इस्ट रदरफर्ड । फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल हेर्न पुगेका हजारौँ समर्थकले स्टेडियम बाहिरको माहोलभन्दा फरक अनुभव अमेरिकन ड्रीम मलमा प्राप्त गरेका छन्।
स्टेडियम नजिकै रहेको अमेरिकन ड्रीम मललाई विश्वकपका समर्थकलाई लक्षित गरी विशेष फ्यान जोनका रूपमा सञ्चालन गरिएको छ। यहाँ प्रत्यक्ष साङ्गीतिकप्रस्तुति, खेल प्रसारण, मनोरञ्जनात्मक गतिविधि तथा खानपिनको व्यवस्था गरिएको छ।
इक्वेडरबाट आएका २९ वर्षीय समर्थक समीर रोड्रिगेजले यस्तो अनुभव आफूका लागि नयाँ भएको बताए । उनले ल्याटिन अमेरिकामा फुटबल खेलअघि समर्थकहरू प्रायः सडक वा रङ्गशालामै भेला हुने गरे पनि अमेरिकामा भने सपिङ मल नै समर्थकहरूको जमघटस्थल बनेको उल्लेख गरे ।
मलमा कोका–कोलाद्वारा आयोजित सुटिङ प्रतियोगिता, मिनी गल्फ, फेस पेन्टिङलगायत गतिविधिमा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। विभिन्न देशका समर्थकले राष्ट्रिय झण्डा बोकेर नाचगान गर्दै खेलअघि उत्सव मनाएका थिए।
करिब दुई लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको अमेरिकन ड्रीम मलमा वाटर पार्क, मनोरञ्जन केन्द्र, रेस्टुरेन्ट तथा अन्तरराष्ट्रिय ब्रान्डका पसल रहेका छन्। विश्वकप अवधिभर प्रशंसकलाई आकर्षित गर्न मलले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ।
जर्मनीका समर्थक माइकल कार्गले युरोपको फुटबल संस्कृतिभन्दा अमेरिकी अनुभव निकै फरक लागेको बताए । उनले फुटबल रङ्गशालासँगै विशाल सपिङ मल र मनोरञ्जन केन्द्रको संयोजन आफूका लागि नयाँ अनुभव भएको उल्लेख गरे ।
अर्का जर्मन समर्थक जेन्स जेनुवेनले पनि अमेरिकामा फुटबल प्रतियोगितालाई मनोरञ्जन, किनमेल र पारिवारिक गतिविधिसँग जोडिएको पाएको प्रतिक्रिया दिए । उनका अनुसार युरोपमा समर्थकहरू प्रायः पब वा रङ्गशालामा केन्द्रित हुने गर्छन् भने अमेरिकामा प्रतियोगितालाई फराकिलो मनोरञ्जन उत्सवका रूपमा प्रस्तुत गरिएको छ । -एएफपी





























प्रतिक्रिया