विराट कोहलीकाे टेस्ट रनकै मूल्य बराबरको जुत्ता बजारमा !

विराट कोहलीकाे टेस्ट रनकै मूल्य बराबरको जुत्ता बजारमा !

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । भारतीय क्रिकेटका ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो पुनरागमनको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। आइतबार नयाँ दिल्लीको यशोभूमिमा आफ्नो स्पोर्ट्सवेयर ब्रान्ड ‘वन८’को ग्लोबल लन्च कार्यक्रममा बोल्दै कोहलीले टेस्ट क्रिकेटको आफ्नो अध्याय सधैंका लागि बन्द भइसकेको प्रस्ट पारेका हुन्।

मे २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिएका कोहलीको यो घोषणासँगै उनी पुनः रातो बलको क्रिकेटमा फर्कने अड्कलबाजीहरू समाप्त भएका छन्। यस कार्यक्रममा कोहलीको टेस्ट करियरको सम्झनामा एउटा विशेष जुत्ता समेत सार्वजनिक गरिएको छ, जसको मूल्यले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

९,२३० रन, ९,२३० रुपैयाँकै जुत्ता

सार्वजनिक गरिएको ‘द सिम १८ सिग्नेचर टेस्ट रेड’जुत्ताको मूल्य भारतीय ९,२३० रुपैयाँ राखिएको छ। यो मूल्य कोहलीले आफ्नो टेस्ट करियरमा बनाएको कुल ९,२३० रनसँग दुरुस्तै मिलाएर तय गरिएको हो। परम्परागत रातो टेस्ट बलको झल्को दिने गरी गहिरो रातो रङ र सेतो सिलाइसहित यो जुत्ताको डिजाइन गरिएको छ।

कार्यक्रमका होस्ट तथा कमेडियन दानिश सेतले ठट्टा गर्दै सोधेका थिए, “के तपाईं यो जुत्ताको मूल्य अझ बढाउन फेरि टेस्ट क्रिकेटमा फर्कनुहुन्छ?”

जवाफमा कोहलीले हाँस्दै भने, “अहँ, म बरु थोरै मूल्यमै बेच्न तयार छु। मेरो लागि त्यो अध्याय (टेस्ट क्रिकेट) अब सकियो।”

१० हजार रनको लक्ष्य पूरा हुन सकेन

सुरुमा यो जुत्ताको अधिकतम बिक्री मूल्य १०,००० भारतीय रुपैयाँ राख्ने योजना थियो, जसले टेस्ट क्रिकेटमा १०,००० रनको माइलस्टोनलाई संकेत गर्थ्यो। तर, कोहली आफ्नो करियरमा उक्त ऐतिहासिक आँकडाभन्दा ७७० रनले पछि परेका कारण जुत्ताको मूल्य पनि उनको वास्तविक रन ९,२३० अनुसार नै कायम गरिएकाे हाे ।

रोचक कुरा के छ भने, कोहलीले टेस्ट करियरमा भन्दा बढी रन इन्डियन प्रिमियर लिगमा बनाइसकेका छन्। उनले १९ सिजन खेल्दै आईपीएलमा ९,३३६ रन बनाएका छन्। भारतीय टेस्ट इतिहासमा भने उनी सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।

Logo