ह्युस्टन । स्विडेनले विश्वकपमा शनिबार हुने समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ। यो हुनेछ, आत्मविश्वासी टिमविरुद्ध निरास प्रतिद्वन्द्वीको भिडन्त। स्विडेनले आफ्नो विश्वकप इतिहासमा ८८ वर्षयता सबैभन्दा उत्कृष्ट सुरुआत लिएको छ। यस क्रममा टोलीले ट्युनिसियालाई सजिलै ५–१ ले हराएको थियो।
नेदरल्यान्ड्सले भने जापानसँग २–२ को बराबरी खेलेको थियो। डच टोलीले त्यस खेलमा दुईपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको थिएन। स्विडेन युरोपेली छनोटमा त्यस्तो टिम रहेको थियो, जसले प्लेअफको बाटो तय गर्नुपरेको थियो। त्यसैले पहिलो खेलको जित स्विडेनका लागि ठूलो राहतका रूपमा आएको छ।
यसको ठीक विपरीत डच टिम भने पूरा छनोटमै अपराजित थियो। तर अहिलेको सुरुआतले प्रशिक्षक रोनाल्ड कोमनको रणनीतिमाथि पनि प्रश्न उठेको छ। त्यस खेलमा जापानले ८९ औं मिनेटमा दोस्रो बराबरी गोल फर्काउनु अगाडि कोमनले रक्षात्मक रणनीति त्यागेको थियो। यदि टिमले अब स्विडेनको सामना गर्दा आफ्नो प्रदर्शनमा ब्यापक सुधार गर्नुपर्नेछ।
स्विडेनले भने इंग्लिस प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा अहिले सुधारिएको प्रदर्शन गरिरहेको छ। सन् १९३८ यता स्विडेनले विश्वकपको एकै खेलमा यति धेरै गोल गरेको यो नै पहिलो पटक थियो। अझै पनि डच टिमसँग त्यस्ता खेलाडी छन्, जसले कुनै पनि बेला खेल आफ्नो पक्षमा पार्न सक्छ। जस्तो कि कोडी गाक्पो, फ्रान्क डे जोङ र डेन्जेल डम्फ्राइज।
यी सबै खेलाडी जापानविरुद्ध लगभग फिक्का रहे। नेदरल्यान्ड्सलाई आफ्ना उच्च गोलकर्ता मेम्फिस डिपेको स्थितिलाई लिएर पनि चिन्ता रहनेछ। जापानविरुद्ध उनले वेञ्चबाट आएर खेलेका थिए, तर प्रभावशाली देखिएनन्। चोटबाट पूर्णतः मुक्त हुन संघर्षरत यी खेलाडी अन्यथा स्विडेनविरुद्धको रक्षापंक्ति तोड्न भने सक्षम हुन सक्छन्।
उनलाई लिएर कोमनले पहिलो खेलपछि भनेका छन्, ‘मेम्फिस अब तयार छन्। मलाई लाग्छ, उनी मैदानमा उत्रन आतुर छन्। तर जापानविरुद्ध पूरा टिमले नै थप आक्रमण बुन्न सकेन। मलाई के पनि राम्रोसँग थाहा छ भने टिमको प्रदर्शनमा सुधार आवश्यक छ।’ स्विडेन वास्तवमै उत्साहित रहनुको एउटा अर्को कारण पनि छ।
नेदरल्यान्ड्सविरुद्धको खेल जित्ने हो भने स्विडेन समूहको शीर्षस्थानमा रहेर लिग चरण टुंग्याउने सम्भावना हुनेछ। पोर्टरले गत अक्टोबरमै मात्र टिम सम्हालेका थिए। तर उनी आएयता टिम विश्वकपका लागि मात्र छनोट भएको छैन, टिमकै समग्र प्रदर्शनमा पनि सुधार आएको छ। फेरि स्विडेनसँग पनि एलेक्जान्डर इसाक र भिक्टोर ग्योकेरेस जस्ता खेलाडी नभएको पनि होइन।
यी दुई खेलाडीकै काँधमा नेदरल्यान्ड्सको रक्षापंक्ति तोड्ने जिम्मेवारी हुनेछ। जापानविरुद्ध पहिलो गोल गर्नेमा कप्तान भर्जिल भान डाइक नै थिए। तर उनी आफै रक्षापंक्तिमा भने अलिकति हतास देखिए। यासिन अयरीले स्विडेनका लागि पहिलो खेलमा दुई गोल गरेका थिए र यी उदीयमान खेलाडी फेरि एकपल्ट टिमका लागि महत्त्वपूर्ण खेलाडी रहनेछन्।
प्रशिक्षक पोटर भन्छन्, ‘अहिले टिममा धेरै सकारात्मक पक्ष रहेका छन्। हामीले जसरी प्रतियोगितामा सुरुआत गरेका छौं, त्यसले हामीलाई उत्साही पनि बनाएको छ । तर हामी यसमै मात्र रमेर बस्नु ठीक हुन्न। अब हामी अर्को खेल खेलिरहेका छौं र त्यसमा प्रतिद्वन्द्वी पनि फरक रहनेछ। हाम्रो लागि अबको खेलको ठूलो महत्त्व र अर्थ दुवै छ।’ रोयटर्सबाट





























प्रतिक्रिया