सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगन गरिएको छ । शुक्रबार (असार १२) दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्को दिनका निम्ति तय गरिएको हो । विशेष कारणवश बैठक बस्ने दिन र समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

“आज मिति २०८३ असार १२ गते शुक्रबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १३ गते शनिबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक अब शनिबार (असार १३) बिहान ११ बजे बस्ने तय गरिएको छ । विशेषतः सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण बैठक स्थगन गरिएको हो । यही असार ११ गते बस्ने भनिएको बैठक यसअघि सूचना टाँसेर नै आजका निम्ति तोकिएको जानकारी गराइएको थियो ।

तीनदिने भनेर असार ७ गते उद्घाटन गरिएको रास्वपाको महाधिवेशन लम्बिएको छ । पदाधिकारी चयनपश्चात् आज (असार १२) महाधिवेशन समापन गर्ने तयारी छ । मन्त्री, सांसदसहित रास्वपाका अधिकांश नेता यति बेला चितवनको भरतपुरमा छन् ।

Logo