काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ ।
राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, २०८३ असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको कार्यक्रमकी संयोजक सबिता पोखरेलले जानकारी दिएका हुन् ।
पोखरेलका अनुसार संगीतरत्न शम्भुजित बासकोटासँग गीतकार उन्नति बोहरा शीला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशिला पौडेल, संचारकर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाई लगायतलाई सम्मान गरिने भएको छ ।
हजारौं गीतमा संगीत भर्नु भएका र स्वर समेत दिएका बास्कोटाका सयौं गीत सुपरहिट भएका छन् । ‘रातो रानी फुले झैं साँझमा’, ‘मायाले बाँध तिमी मलाई’ र ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘पूर्णिमाको रात पनि’, ‘चट्ट रुमाल क्या मालुम’ जस्ता सयौँ सदावहार गीतमा उनकै संगीत सुन्न सकिन्छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल टेलिभिजनको महाप्रबन्धक, नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मुख्य संगीत निर्देशकको उच्च ओहोदामा रहेरे कला क्षेत्रको नीतिगत विकासमा समेत दूरगामी योगदान पुर्याएका छन् । नेपालकै पहिलो म्युजिक भिडियो ‘मायालु तिमी टाढा’ को निर्देशन गरेर भिडियो प्रविधि भित्राउने श्रेय समेत उनलाई नै जान्छ । नेपाली गीत–संगीतको उत्थानमा पाँच दशक भन्दा लामो समय अनवरत र अविस्मरणीय साधनाको उच्च कदर गर्दै बहुआयामिक संगीतकर्मी शम्भुजित बास्काटालाई नगद राशि रु ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ ।
त्यस्तै समारोहमा लागि गीति लेखनमा सांगीतिक इतिहास बोक्नु भएको गीतकार उन्नती बोहरा ‘शीला’लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान अर्पण गरिने छ । फर्की आउ शान्ति तिमी जस्तो सदाबहार गीतको रचयिता छन् । आधुनिक सुगम संगीतमा उनका ‘मेरा आसक्ति’, ‘केही पलहरू’ र ‘सिल्की’ जस्ता चर्चित गीति एल्बमहरू उपलब्ध छन् भने उनले ‘राज’, ‘चिनो’ र ‘जंगबाज’जस्ता सुपरहिट चलचित्रका लागि समेत गीत लेखेका छन् । ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’की पूर्व प्राज्ञ परिषद् सदस्य रहेको उनी साहित्यिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।
यसैगरी समारोहमा साढे तीन दशक बढी समय नेपाली गीत संगीतमा खर्चिएका बरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान –२०८२’ सम्मान अर्पण गरिने भएको छ । २०४३ सालदेखि रेडियो नेपालबाट सांगीतिक यात्रा सुरु गरेका गीतकार शिवाकोटीले १ सय ५० भन्दा बढी उत्कृष्ट गीतहरू सुम्पिसकेका छन् । ‘मेरो गीत मन पराउँछ्यौ’ नेपाली सुगम सङ्गीतको सदावहार रचना हो । यस्तै, उनका ‘बिहानी शीत बनी’, ‘छैन जून’, ‘किन किन’ र ‘भिझाएर आँशु’जस्ता गीतहरूले पनि सांगीतिक क्षेत्रमा राम्रो छाप छाडेका छन् ।
त्यस्तै, शिव परियार र गायिका कालिका रोकालाई यस वर्षको ‘म्यूजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने भएको छ । गायक शिव परियार दुई दशक भन्दा लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनको स्वरमा नेपाली आधुनिक, गजल, पाश्र्व गायन (फिल्म) र लोक–पप विधाका थुप्रै गीतहरू रेकर्ड भएका छन् । हालसम्म १२ एल्बमहरू सार्वजनिक गरिसकेका गायक परियारका ‘पिउँदिन भन्दा भन्दै’, ‘आँशुको अर्थ के थाहा’, ‘ज्यानै दिन्छु भन्थे’ ‘दिल परानी’ जस्ता गीतहरू कालजयी छन् ।
यस्तै, ‘मैदान’, ‘कोही मेरो’, र ‘ब्याच नम्बर १६’ जस्ता दर्जनौँ नेपाली चलचित्रहरूका गीतमा उनको स्वर सुन्न सकिन्छ । त्यस्तै गायिका कालिका रोका नेपाली लोकदोहोरी क्षेत्रमा सांगीतिक इतिहास बोकेकी गायिका छन् । उनका निरमसी, मुग्लिन पुल तरी, देउरालीमा धजा, घडीको उल्टो घुमेर लगायत थुप्रै गीतहरु हिट छन् । लामो समयको योगदान र संघर्षले खारिएकी उनी विशेषतः लोकदोहोरी क्षेत्रमा मौलिक गायनमा अग्रपक्तिंमा पर्छिन् ।
यस्तै, सोही समारोहमा स्रष्टाद्वय सुशिला पौडेल र पुरुषोत्तम सानुलाई ‘म्युजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने भएको छ । सुशिला नेपाली सङ्गीत र साहित्य क्षेत्रमा प्रतिभाशाली गीतकार, गजलकार र उपन्यासकाका रुपमा स्थापित भैसकेका छन् । उनको पहिलो गीत २०५३ सालमा सर्लाहीकै स्थानीय पत्रिका ‘गोलसिमल’ मा प्रकाशित भएको थियो । त्यस्तै २०५५ सालमा राजेश सापकोटा र दुर्गा खरेलको स्वरमा स्टुडियो रेकर्डेड गीत सार्वजनिक भयो ।
हालसम्म उनको चार दर्जनभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । उनको शब्द सिर्जना र चर्चित सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको आधुनिक गीत ‘सम्हाल्दा सम्हाल्द’ स्रोतामाझ निकै लोकप्रिय छ । यसैगरी गीतकार पुरुषोत्तम सानुले गीति लेखनसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै नाम राखेका छन् । दर्जनौं गीत लेखिसकेका गीतकार सानुका सिर्जनाहरूमा देशप्रेम, मानवीय भावना र जीवनका भोगाइहरू सुन्दर ढङ्गले प्रस्तुत भएका हुन्छन् । उनको शब्द रचनामा तयार भएको र प्रसिद्ध गायक राजेश पायल राईको स्वर रहेको ‘फर्की आउने हो कि होइन’ बोलको गीत (चलचित्रः मिशन एभरेष्ट) संगीतप्रेमीहरू माझ निकै लोकप्रिय र मर्मस्पर्शी मानिन्छ ।
त्यस्तै पत्रकारद्वय कुबेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ अर्पण गर्न लागिएको छ । पत्रकार गिरीले आफ्नो अढाई दशक लामो करियरमा विभिन्न साप्ताहिक, मासिक पत्रिका, नेपाल समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार विधामा काम गरिसकेका छन् । हाल रातोपाटी डटकम मा वरिष्ठ रङ्ग पत्रकारको रूपमा आबद्ध छन् । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्ष (निवर्तमान उपाध्यक्ष) को रूपमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गरेका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनी नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्य पदमा नियुक्त भएका थिए ।
यसैगरी गोपिकृष्ण चापागाईं नेपाली रङ्ग पत्रकारिता क्षेत्रका एक चर्चित तथा सक्रिय युवा पत्रकार र सञ्चारकर्मी हुन् । नवलपरासीबाट पत्रकारिता सुरु गरेका उनले स्थानीय रेडियो तथा देवचुली टेलिभिजनमा समाचार वाचकको रूपमा काम गरे । पछि काठमाडौँ छिरेर उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक को मनोरञ्जन विभाग प्रमुख र हिमालय टेलिभिजनमा ‘सेलेब्स टक शो’ प्रस्तोताका रूपमा अनुभव बटुले । उनी सन् २०१५ देखि कला क्षेत्रमा केन्द्रित अनलाइन पोर्टल आर्टिष्ट खबर डटकम को प्रकाशक, सम्पादक तथा निर्देशकका रूपमा सक्रिय छन् । साथै, उनले नेपाली लोक तथा दोहोरी गायक–गायिकालाई स्थान दिन ‘एके लोक पोडकास्ट’ समेत सञ्चालन गर्छन् ।
विगत एक दशकभन्दा लामो समयदेखि कला, चलचित्र, गीत–सङ्गीत र संस्कृतिका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका उनी हाल चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको महासचिव र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा प्रचार प्रसार विभाग प्रमुख भएर कार्यभार सम्हालिरहेका छन् ।





























प्रतिक्रिया