मेसीको जादुयी प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

मेसीको जादुयी प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनको मदतले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२६ मा बुधबार शानदार सुरुआत लिएको छ । कानसास सिटी स्टेडियममा मेसीले उत्कृष्ट ह्याट्रिक गरे र त्यसमै टिकेर अर्जेन्टिनाले समूह ‘जे’ को खेलमा अल्जेरियालाई ३–० ले हरायो ।

यससँगै अर्जेन्टिना तीन अंकमा समूहका शीर्षमा रह्यो । मेसीले १७, ६० र ७६ औं मिनेटमा एक एक गोल गरे । अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार पहिलो गोलमा परिणत भएको थियो ।

एलेक्स म्याक एलिस्टरले गरेको सुरुआती प्रहार अल्जेरियाका गोलरक्षक लुका जिदानले रोके पनि त्यसमै फर्केको बलमा मेसीले दोस्रो गोल गरे । अल्जेरियाको पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको मेसीको प्रहार तेस्रो गोलमा परिणत भएको हो ।

यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ र उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । मेसीले यसै खेलमा अर्जेन्टिनाका लागि दुई सयौं क्याप जिते । यस्तै उनी छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी पनि बने ।

Logo