काठमाडाैं । ब्राजिलका भेट्रान स्टार फरवार्ड नेयमारको मैदान फिर्ता हुने प्रतीक्षा अझै केही समय लम्बिने भएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा ब्राजिलले शुक्रबार हाईटीको सामना गर्दैछ, जसमा नेयमार खेल्ने छैनन्। ३४ वर्षका सान्टोस स्टार नेयमारको स्वास्थ्य अवस्था र पिँडौलाको चोटलाई ध्यानमा राख्दै ब्राजिलले उनलाई यो खेलमा विश्राम दिने निर्णय गरेको हो।
बिहीबार ब्राजिलियन फुटबल कन्फेडेरेसनले एक आधिकारिक विज्ञप्ति जारी गर्दै नेयमार टोलीसँग फिलाडेल्फिया भ्रमणमा नजाने पुष्टि गरेको छ। पाँच पटकको विश्व विजेता ब्राजिलको मेडिकल टोलीले आफ्ना मुख्य खेलाडीलाई मैदानमा उतार्न कुनै हतार नगर्ने नीति लिएको छ। नेयमार गत मे १७ तारिखमा ब्राजिलियन लिग खेल्ने क्रममा दाहिने पिँडौलाको चोटबाट ग्रसित भएका थिए र उनले यस विश्वकपमा अहिलेसम्म एक खेल पनि खेल्न पाएका छैनन्।
ब्राजिलियन फुटबल महासंघका अनुसार नेयमार टोलीसँग यात्रा गर्नुको साटो न्यूजर्सीमै रहनेछन्। त्यहाँ उनले द रिज होटल र कोलम्बिया पार्क ट्रेनिङ सेन्टरको उत्कृष्ट सुविधाहरू प्रयोग गर्दै आफ्नो पुनरागमन प्रक्रियाको अन्तिम चरणको अभ्यास गर्नेछन्। बुधबार उनले केही समय मैदानमा बलका साथ छुट्टै अभ्यास गरे पनि पूर्ण रूपमा फिट हुन बाँकी छ।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी र उनको प्राविधिक टोली नेयमारको चोट बल्झिने खतरा मोल लिन चाहँदैनन्। मिडिया रिपोर्टहरूका अनुसार ब्राजिलले आफ्ना यी सर्वकालीन शीर्ष गोलकर्ता (७९ गोल) लाई समूह चरणका खेलहरूमा जोगाएर नकआउट चरणसम्म पूर्ण फिट बनाउने रणनीति बनाएको छ।
विश्वकपको आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरीमा रोकिँदै अंक बाँडेको ब्राजिललाई अघिल्लो चरण प्रवेशका लागि हाईटीविरुद्धको खेल निकै महत्त्वपूर्ण छ। पहिलो खेलमा खड्किएको आक्रामक धारलाई सुधार्दै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछ। ब्राजिलले समूह चरणको आफ्नो अन्तिम खेल जुन २४ मा मियामीमा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ ।





























प्रतिक्रिया