रास्वपा महाधिवेशन : सभापति बाहेक सवै पदमा निर्वाचन हुने सम्भावना, सभापतिमा लामिछाने निश्चित

रास्वपा महाधिवेशन : सभापति बाहेक सवै पदमा निर्वाचन हुने सम्भावना, सभापतिमा लामिछाने निश्चित

केन्द्रबिन्दु
12
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र वरिष्ठ नेताको पदमा सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र ९९ केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले गरेका छन् ।

आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी दिएका छन् । त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन् । रास्वपामा तीन उपसभापति एक खुला, एक महिला र एक मनोनीत हुनेछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्ले प्रबल दाबेदार रहेको रास्वपाका नेताहरू बताउँछन् ।

अर्थमन्त्री र पार्टीमा तेस्रो वरीयतामा रहेका उनीविरुद्ध कसैले उम्मेदवारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ । ‘सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ । खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन् । उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ,’ पार्टीका एक नेताले भने, ‘यस्तो अवस्थामा पदाधिकारीमध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ ।’

पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृहकार्य थालिसकेका छन् । ‘महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी छ ।’

महिला उपसभापतिमा चुनाव भएको खण्डमा कानुनमन्त्री सोविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सम्भावित उम्मेदवार रहेको नेताहरू बताउँछन् । उपसभापति वा महामन्त्रीमध्ये एक पदमा डा. तोसिमा कार्की सम्भावित उम्मेदवार रहेको बताइएको छ । मनोनीत उपसभापतिमा भने भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका नेता सुनील लम्साललाई जिम्मेवारी दिने तयारी छ । उनी शाहसँगै रास्वपामा समाहित भएका नेता हुन् ।

खुला महामन्त्रीमा सहमति जुट्न नसके तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । ‘यो पदका लागि निवर्तमान महामन्त्री कबीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनीष झा, गणेश पराजुली, यज्ञमणि न्यौपाने उम्मेदवार बन्ने सम्भावना छ,’ एक नेताले भने । महिला उपसभापतिमा उम्मेदवारी नदिए महामन्त्रीको दाबेदारमा डा. कार्कीलाई पनि हेरिएको छ । नेतृत्व चयन सहमतिमा नै हुने अवस्था रहेमा खनाल पछि हट्न तयार देखिएको उनीनिकट नेताहरूले बताएका छन् । न्यौपाने पनि सहमहामन्त्री पद पाएमा महामन्त्रीमा दाबी नगर्ने उनीनिकट स्रोतले जानकारी दियो । मनोनीत महामन्त्रीमा भने भूपदेव शाह लगभग निश्चित रहेका रास्वपा नेताहरू बताउँछन् ।

खुला सहमहामन्त्रीमा को–को उम्मेदवार बन्ने भन्ने यकिन भइसकेको छैन । हालसम्म हरि ढकाल, प्रकाशचन्द्र परियारलगायत दाबेदार रहेको नेताहरूले बताएका छन् । सहमहामन्त्रीमा नेता असिम शाह पनि सम्भावित उम्मेदवार छन् । उनी पूर्वसांसद तथा प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार पनि हुन् । महिला सहमहामन्त्रीमा निशा डांगीलगायत सम्भावित उम्मेदवार हुन् ।

रास्वपामा पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि यो संख्या १२ थियो । यस पटक विधान संशोधन गरेर पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) छन् ।

सभापति लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताएका छन् । त्यसका लागि नेताहरूलाई एकताबद्ध भएर लाग्न र पद प्राप्तिका लागि कुनै पनि गुटबन्दी नगर्न दुवैले आग्रह गरेका छन् । सभापतिले उद्घाटन समारोहबाट २०८० मंसिरमा भएको जलेश्वर बैठकको स्मरण गर्दै नेताहरू नै गुटबन्दीमा लागे पार्टीलाई नोक्सानी हुने बताए ।

वरिष्ठ नेता शाहले गुट र उपगुट बनाउने कार्यमा नलाग्न आग्रह गरे । ‘पार्टीको महाधिवेशनमा पहिलेदेखि नै हाम्रो संस्कार बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने । राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन । त्यही भएर समूह बनाउने पछाडि नलाग्नुहोला,’ शाहले भने ।

सभापतिबाहेकका पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन हुन्छ । रास्वपा विधानमा भएको व्यवस्थाअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा निर्वाचितहरू मात्रै पदाधिकारीका उम्मेदवार हुन पाउने भएकाले सम्बन्धित नेताहरूले पनि प्रत्यक्ष रूपमा इच्छा व्यक्त गरिसकेका छैनन् । उपयुक्त समय आएपछि अर्थात् केन्द्रीय सदस्य निर्वाचित भएपछि पदाधिकारीमा प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने निर्णय लिने ती नेताहरूले बताइरहेका छन् ।

Logo