समृद्धि स्कुलद्वारा कक्षा ११ का विद्यार्थीका लागि भव्य ओरिएन्टेसन कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

समृद्धि स्कुलद्वारा कक्षा ११ का विद्यार्थीका लागि भव्य ओरिएन्टेसन कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

केन्द्रबिन्दु
396
Shares

काठमाडौं । बनस्थलीमा अवस्थित समृद्धि स्कुलले कक्षा ११ मा भर्ना भई अध्ययन सुरु गरेका व्यवस्थापन संकायका नयाँ विद्यार्थीहरूका लागि एक भव्य ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रममा शैक्षिक वर्ष २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्कुलको शैक्षिक प्रणाली, अध्ययन पद्धति, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा भविष्यका अवसरहरूबारे विस्तृत जानकारी गराइएको थियो।

विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्मा र स्कुलका कार्यकारी निर्देशक सन्दिप श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्कुलका प्रशासनिक निर्देशक दिपेन्द्र उप्रेतीले उपस्थित सबैलाई स्वागत गर्नुका साथै नयाँ विद्यार्थीहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरणा दिएका थिए । सो अवसरमा व्यवस्थापन संकायअन्तर्गत उपलब्ध विषयहरू, परीक्षा प्रणाली, मूल्याङ्कन प्रक्रिया तथा सह-पाठ्यक्रम गतिविधिबारे समेत प्रकाश पारिएको थियो।

कार्यक्रममा बोर्डका निवर्तमान अध्यक्ष डा. शर्माले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र दृढ संकल्पका साथ अघि बढ्न सुझाव दिए। आफ्ना जीवनका महत्त्वपूर्ण अनुभवहरू बाँड्दै उनले भने, “सपना आफ्ना लागि मात्र होइन, यो धर्ती, परिवार, गुरु र समाजको हितका लागि पनि हुनुपर्छ।”

त्यस्तै, स्कुलका कार्यकारी निर्देशक सन्दिप श्रेष्ठले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै सपनाको परिभाषा फरक ढंगले प्रस्तुत गरे। उनले भारतीय पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको भनाइलाई स्मरण गर्दै भने, “सपना त्यो होइन जुन हामी सुत्दा देख्छौँ, सपना त त्यो हो जसले हामीलाई सुत्न दिँदैन।” उनले विद्यार्थीहरूलाई समयको महत्त्व बुझेर अगाडि बढ्न प्रेरित गरे।

स्कुलका शैक्षिक निर्देशक चन्द्रमान महर्जनले भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै स्कुलको शैक्षिक प्रणाली, अध्ययन पद्धति, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायतहरूबारे विस्तृत जानकारी गराएका थिए ।

हरेक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति (स्कुलरसिप) र सम्मान प्रदान गर्दै आएको समृद्धि स्कुलले यस वर्ष पनि ३ जना विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ। सम्मानित हुनेहरूमा सलिजा कार्की, सुदीप पराजुली र सुजन गुरुङ रहेका छन्। जसमध्ये सलिजा कार्कीलाई १०० प्रतिशत र सुजन गुरुङलाई ७५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ। साथै स्कुलले शतप्रतिशत हाजिरी भई पठनपाठन गराउने उत्कृष्ट शिक्षकहरू द्रवेश श्रेष्ठ, मुना दाहाल र रेशम बहादुर अधिकारीलाई पनि सम्मान गरेको छ।

कार्यक्रममा कक्षा १२ की छात्रा जोत्शिरा पाण्डेले समृद्धि स्कुलमा आफ्नो अनुभव प्रस्तुत गर्दै नयाँ विद्यार्थीहरूलाई विद्यालयले दिने अवसर र ज्ञानको दायराबारे प्रस्ट पारिन्। त्यस्तै, कक्षामा सबैभन्दा बढी जीपीए ल्याउन सफल छात्रा सजिनाले पनि आफ्नो विचार राख्दै सफलताका लागि पढाइप्रतिको धैर्यता र अटुट समर्पण अनिवार्य रहेको बताइन्।

कार्यक्रममा समृद्धिका पुराना विद्यार्थीहरूको पनि सहभागिता थियो। समृद्धिको पहिलो ब्याचका विद्यार्थी तथा हाल संगीत क्षेत्रमा भविष्य बनाइरहेका सास्युत श्रेष्ठलाई विद्यालयले सम्मान गर्‍यो। उनले समृद्धिको सांगीतिक यात्रा र आफूलाई विद्यालयबाट मिलेको निरन्तर सहयोगको प्रशंसा गरे।

त्यसैगरी, सोही स्कुलबाट प्लस टु उत्तीर्ण गरेकी प्रतिभाशाली छात्रा सोफिया तामाङलाई पनि सम्मान गरिएकाे थियाे । हाल आईटी क्षेत्रमा क्रियाशील सोफियाले नयाँ विद्यार्थीहरूलाई हौसला बढाउँदै आफूभन्दा पनि अझ माथिल्लो र राम्रो स्थानमा पुग्न शुभकामना दिइन्।

कार्यक्रमको आकर्षणका रूपमा ‘जुनियर क्रु नेपाल डान्स एकेडेमी’ को उत्कृष्ट नृत्य प्रस्तुती रहेको थियो। प्रस्तुतीमा भाग लिएका सबै कलाकारहरूलाई समृद्धि स्कुलका तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। समग्रमा, नयाँ विद्यार्थीहरूलाई उत्साह र उर्जा प्रदान गर्दै समृद्धि स्कुलको अभिमुखीकरण कार्यक्रम भव्य रूपमा समापन भयो।

बनस्थलीमा आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधारमा सञ्चालित यस स्कुलले विद्यार्थीहरूको सिर्जनशीलता र व्यवहारिक सिकाईलाई प्राथमिकता दिँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ यस स्कुलले विशेष दख्खल राख्दछ।

Logo