काठमाडाैं । विश्वकप फुटबल प्रतियोगितामा बलियो टोली जर्मनीमाथि रोमाञ्चक जित दर्ता गरेपछि इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले देशमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
समूह ‘इ’ को खेलमा सुरुवाती अग्रता उल्टाउँदै इक्वेडरले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेपछि राष्ट्रपति नोबोआले शुक्रबारका लागि देशभर बिदा दिने घोषणा गरेका हुन् ।
न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा समूह विजेता जर्मनीले खेलको दोस्रो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर, इक्वेडरका निलसन एङ्गुलो र गोन्जालो प्लाटाले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए। यो ऐतिहासिक जितसँगै इक्वेडर २० वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।
रङ्गशालामै पुगेर खेल हेरेका राष्ट्रपति नोबोआले सामाजिक सञ्जालमा लेखेका छन्, “खेलाडी र प्रशिक्षकलाई धेरै-धेरै धन्यवाद, जसले अनेकौँ आलोचना, गाली र कठिन समयको सामना गर्दै उत्कृष्ट पुनरागमन गरे र सिंगो देशलाई यो ठुलो खुसी दिए। भोलि सार्वजनिक बिदा हो! इक्वेडर अमर रहोस्।”
विश्वकपको पहिलो खेलमा आइभोरी कोस्टसँग १–० ले पराजित भएको र दोस्रो खेलमा कुरासाओसँग गोलरहित बराबरीमा रोकिएपछि इक्वेडरका प्रशिक्षक सेबास्टियन बेकासेसे र खेलाडीहरूले निकै आलोचना खेप्नुपरेको थियो।
इक्वेडर समूह चरणमा जर्मनी र आइभोरी कोस्टभन्दा पछि रहे पनि तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीभित्र पर्दै नकआउट चरणमा पुग्न सफल भएको हो।





























प्रतिक्रिया