काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माथिल्लो सदन सिनेटमा इरानविरुद्धको युद्ध रोक्नेसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने रिपब्लिकन सांसदहरूको कडा आलोचना गरेका छन् ।
फ्लोरिडाका सिनेटर रिक स्कटको निमन्त्रणामा ट्रम्प अमेरिकी संसद् भवनमा रिपब्लिकन सांसदहरूको दिवाभोजमा सहभागी भएका थिए । उक्त बैठकपछि सिनेटमा सिनेटर बिल क्यासिडीको समर्थनमा नयाँ प्रस्ताव पारित भयो भने पुरानो प्रस्ताव खारेज गरियो । ट्रम्पले नागरिकतासम्बन्धी विधेयक पारित गराउन पनि सांसदहरूलाई दबाब दिने बताएका छन् ।
यद्यपि, बैठकको मुख्य विषय युद्धशक्ति सम्बन्धी प्रस्ताव थियो । ट्रम्पले विशेषगरी उक्त प्रस्तावमा डेमोक्रेट सांसदहरूको साथ दिएका आफ्नै पार्टीका चार रिपब्लिकन सांसदलाई निशाना बनाए । उनीहरूमा अलास्का राज्यकी लिसा मुर्कोव्स्की, मेनकी सुसान कलिन्स, केन्टकीका र्यान्ड पल र लुइसियानाका बिल क्यासिडी रहेका थिए ।
ट्रम्पले यसअघि सामाजिक सञ्जालमार्फत उनीहरूलाई ‘लुजर्स’को संज्ञा दिएका थिए । अन्य रिपब्लिकन सांसद मौन रहे पनि क्यासिडीले भने आफ्नो मतदानको खुलेर बचाउ गरे । क्यासिडी गत महिना ट्रम्प समर्थित प्रतिद्वन्द्वीसँग पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका थिए ।
बैठकपछि सिनेटर क्यासिडीले भने, “म उभिएर ट्रम्पलाई भनेँ– तपाईंले अमेरिकी जनतालाई त्यहाँ के भइरहेको छ भन्ने कुरा बताउनुभएको छैन । अमेरिका–इरान युद्ध अभियान चार हप्ता चल्ने भनिएको थियो । तर, अहिले चार महिनादेखि जारी छ । मैले उहाँलाई उहाँकै भाषामा जवाफ दिएँ ।”
क्यासिडीले आफूलाई पूर्ण जानकारी नदिइएसम्म युद्धसम्बन्धी प्रस्तावलाई समर्थन गरिरहने बताए । बहसका क्रममा ट्रम्पले उनलाई पटक–पटक बस्न आग्रह गरेका थिए । तर, तीव्र बहसकै क्रममा एकपटक ट्रम्पले क्यासिडीलाई ‘सनकी’ समेत भने । एमएसएन





























प्रतिक्रिया