न्युयोर्क । विश्वकपमा सहभागी टिमका जर्सीले खेलाडीको पसिना पुछ्ने काम मात्र गर्दैन, यसले रगत र आँसु पनि आफूभित्र लुकाउने प्रयास गर्छ। अनि यी जर्सीले अनेक फरक कथा पनि भनिरहेको छ। यसको अर्थ ऐतिहासिक र सांस्कृतिक दुवै हुनसक्छ। यतिमात्र होइन, केही त विवादास्पद पनि छन्। विश्वकप २०२६ का जर्सीले साँच्चै के भनिरहेको छ त?
केप भार्डेले यसपल्ट विश्वकपमा डेब्यु गरिरहेको छ। यो विश्वकप खेल्ने जनसंख्या र क्षेत्रफल दुवै अर्थमा अहिलेसम्मकै सबैभन्दा सानो देश हो। यसका ५ लाख २५ हजार जनता त्यस्ता १० टापुमा बस्छन्, जसको निर्माण ज्वालामुखी विष्फोटबाट भएको थियो। यसको नीलो र सेतो जर्सीमा अंकित त्रिभुजले भन्छ, यी टापुलाई एक आपसमा जोड्ने हवाई उडानको बाटो।
यसभित्र लुकेको अर्थ हो, यो विश्वकपमा त्यहाँको जतनालाई एकजुट बनाएको छ। केप भार्डे नै त्यो टिम हो, जसले अहिले स्पेन जस्तो ठूलो देशलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको छ। बेल्जियमको जर्सी भने बहुरंगी छ। त्यसैले भन्न सुरु भएको छ, यो जर्सी मात्र होइन, यो भन्दा अझ धेरै ठूलो हो।
बेल्जियमका एक चित्रकार २० औं शताब्दीका छन्। उनको नाम हो, रेने म्याग्रिटे। उनले आफ्नो कलामा जहिले पनि आँखा र मस्तिष्कलाई जोड्ने प्रयास गर्थे। उनकै सोचमा तयार पारिएको बेल्जियमको जर्सीले भन्छ, यो मानवीय कल्पनाको एक अंश हो। विश्वकपको जर्सीमध्ये सबैभन्दा विवादास्पद भने हाइटीको रह्यो।
सन् १८०३ मा हाइटीले आफ्नो स्वतन्त्रताको युद्ध लडेको थियो। त्यसकै अन्तिम युद्धको क्षण हाइटीको जर्सीमा थियो। हाइटीको स्वतन्त्रमा जतिले पनि आफ्नो त्याग र तपस्या लगाए, तिनै लागि यो जर्सी समर्पित थियो। तर फिफालाई के लाग्यो भने यो अलिकति धेरै नै राजनीतिक भयो, त्यसैले यही जर्सी लगाएर खेल्न भने दिइएन।
त्यसैले हाइटीले त्यस्तो जर्सी बनाउनु परेको थियो, जसमा नीलो रंगको बाहुल्य थियो। अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियनका रूपमा यो विश्वकप खेल्दै छ। यसले लगाउने यसपल्टको जर्सीको पनि विशेष कथा छ। अल्जेरियाविरुद्ध आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले जुन जर्सी लगाएको थियो, त्यसमा आकाशे रंगका तीन धर्सा थिए।
त्यसले अर्जेन्टिनाले अहिलेसम्म जितेका तीन विश्वकपको प्रतिनिधित्व गरिरहेको थियो। ती सन् १९७८, १९८६ र २०२२ को विश्वकप थियो। त्यस अर्थमा अर्जेन्टिनाले आफ्नो जर्सीमा फुटबलकै अहिलेसम्मका ठूलो उपलब्धिलाई अंकित गर्न खोजेको छ। अर्जेन्टिनाको दोस्रो रोजाइको जर्सी भने नीलो छ र यसले ब्युनस आयर्समा प्रचलित रंग लगाउने शैलीको प्रतिनिधित्व गर्छ।
अर्जेन्टिना जस्तै फ्रान्स नै त्यस्तो देश हो, जसलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मान्न सकिन्छ। यसपल्ट फ्रान्स लगातार तेस्रोपल्ट फाइनल खेल्ने उद्देश्यमा छ। यही फ्रान्सेली टिमको दोस्रो रोजाइको जर्सी विशेष छ र यसको सम्बन्ध अमेरिकासँग छ। आखिरमा यही अमेरिकामा त यसपल्टको विशवकप भइरहेको छ, तीन सह–आयोजकमध्ये एक।
यो जर्सीले धेरै अगाडि फ्रान्सले अमेरिकालाई उपहार स्वरूप दिएको स्वतन्त्रताको प्रतिमा अंकित छ। सन् १८८६ मा फ्रान्स र अमेरिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउन यो मूर्ति उपहार दिइएको थियो। अनि यो मूर्तिको नारा पनि आफैंमा गजब छ र त्यसले भन्छ, ‘हामी एक आपसमा फरक छौं, त्यसैले त एकजुट पनि छौं।’
यस्तै इरानको पहिलो रोजाइका सेतो जर्सीको माथितिर विशेष प्रजातिको चितुवा छ। यो असाध्यै दुर्लभ चितुवा रहेको छ। डर छ, यो कतै चाँडै लोप हुन त होइन? इरानले लामो समयदेखि यसलाई संरक्षण गर्ने प्रयास गरिरहेको छ, तर गाह्रो भइरहेको छ। सन् १९९० सम्म पनि यस्तो चितुवा चार सय हाराहारीमा थिए, अहिले ७० को डरलाग्दो संख्यामा घटिसकेको छ।
यसपल्टको विश्वकपमा अहिलेसम्म प्रयोगमा आएका जर्सीमध्ये सबैलाई लोभ्याएको जर्सी नर्वेको पनि हो। अहिलेसम्मकै सबैभन्दा धेरै तिख्खर छ, यो जर्सीमा रातो रंगको बाहुल्य छ। यसमा प्रयोग भएको अक्षर जुन छन्, त्यसले युरोपका सयौं हजारौं वर्ष पुराना लिपिको प्रतिनिधित्व गरिरहेको छ। नर्वेलाई आफ्नो इतिहासमा गर्व छ, त्यसैले त्यसैलाई देखाउन चाहेको छ।
कोलम्बियाको जर्सीमा प्रयोग भएको पहेँलो रंग पनि उत्तिकै गाढा देखिन्छ। यसलाई पुतलीको ढाँचामा बनाइएको छ र यो आफ्नो देशको नोबल पुरस्कार विजेता ग्याब्रियल गार्सियाप्रति समर्पित छ। तीन सह–आयोजक देशमध्ये मेक्सिकोको जर्सीले एज्टेक क्यालेन्डरलाई प्रतिनिधित्व गरिहरको छ। यो सूर्यले तय गर्ने यात्रामा आधारित छ।
साउदी अरेबियाको हरियो जर्सीमा विन्दुहरू अंकित छन्। साउदी अरेबियाको घरहरूमा धेरै अगाडिदेखि यसरी नै रंग लगाउने चलन छ। अनि ब्राजिलको दोस्रो रोजाइको नीलो र कालो रंगको जर्सीले एमेजन जंगलमा पाइने भ्यागुतोलाई प्रतिनिधित्व गरिरहेको छ। यो विषालु भ्यागुतो हो र यसलाई के थाहा छ भने पाँचपल्टको च्याम्पियन देश फुटबलको मैदानमा कति धेरै डरलाग्दो छ भनेर। एपीबाट





























प्रतिक्रिया