काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर प्रश्न उठाएका छन् ।
उनले १८२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई ‘ठूलो कुरा’ मान्न नसकिने बताए ।
‘फेसबुक फ्यान फलोअर्स’ को आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उनले चार हजार भन्दा बढी प्रतिनिधिहरू र सात दिनसम्म पनि महाधिवेशन नसक्नुलाई अस्वभाविक र कमजोर व्यवस्थापनको संज्ञा दिए ।
उनले महाधिवेशनमा देखिएको ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जनताका कामहरू प्रभावित भएको भन्दै कडा आलोचना गरेका छन् । उनले भने, ‘अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन ।’
हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको उनको दाबी छ । यस्ता व्यवस्थापकीय कमजोरी र आन्तरिक समस्याले पार्टीको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको महरको ठहर छ ।
पूरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँ भन्दै जनतामा भ्रम छर्न खोजेको आरोप लगाउँदै महरले रास्वपाको कार्यशैलीमाथि प्रहार गरका छन् । हचुवामा निर्णय गर्ने र नेतृत्वको क्षमता प्रदर्शन गर्न नसक्ने प्रवृत्तिले कार्यकर्ता र जनतामा नकारात्मक प्रभाव पार्ने उनले बताए ।





























प्रतिक्रिया