फ्रान्सेली फुटबलरको नदीमा डुबेर निधन

फ्रान्सेली फुटबलरको नदीमा डुबेर निधन

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । फ्रान्सका २१ वर्षीय युवा फुटबलर केन्जो किस को रोन नदीमा डुबेर निधन भएको छ । फ्रान्सको लिग २ क्लब ‘गिङ्गाम्प’बाट व्यावसायिक फुटबल खेल्दै आएका किसलाई सोमबार अग्निनियन्त्रकहरूले नदीबाट गम्भीर अवस्थामा उद्धार गरेका थिए। लगत्तै अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस हप्ता फ्रान्सका विभिन्न भागहरूमा ४० डिग्री सेल्सियससम्मको अत्यधिक गर्मी (हिटवेभ) बढेपछि किस र उनका तीनजना साथीहरू गर्मीबाट बच्न लियोन नजिकै रहेको रोन नदीमा पौडी खेल्न पसेका थिए। आपतकालीन सेवाका उद्धारकर्मीहरूले उनका तीन साथीहरूलाई सकुशल बाहिर निकाले पनि किस भने लामो समयसम्म फेला परेका थिएनन्। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार गत बिहीबारयता मात्रै देशमा अत्यधिक गर्मी र लुका कारण डुबेर ४० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

किसले आफ्नो प्रारम्भिक फुटबल करियर लियोन र सेन्ट-एटिएन को युवा टोलीबाट सुरु गरेका थिए। गत वर्ष मात्रै उनी गिङ्गाम्प क्लबमा आबद्ध भई त्यहाँको रिजर्भ टोलीबाट खेलिरहेका थिए।

उनको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै गिङ्गाम्प क्लबले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेखेको छ, “हाम्रा युवा खेलाडी केन्जो किस को निधनको खबरले गिङ्गाम्प क्लब स्तब्ध र शोकमग्न भएको छ।”

Logo