काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसले चुनाव हार्ने कारण के होला ? यसको जवाफ एक शब्दमा भन्न सकिदैन । तर, धेरै विश्लेषकहरुले एकै शब्दमा जवाफ दिन थालेका छन् । उनीहरुका अनुसार कांग्रेसले चुनाव हार्ने प्रमुख कारण हुन् शेरबहादुर देउवा । देउवा अर्थात कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ।
तानाशाही कम्यूनिष्ट पार्टीको अध्यक्ष वा महासचिव जस्तैगरी एकल रुपमा प्रजातान्त्रिक पार्टी चलाएको आरोप पनि छ, देउवा माथि । सल्लाहकारको नाममा पत्नी आरजु देउवालाई शक्तिशाली बनाएर राख्नु देउवाको ठूलो कमजोरी मानिन्छ । पार्टीमा पद्धतिको विकाश गर्नुको सट्टा ‘किचन क्याविनेट’का सीमित नेताले पार्टी र सरकार चलाउनु पनि देउवाको कमजोरी पक्ष हो ।
विना सल्लाह ठूला निर्णय लिनुलाई पनि देउवाको कमजोरी मानिन्छ । नियुक्ति, सरुवा, टिकट वितरण आदिमा पैसाको खेलो फड्को पनि उनलाई लाग्दै आएको आरोप हो । जनताको पक्षमा कुनै काम गर्न नसक्नु, विकासका एजेन्डा भन्दा पनि अरुलाई गाली गर्ने काममा सीमित हुनुले पनि चुनावमा कांग्रेसले पराजय भोग्नु परेको हो ।
सभापति (शेरबहादुर देउवा) ले राजिनामा दिनु पर्छ भन्ने माग राखे, कांग्रेसका लोकप्रिय युवा नेता गगन थापाले । ‘होइनभने हस्तक्षेप गर्ने’ सम्मको राजनीतिक धम्की मिडिया मार्फत पठाए गगनले । निर्वाचनको परिणाम आउँदैगर्दा नेपाली कांग्रेसले लज्जाजनक हार बेहोर्न थालेपछि गगनको यो आक्रोश सायद अस्वभाविक छैन । उनको आशय हो, मूख्य नेतृत्वका कारण कांग्रेसले हार बेहोरेको हो ।
त्यसैगरी कांग्रेसका बौद्धिक नेता मानिने मनमोहन भट्टराईले विशेष माहाधिवेशन गरेर नेतृत्व परिवर्तन गरिनु पर्ने तर्क राखेका छन् । उनको पनि आशय पार्टी सभापति शेरबहादुर देउवाकै कारण कांग्रेसले चुनाव हारेको हो ।
मोटामोटी रुपमा कांग्रेसले चुनाव हार्नुका ५ कारण यस्ता छन् ।
भिडियो हेर्नुहोस्
१. चुनावी एजेन्डाको पहिचान गर्न नसक्नु
‘बाम गठबन्धनले तानाशाही लाद्ने भएकाले जनताले प्रजातन्त्र जोगाउन कांग्रेसलाई भोट दिनु पर्छ ।’ हो यही थियो नेपाली कांग्रेसको चुनावी एजेन्डा । बामपन्थीहरुको संभावित जीतले ल्याउने अधिनायकवादको विरुद्धमा कांग्रेसलाई मतदान गर्नुपर्छ भन्ने उसको जिकिर थियो । प्रश्न उठ्छ, के यो एजेन्डा उपयुक्त थियो ?
विकासका कुरा, जनजीविकाको सवाल, राष्ट्रियताको प्रश्नमा कांग्रेसको सोच आदिलाई वास्ता नगरी कांग्रेस किन कम्यूनिष्टहरुको एकता विरोधी भएर मात्र देखियो ? नेपाली कांग्रेसलाई जनताले नपत्याउने कारण सायद यो पनि हुनुपर्छ । किनभने प्रजातन्त्र देखि लोकतन्त्रको आन्दोलनमा कांग्रेससँगै छन् कम्यूनिष्टहरु पनि ।
मनमोहन अधिकारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली मध्ये प्रधानमन्त्री भएका कुनै पनि कम्यूनिष्ट नेताले तानाशाही चरित्र देखाएका छैनन् । उनीहरु एकदिन पनि बढी कुर्सीमा टाँसिन खोजेका छैनन् । हो, यही कारण उनीहरुलाई आरोप लगाईए जस्तो संभावित अधिनायकवादको त्रासमा जनता परेनन् । कांग्रेसले दिएको तर्क अविश्वासिलो सावित भयो । कम्यूनिष्टहरु तानाशाही हुन्छन् भन्ने कुरा नेपाली जनताले नदेखेको हुनाले पनि कांग्रेसको आरोप कल्पनामा सीमित भयो ।
२. प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा अलोकप्रिय हुनु
प्रश्नको जवाफ दिन नसक्ने, प्रश्न सोध्नेलाई हप्काउने, सुशासनको प्रत्याभूती नदिने, खराव छवी भएका प्रधानमन्त्री शेरबहादुर देउवा अलोकप्रिय शीर्ष नेता हुन् । वर्तमानमा नेपाली कांग्रेसको लगाम पनि उनकै हातमा छ । ‘सात पटकसम्म प्रधानमन्त्री हुन्छु’ भनेर उनले गरेको आत्मकेन्द्रीत भविश्यबाणी समेत जनताले मन पराएनन् । ४ पटक प्रधानमन्त्री हुँदा केही पनि दिन नसकेको यथार्थ हुँदा–हुँदै फेरि ३ पटक किन प्रधानमन्त्री बनाउने भन्ने आम प्रश्नको जवाफ उनीसँग थिएन ।
३. लोकतान्त्रिक गठबन्धनलाई नाममा सीमित गरिनु
बाम गठबन्धनको सिको गर्दै नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन वनाउने घोषणा गरेकै हो । तर त्यो गठबन्धन नामको मात्र थियो । लोकतान्त्रिक गठबन्धनमा समेटिएको भनिएका मधेसवादी र राप्रपासँग पनि उसले विभिन्न ठाऊँमा प्रतिस्पर्धा गरेको थियो । जस्तो धनुषामा बिमलेन्द्र निधिले राजपाका राजेन्द्र महतोसँग पराजय बेहोरे । यसैगरी झापामा कांग्रेसका कृष्ण सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग चित खाए । यी दुई उदाहरणले लोकतान्त्रिक गठबन्धन चाहिं नाममा सीमित थियो भन्ने पुष्टि गर्छ । के हुँदा गठबन्धन हुन्छ भन्ने सामान्य जानकारी समेत नरहेको देखियो, कांग्रेस नेतृत्वलाई ।
४. मधेसी दललाई सम्मानजनक सीट दिएर गठबन्धन बनाउन नसक्नु
मधेसवादी दलहरु नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्न चाहन्थे । उनीहरुको एउटै भित्री माग थियो, ५० प्रतिसत सीट आफूहरुले पाउनु पर्ने । तर नेपाली कांग्रेसले मधेसवादीहरुलाई ५० प्रतिसत दिने आँट गर्न सकेन । ५० प्रतिशत दिने भन्ने मात्र सोच्यो, ५० दिंदा आफूले ५० पाउने हेक्का राखेन । यदी मधेसी दलसँग ५० प्रतिशत सीट सुरक्षित गर्न सकेको भए नेपाली कांग्रेसले २ नं प्रदेशवाट सम्मानजनक सीट ल्याउँथ्यो । कांग्रेस नेतृत्व यती सामान्य अंक गणितमा समेत फेल भयो । यसो गर्न सकेको भए बाम गठबन्धन कमजोर हुन्थ्यो नै । २ नं प्रदेश समेत ‘क्लिन स्वीप’ हुन्थ्यो ।
५. टिकट वितरणमा जित्ने संभावना भएकालाई भन्दापनि आफ्नो गुटकालाई प्राथमिकता दिनु
भनिन्छ, नेपाली कांग्रेसको नेतृत्व लिएपछि सभापति शेरबहादुर देउवा आफ्नो पहुँचलाई गाऊँ–गाऊँसम्म स्थापित गर्न चाहन्छन् । त्यही कारण हरेक आन्तरिक वा खुला चुनावमा उनी आफ्ना गुटका सदस्यलाई मात्र प्रतिनिधित्व गराउन चाहन्छन् । गत स्थानीय चुनावमा उनले यस्तै गर्दा पनि राम्रै जीत निकालेका थिए । तर यस चुनावमा उनको त्यो फर्मुला फेल खाएको छ ।
टिकट वितरणमा पैसाको चलखेल भएको, जनता माझ प्रियलाई भन्दा पनि आफूलाई सहयोग गर्नेलाई मौका दिएको, ठेकेदार र दलाललाई पार्टीमा प्राथमिकता दिएको आदि आरोप पनि सभापति देउवा माथि छ । अर्थात सही ब्यक्तिलाई सही ठाऊँ दिइएन ।
नेपाली कांग्रेसले बाम गठबन्धनका कारण चुनाव हारेको हो कि जनताले नै छोडेका हुन् ? समानुपातिक मत गनिसक्दा यस प्रश्नको जवाफ फेला पर्ने छ । तर, पहिलो पार्टीको रुपमा स्थापित कांग्रेस प्रत्यक्षमा तेस्रो पार्टीको रुपमा खुम्चिनुले नेतृत्वको कमजोरी भने राम्रैसँग झल्काउँछ । चुनावलाई संसारैभरी अत्यन्तै ‘टेक्निकल गेम’ मानिन्छ । यस गेममा यो पटक नेपाली कांग्रेस चुकेकै हो ।































प्रतिक्रिया