सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरबाट चर्चित मार्भेल ब्रान्डको नाम र लोगो दुरुपयोग गरी बोरवेल पाइप बिक्री गरेको आरोपमा एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा थप नौ जनामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दिउँसो करिब १:३० बजे प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले सिरहा नगरपालिका–२० लकडीगोठ निवासी ४५ वर्षीय महम्मद साबिर खोनले सञ्चालन गरेको नेहाल आइरन स्टोरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ११४ एमएम, ११० एमएम र ९० एमएम साइजका गरी ६३२ थान बोरवेल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती पाइपमा मार्भेल कम्पनीको नाम र लोगो प्रयोग गरिएको थियो । कम्पनीका आधिकारिक प्रतिनिधिले प्रारम्भिक परीक्षणका क्रममा ती पाइप कम्पनीका आधिकारिक उत्पादन नभएको बताएका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा स्टोर सञ्चालक महम्मद साबिर खानले पनि मार्भेल कम्पनीको नाम र लोगो प्रयोग गरिएका पाइप बिक्री भएको स्वीकार गरेका छन् । त्यसपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनामा संलग्न रहेको आशंकामा थप नौ जनामाथि अनुसन्धान भइरहेको छ । उपभोक्तालाई ठगी गरेको तथा बौद्धिक सम्पत्ति अधिकार उल्लंघनसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए । साथै, उपभोक्तालाई सामान खरिद गर्दा ब्रान्ड, गुणस्तर र आधिकारिकता पुष्टि गरेर मात्र खरिद गर्न उनले आग्रह गरे ।
यता मार्भेल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेले नेहाल आइरन स्टोरले करिब तीन वर्षदेखि कम्पनीको नाम र ब्रान्डिङ दुरुपयोग गर्दै आफ्ना उत्पादनको नाममा पाइप बिक्री गर्दै आएको आरोप लगाए ।
उनका अनुसार बजार अनुगमनका क्रममा उक्त क्षेत्रमा उपभोक्ताले आफूहरूले मार्भेल ब्रान्डकै पाइप प्रयोग गरिरहेको बताएपछि कम्पनीले आफ्नो बिक्री अभिलेखसँग तुलना गरेको थियो । त्यस क्रममा उक्त क्षेत्रमा कम्पनीबाट कुनै आधिकारिक आपूर्ति नभएको देखिएपछि थप अनुसन्धान गरिएको र कम्पनीकै नाम तथा लोगो प्रयोग गरिएका पाइप बिक्री भइरहेको फेला परेको उनको दाबी छ ।
न्यौपानेका अनुसार यसअघि पनि सम्बन्धित व्यवसायीलाई यस्तो गतिविधि नगर्न मौखिक रूपमा सचेत गराइएको थियो । तर पुन: उही कार्य दोहोरिएको पाइएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । नक्कली ब्रान्डिङ प्रयोग गरिएका उत्पादनको कारोबारले कम्पनीको प्रतिष्ठा, उपभोक्ताको विश्वास तथा सुरक्षामा समेत असर पुग्ने उनको भनाइ छ ।
उता नेहाल आइरन स्टोरले भने उक्त पाइप जानकी प्लास्टिक कम्पनी, जनकपुरबाट खरिद गरेको दाबी गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।






























प्रतिक्रिया