खर्बपति इलन मस्क १४ सन्तानका पिता

खर्बपति इलन मस्क १४ सन्तानका पिता

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रविधिको दुनियाँका सम्राट्का रूपमा परिचित एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर (खर्बपति) बनेका छन्। स्पेसएक्स, टेस्ला, एक्स र ग्रोक कम्पनीका मालिक मस्कसँग १३ खर्ब (१.३ ट्रिलियन) अमेरिकी डलर बराबर सम्पत्ति रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ।

अक्टोबर २०२५ मा मस्कको कुल सम्पत्तिले पहिलो पटक ५ सय अर्ब डलरको आँकडा पार गरेको थियो। यति धेरै सम्पत्ति आर्जन गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन्। यी सबै कम्पनीका सेयर सर्वसाधारणका लागि जारी भएपछि मूल्य बढेर उनी ट्रिलिनियर बनेका हुन्।

राजनीतिमा पछिल्ला वर्षमा मस्कको प्रभाव बढ्दो छ। उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेका थिए। दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका मस्क सानैदेखि व्यावसायिक रूपमा कौशल छन्। आफ्ना दाजुसँग मानिसका घरघरमा चकलेट र अन्डा बेच्न जाने मस्कले १२ वर्षको उमेरमै कम्प्युटर गेम डेभलप गरेका थिए। आमा–बाबुको डिभोर्सका कारण आफ्नो बाल्यकाल जटिल बनेको उनले बताउँदै आएका छन्। विद्यालयमा हुने दुर्व्यवहार र अस्पेर्गर सिन्ड्रोमका कारण बाल्यकालमा आफूलाई सामाजिक रूपमा घुलमिल हुन कठिन हुने गरेको उनको भनाइ छ।

प्रिटोरियाबाट उनी अध्ययनका लागि क्यानडा र त्यहाँबाट अमेरिका आएका थिए। क्यानडामा क्विन्स विश्वविद्यालयमा पढ्दा उनको भेट जस्टिन विल्सनसँग भयो । त्यहाँबाट १९९२ मा उनी अमेरिका आएर पेन्सिलभेनिया विश्वविद्यालयमा अध्ययन अगाडि बढाए। अर्थशास्त्र र भौतिकशास्त्र अध्ययन गरेपछि सन् १९९० को दशकमा उनले दुई वटा प्रविधि स्टार्टअप कम्पनी सुरु गरे। यसमा एउटा वेब सफ्टवेयर र अर्को अनलाइन बैंकिङ कम्पनी थियो। उक्त अनलाइन बैंकिङ कम्पनी अहिले पेपलका रूपमा चिनिन्छ। यसलाई सन् २००२ मा मस्कले १.५ बिलियन डलरमा इबे कम्पनीलाई बेचेका थिए।

सन् २००० मा मस्कले लामो समयदेखिकी प्रेमिका जस्टिनसँग विवाह गरे। तर २००८ मा उनीहरूबीच सम्बन्धविच्छेद भयो। उनीहरूका ६ छोराछोरी छन्। जोखिमपूर्ण निर्णय लिन रुचाउने मस्कले सन् २००० कै दशकमा रकेट कम्पनी स्पेसएक्स र विद्युतीय कार कम्पनी टेस्ला खडा गरेका थिए। सन् २००८ मा प्रमुख कार्यकारी बन्नुअघि उनी टेस्लाका अध्यक्ष थिए।

नासाको सस्तो विकल्प बन्ने लक्ष्यसहित खोलिएको स्पेसएक्स विश्वका ठूला कम्पनीमध्ये एक हो। यसले कुनै दिन मानिसलाई मंगल ग्रहमा लैजाने लक्ष्य राखेको छ। एआई क्षेत्रमा पनि मस्कका आफ्नै महत्त्वाकांक्षा छन्। च्याटजीपीटीको स्वामित्व रहेको कम्पनी ओपन एआईमा उनी सुरुवाती लगानीकर्तामध्ये एक थिए। तर साझेदारबीच कलह सुरु भएपछि सन् २०१८ मा बाहिरिए। त्यसपछि मस्कले आफ्नै कम्पनी एसएआई चलाइरहेका छन्। ग्रोक एआई यही कम्पनीको उत्पादन हो।

फेब्रुअरी २०२४ मा मस्कले ओपन एआईका संस्थापक साम अल्टम्यानविरुद्ध मुद्दा पनि हालेका थिए। उक्त कम्पनी गैरनाफामूलक रहने गरी आफूले लगानी गरेको उनको दाबी थियो। तर कम्पनीले कालान्तरमा माइक्रोसफ्टलाई सेयर बेचेर त्यसको उल्लंघन गरेको मस्कको आरोप छ। जसलाई मे २०२६ मा क्यालिफोर्नियाका एक न्यायाधीशले खारेज गरिदिए।

विगतमा मस्कले आफ्नो व्यवसाय नाफामुखी नभएर परोपकारी रहेको दाबी गर्ने गरेका थिए। जलवायु परिवर्तनजस्ता प्रमुख मानवीय समस्याको समाधानमा आफ्ना व्यवसाय केन्द्रित रहेको उनले बताउने गरेका थिए। तर उनले पछिल्ला दिनमा जलवायु परिवर्तनप्रतिको आफ्नो धारणा बदल्दै लगेका छन्।

मस्क १४ सन्तानका बाबु हुन्। पहिलो पत्नी जस्टिनतर्फबाट ६, क्यानेडेली गायिका ग्रिमिसबाट ३, व्यवसायी सिभोन जिलिसबाट ४ र लेखिका तथा इन्फ्लुएन्सर एस्ले सेन्ट क्लेरबाट १ सन्तान छन्। सन् २०२१ मा जिलिसबाट जुम्ल्याहा सन्तान जन्मिएपछि मस्कले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कम जनसंख्याको संकट टार्न मैले सक्दो गरिरहेको छु।’ मस्क बेला–बेलामा विवादमा पनि आउने गरेका छन्। उनकी पूर्वपार्टनर क्लेरले यसै वर्षको जनवरीमा मस्कको कम्पनी एक्सविरुद्ध मुद्दा दायर गरेकी थिइन्। एक्समा उच्छृंखल डिपफेक तस्बिर ल्याउन ग्रोक प्रयोग भएको थाहा पाएपछि उनले यस्तो मुद्दा हालेकी थिइन्।

Logo