काठमाडाैं । फिफा विश्वकपको अन्तिम ३२ को रोमाञ्चक खेलमा सोमबार राति ब्राजिलले जापानको सामना गर्दैछ। यस महत्त्वपूर्ण भिडन्तअघि फुटबल समर्थकहरूमाझ एउटै प्रश्न उठिरहेको छ— के स्टार विङ्गर राफिन्हा खेलका लागि फिट छन् ?
स्राेतका अनुसार तिघ्राको चोटका कारण राफिन्हा जापानविरुद्धको खेलमा सुरुवाती-११ मा देखिने सम्भावना निकै कम छ। हाइटीविरुद्धको खेलमा घाइते भएका उनी त्यसपछि स्कटल्याण्डविरुद्धको खेलमा पनि मैदान बाहिरै थिए र अहिलेसम्म टिमको बन्द प्रशिक्षणमा फर्किएका छैनन्। प्रशिक्षक कार्लो एन्सेलोटीले नकआउट चरणको खेलमै उनलाई मैदान उतारेर चोट थप बल्झिने र बाँकी प्रतियोगिता नै गुमाउनुपर्ने जोखिम मोल्न चाहँदैनन्। त्यसैले राफिन्हालाई बेन्चमै सुरक्षित राखिने सम्भावना बलियो छ।
तर, टोलीका लागि सकारात्मक कुरा के छ भने स्टार खेलाडी नेयमार पूर्ण रूपमा फिट भई टोलीमा फर्किएका छन्। अघिल्लो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नेयमारलाई यस खेलमा पनि प्रशिक्षक एन्सेलोटीले दोस्रो हाफमा ‘सुपर-सब’ को रूपमा प्रयोग गर्ने रणनीति बनाएका छन्।
राफिन्हाको अनुपस्थितिमा १९ वर्षीय युवा स्टार रायानले राइट विङ्ग सम्हाल्ने पक्का जस्तै छ । समूह चरणमा आफ्नो गति र उत्कृष्ट ड्रिब्लिङले प्रभाव पारेका रायानका लागि यो खेल आफ्नो क्षमता प्रमाणित गर्ने ठूलो अवसर हुनेछ। प्रशिक्षक एन्सेलोटीले ४–३–३ को आक्रामक रणनीतिसहित बलियो टोली मैदान उतार्ने तयारी गरेका छन्।
सम्भावित प्लेइङ–११
गोलकिपर: अलिस्सन ब्याकर
डिफेन्डर: डानिलो (राइट ब्याक), मार्किन्होस (सेन्टर ब्याक), ग्याब्रिएल मागाल्हास (सेन्टर ब्याक), डगलस सान्तोस (लेफ्ट ब्याक)
मिडफिल्डर: ब्रुनो गुइमारेस, कासिमिरो, लुकास पाक्वेटा
फरवार्ड: रायान, म्याथ्युज कुन्हा, भिनिसियस जुनियर
ब्राजिलका लागि मिडफिल्डमा कासिमिरो, गुइमारेस र पाक्वेटाको त्रिकोणात्मक तालमेल सबैभन्दा बलियो पक्ष मानिएको छ । आक्रमणमा हाल उत्कृष्ट लयमा रहेका भिनिसियस जुनियरले बायाँ भागबाट जापानी डिफेन्सलाई दबाबमा राख्नेछन् भने म्याथ्युज कुन्हाले मुख्य स्ट्राइकरको भूमिका निभाउनेछन्। तर, ब्राजिलका लागि कासिमिरो र डानिलो दुवै यसअघि नै पहेँलो कार्डको दबाबमा रहेकाले यस खेलमा कार्ड पाए उनीहरूले अर्को खेल गुमाउने जोखिम छ।































प्रतिक्रिया