क्रिस्टियानो रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी

क्रिस्टियानो रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो र एकमात्र खेलाडी बनेर इतिहास रचेका छन् । समूह चरणको पहिलो खेलमा डीआर कंगोसँग १–१ को निराशाजनक बराबरीपछि उज्बेकिस्तानविरुद्ध दुई गोल गरेर सनसनी मच्चाएका रोनाल्डोले आलोचकहरूलाई करारा जवाफ दिएका छन् ।

समूह चरणको पहिलो खेलमा डीआर कंगोसँग १–१ को निराशाजनक बराबरीपछि रोनाल्डोमाथि प्रश्नहरूको बाढी आएको थियो । “के ४१ वर्षको उमेरमा उनी विश्वकपको भार बोक्न सक्छन् त ?” यस्तै आलोचनाको घेराबन्दीबीच ह्युस्टनको एनआरजी रंगशालमा मंगलबार राति सम्पन्न खेलको ६ मिनेटमा जोआओ कान्सेलोको क्रसमा दायाँ खुट्टाले जाली चुमाएर तथा ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै रोनाल्डोले आफ्नो चिरपरिचित शैलीमा जवाफ दिएका हुन् । त्यसपछि दोस्रो हाफमा नुनो मेन्डिस, राफायल लियो र एक आत्मघाती गोलको सहयोगमा पोर्चुगलले ५–० को फराकिलो जित हात पार्यो ।

त्यति मात्र होइन रोनाल्डोका लागि ‘६’ अंकको जादुमयी संयोग पनि देखियो । पोर्चुगिज सुपरस्टारले आफ्नो छैटौं विश्वकपको छैटौं मिनेटमा गोल गरे र त्यो गोलले उनलाई लगातार ६ विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी बनायो । रोनाल्डोका लागि तथ्यांकहरू पनि उत्तिकै रोचक छन् । सन् २००६ मा जर्मनीमा डेब्यु विश्वकप खेल्दा १ गोल गरेका रोनाल्डोले २०१० मा १, १४ मा १, १८ मा स्पेनविरुद्ध ह्याट्रिकसहित ४, सन् २०२२ मा १ र अहिले २०२६ मा २ गोल गरिसकेका छन् । यो गोलको निरन्तरताको अर्थ के हो भने हरेक चार वर्षमा बदलिँदो फुटबल शैली, नयाँ पुस्ताका डिफेन्डर र बढ्दो उमेरका बाबजुद पनि रोनाल्डोले आफ्नो गोल गर्ने भोकलाई कहिल्यै मर्न दिएका छैनन् ।

त्यसैगरी यस खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । उनले पोर्चुगलका महान् पूर्वसुपर स्टार युसेबियोको ९ गोलको रेकर्ड तोड्दै १० गोल पुर्याएका हुन् । विश्वकपमा पोर्चुगलका लागि दोहोरो अंकमा गोल गर्ने एकमात्र खेलाडी बनेका रोनाल्डोले आफूलाई पोर्चुगिज फुटबलको सर्वकालीन महान् खेलाडीका रूपमा पुनः स्थापित गरेका छन् । यति मात्र होइन, उज्बेकिस्तानविरुद्धको यो उनको २४औं विश्वकप खेल पनि थियो । उनी जर्मनीका मिरोस्लाभ क्लोजसँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । अब समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग मैदान उत्रिँदा रोनाल्डोले जर्मन लिजेन्ड लोथार म्याथ्युजको २५ खेलको कीर्तिमानसँग बराबरी गर्नेछन् । सर्वाधिक २८ खेलको कीर्तिमान भने अर्जेन्टिनाका लियोनल मेसीको नाममा छ ।

अर्कोतर्फ उमेरको हिसाबले पनि रोनाल्डोले यस विश्वकपमा नयाँ इतिहास रचिसकेका थिए । डीआर कंगोविरुद्धको पहिलो खेलमा ४१ वर्ष १३२ दिनको उमेरमा ‘स्टार्टिङ ११’ मा उत्रिएर उनी विश्वकपमा सुरुवाती लाइनअपमा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन् । त्यो उनको २३औं विश्वकप खेल थियो, जसले इटालीका पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी गरेको छ । अनि उज्बेकिस्तानविरुद्ध गोल गरेपछि त झन उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । यो सूचीको शीर्षमा रोजर मिला छन्, जसले सन् १९९४ मा ४२ वर्षको उमेरमा गोल गरेर उक्त रेकर्ड आफ्नो नाममा राखेका थिए ।

त्यसैगरी यसै विश्वकपमा रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीले ६–६ पटक विश्वकप खेल्ने कीर्तिमान बाँडेका थिए । तर निरन्तर गोलको हिसाबले रोनाल्डोले मेसीलाई पछि पारेका छन् । मेसीले सन् २०१० को विश्वकपमा गोल गर्न सकेका थिएनन्, जबकि रोनाल्डोले आफ्नो हरेक विश्वकपमा गोल गरेका छन् ।

समग्रमा यस जितसँगै ४ अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । अब समूह चरणको अन्तिम खेलमा पोर्चुगलले कोलम्बियाको सामना गर्नेछ । जहाँ रोनाल्डोसामु आफ्नो टोलीलाई नकआउट चरणमा पुर्याउने अवसर हुनेछ ।

Logo