आईएसटीद्वारा कक्षा ११ का विद्यार्थीलक्षित ओरिएन्टेसन कार्यक्रम भव्य रूपमा सम्पन्न

आईएसटीद्वारा कक्षा ११ का विद्यार्थीलक्षित ओरिएन्टेसन कार्यक्रम भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आईएसटी सेकेण्डरी स्कुलले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको ओरियन्टेसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । होटल व्यवस्थापन र आतिथ्य शिक्षामा नेपालकै अग्रणी संस्थाका रूपमा स्थापित आईएसटीले नवआगन्तुक विद्यार्थीलाई स्कुलको परिवेशसँग जोड्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरेको हो ।

शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहमा स्कुलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र बज्राचार्य, डाइरेक्टर टेकबहादुर ढकाल, प्रिन्सिपल सम्झना बस्न्यातलगायत सम्पूर्ण शैक्षिक टोली र नवआगन्तुक विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत गर्दै सीईओ नरेन्द्र बज्राचार्यले नेपाली अर्थतन्त्रको मेरुदण्ड पर्यटन भएको बताए । “पर्यटन क्षेत्रले विदेशी मुद्रा सञ्चिति गर्न मात्र नभई ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न अभिन्न भूमिका खेल्दै आएको छ,” उनले भने ।

सन् २००५ मा स्थापना भएको र हाल विश्वविद्यालय तहको ब्रिटिश डिग्री (क्वीन मार्गरेट युनिभर्सिटी, यूके) तथा सीटीईभीटी आबद्ध कार्यक्रम सञ्चालन गरिरहेको आईएसटी स्कुलले विद्यार्थीलाई आवश्यक सहयोग, व्यावसायिक दिशानिर्देशन र अन्तर्राष्ट्रियस्तरको सीप विकास गराउन पूर्ण रूपमा समर्पित रहने सीईओ बज्राचार्यले जोड दिए । उनले आईएसटीले सैद्धान्तिक ज्ञानसँगै आफ्नै इन–हाउस ट्रेनिङ होटल तथा उद्योगसँगको प्रत्यक्ष सम्पर्कका माध्यमबाट विद्यार्थीको व्यावहारिक दक्षता निखार्ने कुरामा पनि विशेष जोड दिए ।

यसैगरी स्कुलका डाइरेक्टर टेकबहादुर ढकालले आईएसटीलाई नेपालको हस्पिटालिटी सेक्टरकै सबैभन्दा महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा परिभाषित गरे । उनले स्कुलको करिब दुई दशक लामो शैक्षिक पृष्ठभूमिलाई उल्लेख गर्दै भने, “यहाँबाट शिक्षा लिएका ३ हजारभन्दा बढी विद्यार्थीले प्रारम्भिक तालिमसँगै सोझै रोजगारी पाउन सक्षम बन्ने हामीले प्रमाणित गरिसकेका छौँ । मध्यपूर्व, युरोप, अमेरिका र अष्ट्रेलियाजस्ता प्रमुख गन्तव्यमा हाम्रा स्नातकले उच्च पदमा कार्य गरिरहेका छन् ।”

प्रिन्सिपल सम्झना बस्न्यातले विद्यार्थीलाई हस्पिटालिटी करियरको ‘सफ्ट स्किल’ पक्षमा केन्द्रित गराइन् । उनले उत्कृष्ट प्रस्तुतीकरण, व्यक्तित्व विकास र पेसागत आचरण नै सफलताका मूल मन्त्र भएको बताइन् ।

“तपाईं आफैँ ब्रान्ड हो, त्यसैले कसरी राम्रो देखिने र पेसागत ढंगले प्रस्तुत हुने भन्ने विषयमा सुरुदेखि नै ध्यान दिनुहोस्,” उनले सुझाइन् । यसै सन्दर्भमा उनले सामाजिक सञ्जालको विवेकहीन प्रयोगले सिकाइ र सिर्जनात्मक सोचमा असर पुर्याउने भन्दै विद्यार्थीलाई अनावश्यक स्क्रिन टाइमबाट अलग्गिएर करियर निर्माणको यस महत्वपूर्ण मोडमा केन्द्रित हुन आग्रह पनि गरिन् ।

सन् २००५ मा ज्ञानेश्वरमा स्थापित आईएसटी आतिथ्य शिक्षामा बेलायती विश्वविद्यालयसँग आबद्धता प्राप्त गर्ने नेपालकै पहिलो स्कुल हो । बीएचएम (अनर्स) डिग्री, डिप्लोमा इन होटल म्यानेजमेन्टलगायतका बहुप्रतिष्ठित कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले सैद्धान्तिक अध्यापनलाई उच्च प्राविधिक सीपसँग जोड्न आफ्नै सुविधासम्पन्न ट्रेनिङ रेस्टुरेन्ट तथा प्रयोगशालाको संरचना तयार गरेको छ ।

Logo