इजरायलले लेबनानमा आक्रमण गरेपछि ट्रम्पद्वारा नेतन्याहूको आलोचना

इजरायलले लेबनानमा आक्रमण गरेपछि ट्रम्पद्वारा नेतन्याहूको आलोचना

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । इरान र अमेरिकाबीच युद्ध रोक्ने सहमति भएपछि इजरायलले लेबनानमा ८४ पटक युद्धविराम उल्लंघन गरेको इरानले आरोप लगाएको छ । इजरायली आक्रमणहरू यसैगरी जारी रहे त्यसको कडा जवाफ दिने इरानले चेतावनी दिएको छ ।

दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणमा चारजनाको मृत्यु भएपछि इरानको यो चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आलोचना गर्दै उनलाई लेबनानको विषयमा अझ जिम्मेवार बन्न आग्रह गरेका छन् ।

ट्रम्पले इजरायलको सैन्य रणनीतिको सार्वजनिक रूपमा आलोचना गर्दै लडाकूहरूको खोजी गर्ने बहानामा आवासीय भवनहरूमा बमबारी गर्नु उचित नरहेको बताएका छन् ।

हालैका दिनहरूमा बेरुतमा भएका इजरायली आक्रमणप्रति ट्रम्पले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । ती आक्रमणहरूले इरानसँग हुन लागेको शान्ति सम्झौतालाई जोखिममा पार्न सक्ने उनको चिन्ता छ ।

इरान समर्थित लेबनानी समूह हिजबुल्लाहविरुद्ध इजरायलले लामो समयदेखि सैन्य अभियान सञ्चालन गर्दै आएको छ । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले भने, “धेरै मानिसहरूको मृत्यु भइसकेको छ । तपाईंले कुनै एक व्यक्तिको खोजी गर्दा प्रत्येक पटक पूरै अपार्टमेन्ट भवन ध्वस्त पार्नु आवश्यक हुँदैन । किनकि त्यहाँ धेरै मानिसहरू बस्छन् र उनीहरू सबै हिजबुल्लाहका सदस्य होइनन् ।”

विगत केही समययता ट्रम्प र नेतन्याहूबीचको मतभेद थप सतहमा देखिएको छ । ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिने तयारी गरिरहेकै बेला इजरायलले बेरुतमा आक्रमण गरेपछि क्षेत्रीय तनाव थप बढेको थियो ।

यद्यपि ट्रम्पले नेतन्याहूसँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ रहेको दाबी गर्दै भने, “अमेरिकाबिना इजरायलको अस्तित्व हुने थिएन । म बिना पनि इजरायल यस्तो अवस्थामा रहने थिएन, किनकि अन्य कुनै पनि राष्ट्रपतिले इजरायलका लागि मैले जति काम गर्न तयार थिएनन् ।”

ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको केही समयपछि ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल खाताबाट राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिसहितको भिडियो क्लिप पनि सार्वजनिक गरिएको थियो ।

Logo