काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव मनाएको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालादेखि दरबारमार्गस्थित होटल याक एन्ड यतिसम्म विशेष ‘वाकाथन’ आयाेजना गर्दै काठमाडौंमा स्वर्ण उत्सव मनाइएको हाे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्य तथा नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त समारोहले ५० वर्षे यात्राका उपलब्धिहरूलाई स्मरणीय ढंगले प्रस्तुत गरेकाे थियाे । वाकाथनमा विशिष्ट व्यक्तित्व, नाडा केन्द्रीय कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्षहरू, सदस्य कम्पनीका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नाडाले आफ्ना सम्पूर्ण पूर्वअध्यक्षहरूलाई विशेष सम्मान अर्पण गरेकाे थियाे । वि.सं. २०३२ मा स्वर्गीय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडाले पाँच दशकको अवधिमा २३ अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षहरूले सफल नेतृत्व प्रदान गरेका छन् ।
कार्यक्रममा नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले वाकाथन कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य एकताको सहकार्य, स्वास्थ्यप्रति सचेतना र आगामी पुस्ताप्रति जिम्मेवारीको प्रतिक भएको बताए । त्यस्तै उनले विगतको गौरव सम्झदै भविष्यप्रति अझै ढृद संकल्पका साथ अघि बढ्ने प्रेरणा दिएको पनि जानकारी दिए । उनले आगमी ५० वर्षमा आधुनिक प्रविधिमा आधारित वातावरणमैत्री अटोमोवाइल्स क्षेत्र निमार्ण गर्ने संकल्प गरे ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नाडाकाे प्रगतीकाे कामना व्यक्त गरे । उनले नेपाल सरकारले सुशासनमा ध्यान दिएकाले देशमा उद्योग र व्यवसाय चलाउने काम निजी व्यवसायीहरुले नै गर्नुपर्ने र सरकारको लक्ष्यमा साथ दिन आह्वान गरे । त्यस्तै उनले सरकारले सार्वजनिक गरेको सुशासनको १०० कार्य र बजेट पनि निजी क्षेत्रमैत्री आएका व्यवसायीहरुका काम गर्ने वातावरण आएको विश्वास दिलाएका थिए ।
नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नाडाले ५० वर्ष पूरा गरेको उपलक्ष्यमा बधाई दिँदै अटोमोबाइल क्षेत्रले परम्परागत प्रणालीबाट विद्युतिय सवारी, हरित प्रविधी, स्मार्ट मोबिलिटी र दिगो यातायात प्रणालीतर्फ अग्रसर भईरहेको र नेपालले पनि समयानुकुल नीति, पूर्वाधार तथा नीजि क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ गर्दै भविष्यका अवसरलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए ।

यस स्वर्ण उत्सवलाई सप्ताहव्यापी बनाउँदै नाडाले असार १३ गतेदेखि १९ गतेसम्म राजधानीसहित देशका सातै प्रदेशमा विविध कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । प्रकाशन र भावी आयोजनाका दृष्टिले पनि नाडाले उल्लेखनीय उपस्थिति जनाएको छ ।

हालसम्म ३६औं संस्करणको ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री’ र ५१औं संस्करणको ‘नाडा अटो न्यूज’ प्रकाशित भइसकेका छन् भने १८औं संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेण्डर’ पनि सार्वजनिक भएको छ । आगामी भाद्र महिनामा १८औं संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी पनि संस्थाले गरिरहेको छ ।

गुणस्तर र सामाजिक उत्तरदायित्वमा नाडाको पहिचान निरन्तर बलियो बन्दै गएको छ । नेपाल उद्योग वाणिज्य महासंघबाट पटक–पटक उत्कृष्ट बस्तुगत एसोसिएसनको पुरस्कारले सम्मानित भइसकेको नाडा सन् २०१५ देखि आइएसओ ९००१ः२०१५ क्यूएमएस प्रमाणित संस्थाका रूपमा स्थापित छ । यसैगरी, राष्ट्रिय विपत्तिका समयमा देशव्यापी सामाजिक कार्यक्रम तथा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।
उद्घाटन समारोहको सहजीकरण महासचिव मिलनबाबु मल्लले गरेका थिए भने उपाध्यक्ष विक्रम सिंघानियाले कार्यक्रम संयोजन तथा धन्यवाद ज्ञापन गरेका थिए ।





























प्रतिक्रिया