काठमाडौं । गत जेठसम्ममा वार्षिक लक्ष्यको ७६.९१ प्रतिशत अर्थात् ९ खर्ब ८ अर्ब २६ करोड रुपैयाँ चालु खर्च भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको चालु खर्चभन्दा बढी हो।
यस वर्ष सरकारले चालु खर्च र अन्य विविध शीर्षकबाट केही रकम निर्वाचनका लागि खर्च गरेको छ। यसकारण पनि चालु खर्च बढेको हो। २०८१ जेठसम्म चालु खर्च ८ खर्ब ५१ अर्ब ५८ करोड अर्थात् वार्षिक लक्ष्यको ७४.६६ प्रतिशत थियो।
गएको ११ महिनामा सरकारी ऋणको साँवा भुक्तानी र सरकारी संस्थानमा लगानी (वित्तीय व्यवस्था) मा मात्र सरकारले ३ खर्ब ५ अर्ब ७१ करोड (वार्षिक लक्ष्यको ८१.४७ प्रतिशत) भुक्तानी गरेको छ । २०८१ जेठसम्म यस शीर्षकमा सरकारले २ खर्ब ८७ अर्ब ९७ करोड अथवा लक्ष्यको ७८.४१ प्रतिशत खर्चिएको थियो। चालु आर्थिक वर्ष सरकारले वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ।
यस वर्ष गएको ११ महिनासम्म सरकारले २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको ४२.८२ प्रतिशत हो। यस वर्ष सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य तय गरेको थियो। गत आर्थिक वर्षको जेठसम्म सरकारले १७ अर्ब ८ करोड ५४ लाख (लक्ष्यको ३२.६५ प्रतिशत) अनुदान प्राप्त गरेको थियो ।
यस वर्षको ११ महिनामा सरकारको आम्दानी र खर्चको अवस्था हेर्दा करिब २ खर्ब ३६ अर्ब १६ करोडले सरकारी वित्त घाटामा छ। उक्त अवधिमा सरकारले ११ खर्ब १० अर्ब ४९ करोड आम्दानी गर्दा १३ खर्ब ४६ अर्ब ६५ करोड खर्च गरेको छ । गत आर्थिक वर्षको जेठसम्म करिब २ खर्ब ३८ अर्ब ५७ करोडले सरकारी वित्त घाटामा थियो।
चालु आर्थिक वर्षको ११ महिनासम्म १० खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको ७३.०६ प्रतिशत हो। यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
जेठसम्म संकलन भएको राजस्व गत वर्षको सोही अवधिको तुलनामा सामान्य बढी हो। गत आर्थिक वर्षको जेठसम्म सरकारले १० खर्ब १५ अर्ब ६९ करोड रुपैयाँ लक्ष्यको ७१.५६ प्रतिशत राजस्व संकलन गरेको थियो। भन्सारबाट संकलन हुने राजस्व ८९ प्रतिशत हाराहारीमा प्राप्ति भए पनि अरू स्रोतबाट संकलन हुने राजस्व कम उठ्दा लक्ष्यअनुसार संकलन नभएको अर्थ मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया