काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को वार्षिक परीक्षामा बागबजारमा अवस्थित काठमाडौं मोडेल सेकेण्डरी स्कुल (केएमसी)ले पुनः एकपटक उत्कृष्ट नतिजा हासिल गरेको छ ।
यस वर्षको नतिजाअनुसार केएमसीका २५ जना विद्यार्थीहरूले ३.९६ जीपीएसहित बोर्डकै उच्चतम नतिजा प्राप्त गर्दै बोर्ड टपर बन्न सफल भएका छन्। त्यस्तै, १० जना विद्यार्थीहरूले ३.९५ जीपीए प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् भने १६ जना विद्यार्थीहरूले ३.९४ जीपीएसहित तेस्रो स्थान सुरक्षित गरेका छन्।
केएमसीका अनुसार १०४ जना विद्यार्थीहरूले ३.९० भन्दा माथिको जीपीए प्राप्त गरेका छन्। समग्र नतिजातर्फ ७७८ जना विद्यार्थीहरूले ए प्लस, १,०३१ जना विद्यार्थीहरूले ए ग्रेड हासिल गरेका छन् भने बाँकी सबै विद्यार्थीहरूले बी प्लस प्राप्त गरेका छन्। यससँगै विद्यालयले कुल ९८.६७ प्रतिशत उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ।

केएमसीले विद्यार्थीहरूको निरन्तर लगनशीलता, अनुशासन, कठोर परिश्रम र समर्पणकै परिणामस्वरूप यस्तो ऐतिहासिक उपलब्धि सम्भव भएको उल्लेख गरेको छ।

आज एक कार्यक्रम आयोजना गर्दै केएमसीका प्रिन्सिपल डा. नगेन्द्र अर्यालले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् । यस अवसरमा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकहरूको योगदानप्रति पनि विद्यालयले आभार व्यक्त गरेको छ।

उत्कृष्ट शैक्षिक उपलब्धिका साथ केएमसीले पुनः एकपटक नेपालको विद्यालय शिक्षामा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गरेको छ।





























प्रतिक्रिया