्रमणका लागि चीन जान लागेका हुन्। गत सातामात्रै मन्त्री खनालले भारत भ्रमण गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा रास्वपाको नयाँ सरकार गठनपछि पहिलो पटक परराष्ट्रमन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन्। उनको यो भ्रमणलाई भारत र चीनबीच सन्तुलित सम्बन्ध राख्ने प्रयासका रुपमा हेरिएको छ।

जुन १४ देखि १७ सम्म बेइजिङमा रहँदा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ। ‘नेपाल र चीन सम्बन्ध थप सुदृढ बनाउनुका साथै पारस्परिक सहयोग अघि बढाउने सम्बन्धी पारस्परिक हितका विषयमा छलफल गर्नुहुनेछ’, खनालको भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयले भनेको छ।

चीनमा रहँदा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्। चीन सरकारका उच्च पदस्थ अधिकारीहरुसँग पनि उनले भेट्ने तालिका रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चीन भ्रमणको तालिक निश्चित गरेर मात्रै उनी भारत भ्रमणमा गएको चर्चा त्यतिबेलै भएको थियो। दिल्लीमा उनले आफ्ना भारतीय समकक्षी एस जयशंकरसहित भारत सरकार उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।

बेइजिङमा उनी नेपाली दूतावासले आयोजना गर्ने वैदेशिक लगानी प्रवर्द्धनसम्बन्धी सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ। उनले चिनियाँ व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको परराष्ट्रले जनाएको छ। नेपाली दूतावसले उनलाई सम्मान समेत गर्नेछ। जुन १७ मा उनी स्वदेश फर्किने तालिका छ।

Logo