काठमाडौं । एसईईमा सहभागी करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएकामध्ये एक हजार हाराहारी विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको हो।
यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। ३३ हजार ८ सय ८७ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये ३१ हजार ८ सय ५५ जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ। करिब १ हजार विद्यार्थीको नतिजा उत्तरपुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
तथ्यांकमा २ हजार ३ सय ३५ जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ। तर केहीको मिसिङ (विविध कारण नतिजा स्थगित) तर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एकभन्दा बढी पटक आवेदन दिएका कारण तथ्यांक एक हजारभन्दा बढी देखिएको अधिकारीले बताए। ‘सबैको उत्तरपुस्तिका नभेटिएको भन्ने होइन,’ उनले भने।
सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तरपुस्तिकामा विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको छ। ग्रेडवृद्धि (पूरक) परीक्षाअघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेडवृद्धि दिन पाउने व्यवस्था छ। सोमबारदेखि देशभर पूरक परीक्षा सञ्चालन भएको छ। तर पुनर्योगको आवेदन दिएका विद्यार्थी नतिजा नआउँदा ग्रेडवृद्धि परीक्षा दिन बाध्य भएका छन्।
सर्लाही जिल्लाका कतिपय विद्यार्थी पुनर्योगको नतिजा खोज्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर आइपुगेका छन्। तोकिएको समयमा नतिजा नआएपछि भक्तपुर आएको छात्र रवि शाक्यले बताए। ‘कापी खोज्दै छौं। भेटिएपछि नतिजा आउँछ भनेका छन्। लापरबाही गर्दा दुःख पाइयो,’ उनले भने। मोरङका विद्यार्थी भने पुनर्योगको नतिजा नआएका कारण ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन्।
सरकारले यस पटक परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो। सोही कारण परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेर कार्यालयमा पठाउने व्यवस्था गरिएको थियो। परीक्षा केन्द्रबाट जथाभाबी र लापरबाहीपूर्ण तरिकाले परीक्षण गरेका उत्तरपुस्तिका पोको पारेर पठाएकाले भेट्न समस्या भएको बोर्डका कर्मचारीहरूले बताए। ‘उत्तरपुस्तिका खोज्दै जाँदा झापा, इलाम, मोरङ, सुनसरी, सर्लाहीलगायत जिल्लाका उत्तरपुस्तिका विद्यालयमै भेटियो,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘मगाएका छौं। आएपछि हेरेर पुनर्योगको नतिजा प्रकाशित हुन्छ।’ नभेटिएका उत्तरपुस्तिका खोज्ने काम जारी रहेको पनि कार्यालयले जनाएको छ।
परीक्षण सकेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्तांकसहित नतिजा प्रकाशनअघि नै सबै उत्तरपुस्तिका केन्द्रमा पठाउनुपर्ने व्यवस्था थियो । नतिजा प्रकाशनको हतारले गर्दा सबै उत्तरपुस्तिका प्राप्त हुन नसकेको बोर्डका एक कर्मचारीले बताए। विद्यार्थीले परीक्षा केन्द्र र विषय परिवर्तन गरेका कारण पनि केही उत्तरपुस्तिका नभेटिएको हुन सक्ने बोर्डको अनुमान छ।
‘हरेक दिन ३/४ जना कर्मचारी लगाएर उत्तरपुस्तिका खोज्ने काम भइरहेको छ। उनीहरूले दिनभरि खोज्दा पनि खोजेको एउटा उत्तरपुस्तिका पनि नभेटिएको अवस्था छ,’ उनले भने, ‘जुन पोकामा राख्नुपर्ने हो त्यही पोकामा उत्तरपुस्तिका नराखेपछि भेट्न मुस्किल भइरहेको छ।’ कति उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै छुटेर नभेटिएका हुन्, एकिन गर्न बाँकी रहेको बोर्ड जनाएको छ।
उत्तरपुस्तिका नभेटिएका कारण सोमबार ३ सय ३९ जनाको मात्रै पुनर्योगको नतिजा प्रकाशित गरिएको थियो। जसमा १८ जनाको नतिजा परिवर्तन भएको छ। त्यसअघि ६ पटकमा ३१ हजार ५ सय १६ जनाको पुनर्योगको नतिजा प्रकाशित गरिएको थियो। त्यसमा १ हजार ८ सय १० जनाको नतिजा परिवर्तन भएको भेटिएको छ। यस वर्ष साढे ५ प्रतिशतभन्दा बढीको नतिजा परिवर्तन भएको छ।
पुनर्योगका लागि आवेदन दिने विद्यार्थीको संख्या पनि गतवर्षभन्दा यस पटक बढेको थियो। उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकले प्राप्तांक जोड्न छुटाएर थोरै अंक दिएको, प्राप्तांक इन्ट्री गर्न त्रुटि भएर थोरै अंक दिएको जस्ता समस्या भेटिएका थिए। शिक्षक र बोर्डका कर्मचारीले परीक्षण र नतिजा प्रकाशनका क्रममा गरेको त्रुटिका कारण मर्कामा विद्यार्थी र अभिभावक परेका छन्। पुनर्योग गर्न ५ सय रुपैयाँ शुल्क बुझाएर आवेदन दिनुपर्ने व्यवस्था छ। केहीले उत्तरपुस्तिका नभेटिँदा पुनर्योगको नतिजा पनि प्राप्त गर्न सकेका छैनन्।
२९ वैशाखमा सार्वजनिक एसईईको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भए भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भएका थिए। अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ।





























प्रतिक्रिया