काठमाडौं । किलियन एमबाप्पेले गोलको कीर्तिमान बनाएको दिन फ्रान्सले फिफा विश्वकप २०२६ को मंगलबार राति भएको खेलमा सेनेगललाई ३–१ गोलले पराजित गरेको छ ।
पहिलो हाफ निकै निराशाजनक रहेको थियो । दुवै टोलीले खासै गतिलो आक्रामण बुन्न सकेका थिएनन् । तर दोस्रो हाफको अन्तिममा गोलको वर्षा भएको थियो ।
६६ औं मिनेटमा फ्रान्सका फरवार्ड एमबाप्पेले गोलको खडेरीलाई तोडेका थिए । माइकल ओलिसेको पासमा उनले फ्रान्सका लागि कीर्तिमानी गोल गरेका हुन् ।
ब्राडली बारकोलाले मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेपछि फ्रान्सले २–० को अग्रता लिएको थियो । ओसमन डेम्बलेको स्थान लिन उनी ८० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
इन्जुरी टाइममा सेनेगलका इब्राहिम एमबायेले गोल गरेको केही क्षणमै एमबाप्पेले आफ्नो दोस्रो गोल गरेपछि फ्रान्स खेलमा ३–१ ले अगाडि रह्यो ।
सेनेगलसँगको खेलमा २ गोलसँगै एमबाप्पेले फ्रान्सबाट आफ्नो गोल संख्या ५८ पुर्याएका छन् । उनले फ्रान्सका लागि यसअघि सर्वाधिक ५७ गोल गर्ने ओलिभर जिरुडको कीर्तिमानलाई उछिनेका छन् ।
आजका दुई गोलसँगै २७ वर्षीय एमबाप्पेले विश्वकप इतिहासमा १४ गोल पुर्याएका छन् । एम्बाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलभन्दा २ गोलले मात्र पछाडि छन् ।





























प्रतिक्रिया