कांग्रेस नेता अभिषेक गिरी पक्राउको अभियोग के ?

कांग्रेस नेता अभिषेक गिरी पक्राउको अभियोग के ?

केन्द्रबिन्दु
381
Shares

काठमाडाैंं । विराटनगरका विवादित छवि भएका नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको टोलीले शनिबार बिहान विराटनगर-८ मधुमारास्थित आफ्नै निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

सुरुमा गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले बिहानै उनको घर घेरा हालेर छापा मारेको थियो। यद्यपि, घरमा गरिएको खानतलासीका क्रममा कुनै पनि अवैध हतियार वा शङ्कास्पद वस्तु भने फेला परेन। हतियार फेला नपरे पनि कारागारभित्रका कैदीबन्दीसँग रकम असुली गरेको गम्भीर अभियोगमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो।

मोरङ प्रहरीका अनुसार गिरीमाथि मोरङ कारागारका कैदीबन्दीहरूलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक भत्ता, जाडो तथा गर्मी महिनाको लुगा भत्ता र कैदीबन्दीहरूले कारागारभित्रै श्रम गरेर कमाएको रकम हिनामिना गरेको र जबर्जस्ती असुली (फिरौती) गरेको अभियोग छ। केही वर्षअघि मात्रै अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर मोरङ कारागारबाट छुटेका गिरी कारागारभित्र रहँदा आन्तरिक नाइके थिए। कारागारबाट मुक्त भएपछि पनि उनले त्यहाँभित्रका वर्तमान चौकीदार राकेश यादवसँग मिलेर कैदीबन्दीहरूबाट अवैध रूपमा रकम असुली गरिरहेको प्रहरीको दाबी छ।

अपराधिक पृष्ठभूमि भएका गिरी पछिल्लो समय आफूलाई समाजसेवीको रूपमा स्थापित गर्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।

Logo