पेरिस । चार वर्षभन्दा बढी समयपछि विश्व फुटबलको सर्वोच्च संस्था फिफाले रुसलाई अन्तर्राष्ट्रिय युथ प्रतियोगिता खेल्ने बाटो खोलिदिने संकेत गरेको छ। युक्रेनमाथि निन्दनीय आक्रामण गरेयता रुसलाई विश्व फुटबल खेल्नबाट रोक लगाइएको थियो।
अजरबैजानमा अक्टोबर २२ देखि ३१ सम्म हुने ‘यू–१५ विश्वकप र फेस्टिभल’ हुँदै छ। फिफाले यो सबैका लागि खुला प्रतियोगिता भएको जनाएको छ। सन् २०२२ यता रुसको राष्ट्रिय टोली र क्लबहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रोक लगाइँदै आए पनि फिफाले रुस फुटबल महासंघलाई भने निलम्बन गरेको छैन।
फिफाका प्रवक्ताले एएफपीसँगको जिज्ञासामा सिधा रुसको नाम तोकेनन्। तर, उनले अजरबैजानमा हुने उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न फिफाको सबै सदस्य राष्ट्रका लागि खुला रहेको जनाएका थिए। प्रतियोगिताको संरचना र सहभागी देशबारे पछि जानकारी गराउने बताएको छ।
रुसले यसलाई आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबलमा फिर्ता बोलाएको व्याख्याको रूपमा लिएको छ। ‘रुसको राष्ट्रिय टोलीलाई विश्वकप र फिफा यू–१५ फेस्टिभलमा सहभागी गराउने फिफाको निर्णयको हामी स्वागत गर्छौं, जुन अजरबैजानमा अक्टोबरमा हुँदै छ। अन्तर्राष्ट्रिय खेलकुदमा फर्किन रुसका लागि यो महत्त्वपूर्ण कदम हुनेछ,’ रुसका खेलकुदमन्त्री मिखाइल डेग्टिएरेभले सामाजिक सञ्जालमार्फत भनेका छन्।
यो कदमले रुस र बेलारुसका खेलाडीमाथि रहँदै आएको प्रतिबन्ध हटाउने विश्वास लिइएको छ। मेमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बेलारुसमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। एएफपी





























प्रतिक्रिया